२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कोरोना भाइरस प्रकोप : मृतकको संख्या ३६२ पुग्यो, चीनमा मात्रै १७ हजार संक्रमित

एजेन्सी

बेइजिङ — वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश हुबेई प्रान्तका छन् ।

कोरोना भाइरस प्रकोप : मृतकको संख्या ३६२ पुग्यो, चीनमा मात्रै १७ हजार संक्रमित

एक जनाको मृत्यु फिलिपिन्समा भएको हो । मृत्यु हुने व्यक्ति भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहानबाट फर्किएका चिनियाँ नागरिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


४४ वर्षीय ती व्यक्ति फिलिपिन्स पुग्नुअघि नै संक्रमित थिए । उनी हङकङ हुँदै एक ३८ वर्षीया महिलासँगै फिलिपिन्स आएका थिए । महिलामा पनि संक्रमणको पुष्टि भएको फिलिपिनी स्वास्थ्य विभागले जनाएको छ । संक्रमित ती पुरुषलाई मनिलास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई गम्भीर खालको ‘निमोनिया’ भएको थियो । कोरोना भाइरसका कारण चीनबाहिर पहिलो पटक एकजनाको ज्यान गएको पुष्टि गर्दै फिलिपिन्सस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रवीन्द्र अभयसिंघेले नआत्तिन फिलिपिनी जनतालाई आग्रह गरेका छन् । उनले मृतक महामारीको केन्द्रबाट फिलिपिन्स आएको र स्थानीय रूपमा संक्रमित नभएकोले डर मान्न नपर्ने बताएका हुन् । शवलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम व्यवस्थापन गर्न चिनियाँ दूतावाससँग छलफल भइरहेको फिलिपिनी स्वास्थ्य अधिकारीले बताएका छन् ।

त्यस्तै संक्रमितको संख्या चीनमा मात्रै १७ हजार २ सय ५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । चीनको वुहानबाट सुरु भएको कोराेना भाइरस अहिले विश्‍वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ । विश्‍वका विभिन्‍न २७ वटा मुलुकमा १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।


भाइरस नियन्त्रणका लागि चीनले विभिन्न कदम अघि सारेको छ । जसमध्ये १० दिनभित्रै उसले बनाएको नयाँ अस्पताल सोमबारबाट सञ्चालनमा आउने छ । वुहानमा बनेको सय शय्याको हुओसेन्सान अस्पतालमा सुरक्षा फौजका १ हजार ४ सय मेडिकल स्टाफलाई खटाउन राष्ट्रपति सी चिनफिङले स्वीकृति दिएलगत्तै उनीहरु वुहान पुगिसकेका छन् ।


संक्रमण रोक्न हुबेई प्रान्तमा अन्य सहरबाट राष्ट्रिय मेडिकल कर्मचारी र सामग्री पठाइएको छ, नयाँ अस्पताल बनाइएका छन् । विद्यालय क्षेत्र खुल्ने दिन हाललाई स्थगन गरिएको छ भने यात्रा प्रतिबन्धलाई जारी नै राखिएको छ । बिदा पनि तीन दिन लम्ब्याइएको छ । सोमबारबाट चीनको व्यापारिक क्षेत्र भने खुल्दै छन् । भाइरस संक्रमणका कारण खस्केको बजारलाई उकास्न केन्द्रीय बैंकले १ सय ७३ विलियन डलर उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।

संक्रमणका कारण केही देशले चीन हुँदै आफ्ना देशमा हुने यात्रालाई प्रतिबन्ध लगाएका छन् । विभिन्न वायुसेवा कम्पनीले उडान स्थगन गरेका छन् । केही देशले आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । चीन आफैं पनि बन्द अवस्थामा छ । यसले विश्वको ठूलो अर्थतन्त्रमा ठूलो असर परेको छ । यही कारणले केन्द्रीय बैंकले बजारलाई सहयोग गर्ने भएको हो ।

कोरोना भाइरसको प्रकोपसँग लड्न चिनियाँ अधिकारीले आइतबार हुबेई प्रान्त र त्यसको राजधानी वुहानमा मेडिकल आपूर्तिमा जोड दिएका छन् । प्रधानमन्त्री ली खछ्याङ आफैंले नेतृत्व गरेर वुहानलगायत प्रकोप फैलिएको क्षेत्रको निगरानी एवं अनुगमन गरिरहेका छन् ।


यसैबीच, वुहानपछि सबैभन्दा धेरै संक्रमित पाइएको छिमेकी हुवाङगाङमा आफ्नो ड्युटी राम्ररी नगरेको भन्दै ३ सय ३७ अधिकारीलाई कारबाही गरिएको छ । तीमध्ये ६ जनालाई जागिरबाटै निकालिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । त्यसैगरी सांघाईले ग्रामीण क्षेत्रमा पर्ने ६ हजारभन्दा बढी समुदायमा स्वास्थ्य अधिकारी पठाएको छ । मास्कको खपत बढी भएपछि बजारमा देखिएको अभाव हटाउन उत्पादन कम्पनीको क्षमतामा वृद्धि गर्न लागिएको चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले उल्लेख गरेको छ । उसले अन्य देशबाट पनि मास्क मगाइएको जनाएको छ । युरोपेली संघलाई सदस्य राष्ट्रबाट मेडिकल सामग्री पठाउन सहयोग गरिदिन आग्रह पनि गरिएको छ ।


भाइरस संक्रमितको संख्या बढी रहेको हुबेई प्रान्तका केही सहरलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासलाई उसले जारी राखेको छ । जसका कारण करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ । भाइरसको प्रकोपसँग लड्न संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत राष्ट्रले भर्खरै चीन भ्रमणका गएका सबै विदेशीलाई प्रतिबन्ध गरेका छन् । चीनबाट फर्किएका आफ्ना नागरिक र उनीहरूका आफन्तलाई भने रोक लगाइएको छैन । यद्यपि अलग्गै राखेर निगरानी गर्ने व्यवस्था भने गरिएको छ । न्यूजिल्यान्ड, रुस, जापान, इटाली, इन्डोनेसिया, दक्षिण कोरिया र सिंगापुरले पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, भारतले वुहानबाट तीन सय जना नागरिकलाई फिर्ता लगेको छ । करिब सय जना जर्मन नागरिक पनि स्वदेश फर्किएका छन् । थाइल्यान्ड र रुसले पनि वुहान र हुबेई प्रान्तबाट आफ्ना नागरिक फिर्ता लाने तयारी गरिरहेका छन् । बेलायतले पनि आफ्ना नागरिक फिर्ता लगेको छ ।

सन् २००३ मा फैलिएको ‘सार्स’ महामारी जस्तै कोरोना भाइरस पनि विश्वका दुई दर्जन देशमा पुगिसकेको छ । यद्यपि नयाँ भाइरसबाट मृत्यु हुनेको दर भने ‘सार्स’ को भन्दा कम रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।


हुनानमा बर्ड फ्लु

चीनको हुनान प्रान्तस्थित सुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा ‘बर्ड फ्लु’ देखिएको छ । उक्त क्षेत्र कोरोना भाइरस संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा पर्ने चिनियाँ अधिकारीले बताएका छन् ।


‘सुआङकिङको साओयाङ सहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको संक्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८ सय ५० चल्लासहित चार हजार पाँच सय कुखुरा मरेका छन् भने संक्रमणपछि १७ हजार ८ सय २८ कुखुरा नष्ट गरिएको छ,’ चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लागिपरेको चीनलाई यसले थप समस्यामा पारेको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

प्रकाशित : माघ २०, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?