१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

सिन्धुपाल्चोकको गुम्बागाउँमा १०० भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका

रोग पहिचान र उपचारका लागि चिकित्सक खटाइदिन सरकारसँग जुगल गाउँपालिकाको आग्रह
जयसिंह महरा

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

सिन्धुपाल्चोकको गुम्बागाउँमा १०० भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए । फोनमा ईकान्तिपुरसँग कुरा गर्दै उनले भने, '२३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी देखिएको थियो । उक्त संख्या मंगलबार बढेर सय नाघ्यो । अवस्था पनि गम्भीर बन्यो त्यसैले हामीले पत्र लेखेका हौं ।'

एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताए । 'हामीसँग भएको जनशक्ति, औषधि पठाएका छौँ । यहाँ मेडिकल सानासाना छन्, मेडिकलबाट केही जनशक्ति पठाएका छौं,' उनले थपे, 'हामीले बिहानदेखि परीक्षणका लागि आग्रह गरेका हौं र थप बल पुगोस् भनेर पत्र पठाएका छौं । हाम्रो टोली उक्त ठाउँमा गएको छ । गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन । हेल्थपोस्टहरूबाट मास्क लगेर वितरण गरेका छौं ।'

बिरामीको अवस्थाबारे श्रेष्ठले भने, 'एम्बुलेन्स लिएर गएका थियौं । केहीको अवस्था त्यसमा बस्न सक्ने पनि छैन । (कोरोनाको संक्रमण) हो कि होइन भनेर पनि चाँडै चेक त गर्नुपर्‍यो ।'

संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए । उनले भने, 'केन्द्रमा पनि सम्पर्क गरेका छौं। चीनबाट मान्छे आउने जाने नभएको भएपछि चेक गरिहाल्नु पर्दैन भन्नुभयो । भाइरल सबैतिर छ आत्तिइहाल्नु पर्दैन भन्ने कुरा छ उहाँहरूको ।'

बुधबार बिहान एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको उनले जानकारी दिए ।

प्रकाशित : माघ २९, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?