टोकियो — जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार योकोहामा बन्दरगाहमा रोकिएको डायमन्ड प्रिन्सेस क्रुजका थप ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानी सञ्चारमाध्यमका एनएचकेका अनुसार सोमबारसम्म जहाजमा कोरोना संक्रमित हुनेको संख्या १३० पुगेको छ ।
हङकङका संक्रमित एक यात्रुबाट डायमन्ड प्रिन्सेस क्रुजमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो । जापानको समुद्री किनारमा आइपुग्दा झन्डै ३ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । क्रुजमा ३ हजार ७ सय ११ जना यात्रु रहेका थिए । सुरुमा १० जना यात्रुमा मात्रै कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।
कोरोना संक्रमण फैलिएको क्रुजका यात्रु भन्छन् - ‘क्याप्टेन, एउटा केरा र ह्विस्की पाइन्छ ?’
विश्व स्वास्थ्य संगठनका अनुसार क्रुजलाई फेब्रुअरी १९ सम्म क्वारेन्टाइनमा राखिने भएको छ । क्रुजभित्रै रहेका यात्रुहरुले पनि आफूहरुको अवस्थाका बारेमा सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण सोमबार बिहानसम्म ९१० जनाको मृत्यु भइसकेको छ । चीनमा ९०८ र हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको हो । सोमबार बिहानसम्म चीनसहित विश्वका विभिन्न देशमा गरी ४० हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
