नोवल कोरोना भाइरस : चीनमा एकैदिन १०८ जनाको मृत्यु

माघ २८, २०७६

एजेन्सी

बेइजिङ — नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।

चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो । आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो । सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए ।कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन् । यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो ।

आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।

नयाँ वर्षको बिदा सकियो

थपिएको बिदा सकिएसँगै सोमबारबाट चिनियाँ नागरिक काममा फर्किएका छन् । नोवल कोराना भाइरस संक्रमणबाट बच्न भन्दै सरकारले लुनार नयाँ वर्षको बिदा थपेको थियो । सरकारले लगाएको प्रतिबन्ध खुकुलो गरेसँगै सर्वसाधारण सामान्य जीवनमा फर्किएका हुन् । नयाँ वर्षको बिदामा १० दिन थप गरिएको थियो । बिदा जनवरीको अन्त्यमा सकिनुपर्थ्यो । सोमबारबाट कार्यालय खुले पनि अझै अधिकांश बन्दै रहेको र धेरैले घरबाटै काम गरिरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । काममा हिँडेका पनि अनुहारमा मास्क लगाएका देखिन्थे ।

कहाँ कति संक्रमित ?

चीन १०१६ मृत्यु, ४२,६३८ संक्रमित

हङकङ १ मृत्यु, ४२ संक्रमित

फिलिपिन्स १ मृत्यु, ३ संक्रमित

संक्रमित मात्रै

जापान १६१

सिंगापुर ४५

थाइल्याण्ड ३२

दक्षिण कोरिया २८

ताइवान १८

अस्ट्रेलिया १५

मलेसिया १८

जर्मनी १४

भियतनाम १४

अमेरिका १३

मकाओ १०

क्यानडा

फ्रान्स ११

यूएई

इटाली

भारत

बेलायत

रुस

श्रीलंका

कम्बोडिया

फिनल्याण्ड

नेपाल

स्विडेन

स्पेन

बेल्जियम

एजेन्सी

Link copied successfully