१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नोवल कोरोना संक्रमणले सार्सलाई उछिन्यो

९१० को मृत्यु, ४० हजारभन्दा बढी संक्रमित
एजेन्सी

बेइजिङ — नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ९१० पुगेको छ । यो संख्या सन् २००२–२००३ मा फैलिएको ‘सार्स’ बाट मृत्यु हुनेको भन्दा धेरै हो ।

नोवल कोरोना संक्रमणले सार्सलाई उछिन्यो

कोरोनाकै कारण आइतबारसम्ममा ४० हजारभन्दा बढी संक्रमित पाइएका छन् । अधिकांश संक्रमित चीनकै छन् । चीनमा मात्रै ४१ हजार १ सय ७१ जना संक्रमित छन् । चीनबाहिर ३८३ जनामा भाइरस संक्रमण पाइएको छ । चीनबाटै फैलिएको सार्स महामारीका कारण ७७४ जनाको मृत्यु भएको थियो भने आठ हजार ९८ मा संक्रमण पुष्टि भएका थियो ।


गत डिसेम्बरमा भाइरस संक्रमण देखिएयता पहिलोपटक शनिबार मृत्यु दरमा कमी आएको चिनियाँ अधिकारीले बताएका छन् । यो सकारात्मक संकेत भएको उनीहरूको भनाइ छ । अन्य देशमा पनि संक्रमणको दरमा कमी आएको छ । त्यस्तै चिनियाँ अधिकारीले कोरोना संक्रमितमध्ये निको हुनेको संख्या पनि बढिरहेको बताएका छन् । आइतबार साँझसम्म ३ हजार ३ सय ४२ जना कोरोना संक्रमित निको भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।


पछिल्लो २४ घण्टामा मात्र ३ हजार ६२ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये अधिकांश हुवेई प्रान्तकै हुन् । शनिबारभन्दा आइतबार संक्रमितको संख्या भने बढेको हो ।

चीनबाहिर नयाँ संक्रमित

जापान, दक्षिण कोरिया, भियतनाम, मलेसिया, स्पेनमा कोरोना भाइरसका नयाँ संक्रमित पाइएका छन् ।

डाइमन्ड प्रिन्सेस क्रुज सिपमा रहेका ‘क्रु सदस्य’ सहित ३ हजार ७ सय यात्रुलाई क्वारेन्टाइनमा राखिएपछि जापानमा ६ जनामा कोरोना संक्रमण पाइएको छ ।


दक्षिण कोरियामा एक ७३ वर्षीया महिलामा भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ पुगेको छ । भियतनामले देशमा १४ औं संक्रमित पाइएको जनाएको छ । राजधानी हनोईबाट उत्तरपश्चिममा पर्ने भिन्ह फुक प्रान्तकी एक ५५ वर्षीया महिला कोरोना भाइरसबाट संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या १४ पुगेको हो । मलेसियाले पनि १७ औं व्यक्तिमा संक्रमण पाइएको जनाएको छ । स्पेनले कोरोना भाइरसको दोस्रो संक्रमितको पुष्टि गरेको छ ।


क्रुज सिप छोडियो

हङकङले क्रु सदस्यसहित १ हजार ८ सय बढी यात्रु बोकेको ड्रिम वर्ल्ड क्रुज सिपलाई क्वारेन्टाइनबाट रिहा गरेको छ । जहाजमा रहेका कसैमा पनि भाइरस संक्रमण नपाइएपछि छोडिएको अधिकारीले बताएका छन् । गत महिना मुख्यभूमि चीनका आठ यात्रुमा संक्रमण पाइएपछि उक्त जहाजलाई अलग्गै राखिएको थियो ।


नयाँ अस्पताल सञ्चालनमा

मात्र दुई सातामा निर्माण सम्पन्न भएको वुहानस्थित १ हजार ५ सय शय्याको अस्पताल शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । हजार शय्याको अस्पताल गत साता नै सञ्चालन गरिएको थियो । हुबेईका ग्रामीण क्षेत्रमा समेत सरकारले स्वास्थ्य सेवा पुर्‍याएको छ ।

यसैगरी, हुबेई प्रान्तका किसान, खाद्य उत्पादक र सुपरमार्केटलाई सरकारले राहत उपलब्ध गराउने भएको छ । भाइरसविरुद्धको अभियानमा सहयोग गरेका कम्पनीलाई सरकारले कर छुट दिन लागेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । मेडिकल उपकरण बनाउने कम्पनीका कामदारलाई ओभरटाइम दिने तयारी पनि सरकारले गरिरहेको अधिकारीले बताएका छन् ।

प्रकाशित : माघ २७, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?