काठमाडौँ — चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा रहेका १ सय ८० नेपाली विद्यार्थीलगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान सरकारको आदेश कुरेर बसेको एक साता बित्दै छ ।
मंगलबार साँझसम्म पनि सरकारको कुनै आदेश नआएपछि निगमका पदाधिकारीहरु घर फर्किए । ‘हाम्रो तयारी सकिसकेको छ,’ निगमको अपरेसन विभागका निर्देशक क्याप्टेन दिपुराज जुहार्चनले कान्तिपुरसँग भने, ‘सरकारको आदेश कुरेर बसेका छौं । एक सातायता हरेक दिन बैठक भइरहेका छन् । तर आदेश आइसकेको छैन ।’
निगमले चीनको हुबेईमा जाने चालकदलसहितको टिम बनाइसकेको छ । निगमबाट १४ जना उक्त उडानमा सहभागी हुने छन् । जसमा तीनजना पाइलट, ७ जना चालकदल, २ जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोडमास्टर छन् । बुधबार उनीहरुलाई स्वास्थ्य सम्बन्धि तालिम दिने कार्यक्रम राखिएको छ ।
उक्त उडानमा सरकारले ४ जना स्वास्थ्यकर्मी खटाउने भनेको छ । निगमले आफ्नो आन्तरिक तयारी सबै सकिसकेको जनाउँदै सरकारको आदेश कम्तीमा २ दिनअघि आउनुपर्ने भनेको छ ।
काठमाडौंबाट उड्ने जहाज भारत, बंगलादेश र म्यानमार हुँदै चीन जाने भएकाले उडान रुट र चीनभित्रको अनुमतिका लागि दुई दिन चाहिने भनेको छ । निगमले उडान नम्बर पनि निकालिसकेको छ । प्राविधिक रुपमा निगमका इन्जिनियरले यस रुटमा वाइडबडीको उड्दा आवश्यक पर्ने हवाई इन्धन, रुट, भारलगायतका पक्षको विश्लेषण गरी तयारी सकिसकेका छन् ।
चीनमा रहेका १ सय ८० जनाले नेपाल आउन इच्छा देखाउँदै फारम भरेका छन् । निगमले तीनलाई मात्रै ल्याउने छ । यो चार्टर उडानको खर्च नेपाल सरकारले ब्यहोर्ने भनेको छ । जाँदा खाली जाने भएकाले वाइडबडी विमानमा नेपालबाटै भरेको इन्धनले पुग्ने भएकाले चीनमा इन्धन भने हाल्नुपर्ने छैन । अपरेसन विभागले यो रुटमा जाँदा साढे ४ घन्टा र फर्किदा ५ घन्टा समय लाग्ने जनाएको छ। नेपाली यात्रुलाई जहाजमा राखिसकेपछि चालक दल र क्याबिन क्रूले उनीहरुसँग नजिकै पुगेर सर्म्पक गर्ने छैनन् ।
‘सबै यात्रु इकोनमी क्लासको सिटमा बस्ने छन् । बिजनेस श्रेणीमै बसिरहने क्याबिनक्रूले उनीहरुलाई सामान्य कमर्सियल उडानमा जस्तो सिटमै खाना, पानी वितरण गर्ने छैनन् । उनीहरुको खाना र पानी सिटमै राखिएको हुनेछ,’ क्याप्टेन जुहार्चनले भने, ‘अरु जानकारी माइकबाट दिइने छ । तर मास्क लगाएका स्वास्थ्यकर्मीहरुले भने उनीहरुलाई निगरानी गरिरहने छन् ।’
यो उडान भएमा निगमले उक्त वाइडबडी जहाजलाई कम्तीमा ४८ घन्टा उडाउने छैन । विश्व स्वास्थ्य संगठनको नियमअनुसार, रोगका जिवाणु हुन सक्ने भएकाले तीनलाई निस्तेज गर्न जहाज कम्तिमा पनि ४८ घन्टा व्यवसायिक उडानमा जाने छैन । त्यस्तै निगमले चीन जाने चालक दलसहितको टोलीलाई एक सातासम्म बिदा दिने जनाएको छ । त्यो एक साता उनीहरु चिकित्सकको निगरानीमा घरमै रहने भनिएको छ ।
