भयावह बन्दै कोरोना भाइरस : चीनमा ४२ को मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भयावह बन्दै कोरोना भाइरस : चीनमा ४२ को मृत्यु

एजेन्सी

बेइजिङ — चीनमा कोरोना भाइरसको प्रकोपले भयावह रुप लिइरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसबाट ४२ जनाको मृत्यु भएको र यसको संक्रमण एक हजार २ सय ८७ जनामा देखिएको जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ। कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ।

शुक्रबार जापान र दक्षिण कोरियाले अहिलेसम्म दुई–दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन्। त्यस्तै अमेरिकाको सियाटलमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि ४३ जनालाई निगरानीमा राखिएको छ।

सियाटलका ३० वर्षीय अमेरिकी नागरिक केही दिनअघि मात्रै वुहानबाट फर्किएका थिए। आइसोलेसन वार्डमा राखेर उनको उपचार भइरहेकाे छ। रोबोटसहितको मेडिकल टिम उनको उपचारमा खटिएको सीएनएनले जनाएको छ।

के हो नोवल कोरोना, कसरी बच्‍ने ?

चीनले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भन्दै बिहीबार तीन सहरमा आवतजावत बन्द गर्ने घोषणा गरेको थियो। वुहानसहित हुआङगाङ र इझौ सहरमा आवतजावत रोक्ने चीन सरकारले निर्णय गरेको छ। त्यस्तै चीन सरकारले नयाँ वर्षमा पनि ठूला कार्यक्रम नर्गन आदेश दिएको छ।

नेपालमा पनि काेराेना भित्रिएको पुष्टि

‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन ।

रोग नियन्त्रणका लागि १६ अर्ब

चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी(झण्डै १६ अर्ब नेपाली रुपैयाँ) छुट्याएको छ। बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो।

के हो कोरोना भाइरस?

प्रकाशित : माघ ११, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

भूकम्पको पीडामा भगवान् पनि !

बहुमूल्य मूर्ति तथा अन्य सामग्री राष्ट्रिय संग्रहालयमा राखिएको पुरातत्त्व विभागले बताए पनि भग्न मन्दिरको दृश्यले यो दाबीलाई पत्याउने आधार दिँदैन
सीमा तामाङ

(ललितपुर) — ढुंगा खोपेको छेपु अर्थात् गरुडको मूर्ति झारले पुरिएको छ । ढुंगामै कुँदिएका अरू मूर्तिको छेउटुप्पो छुट्टिएका छन् । काठका मूर्ति पनि उसरी नै अलपत्र देखिन्छन् । मूल मन्दिरको जगलाई संरक्षण गर्नुका साटो निर्माण सामग्री थुपारेर अस्तव्यस्त बनाइएको छ । 

भूकम्पको साढे चार वर्ष बित्दासमेत धेरैमा यसको त्रास मेटिइसकेको छैन । कतिपय भूकम्पपीडित अझै टहरोमै दैनिकी गुजारिरहेका छन् । ललितपुरस्थित शंखमूलको जगतनारायण मन्दिरको यो कहालीलाग्दो अवस्था देख्दा लाग्छ, मानिसमात्र होइन भगवान् पनि भूकम्पबाट पीडित छन् । स्थानीयका अनुसार मन्दिर ध्वस्त भए पनि मूर्ति रहेको ठाउँलाई बाहिर देखाउन मिल्दैन । तर पुनर्निर्माणले गति नलिँदा भगवान्का मूर्ति अस्तव्यस्त छन् । इँटा र काठमा कुँदिएका मूर्तिको स्वरूप बिग्रँदै गएको छ । मन्दिरमा प्रयोग गरिएका प्राचीन काठ, इँटा, ढुंगा फुटेर असरल्ल छन् । काठमा कुँदिएका कला पनि पानीमा भिजेर नचिनिने अवस्थामा छन् । निर्माण सम्पन्न नभएको सत्तलको पनि ढाकछोप गरिएको छैन ।

मन्दिरको पूर्व, पश्चिम र दक्षिणतर्फ तीन वटा सत्तल छन् । उत्तरतर्फ मन्दिरको ढोका छ । मन्दिमा गणेश, कुमार, रातो हनुमानको ढुंगाको मूर्ति छन् । भूकम्पबाट यी मूर्ति भने जोगिएका छन् । मन्दिरको ढोकामा रहेका दुईमध्ये एउटा भने अलपत्र छ । मन्दिर छेउमा राखिएको बहुमूल्य तथा प्राचीन घण्टीको आधा भाग माटोमा पुरिएको देख्दा मन कुँडिन्छ । ढुंगाको कलात्मक थामको पनि अवस्था उस्तै छ । मन्दिरको उत्तरतर्फ अग्लो गरुडको स्तम्भ छ । त्यसको मुनि निर्माण सामग्री थुपारिएका छन् ।

भूकम्पले ध्वस्त बनाएको ललितपुरस्थित शंखमूलको जगतनारायण मन्दिरमा अलपत्र घन्टा । तस्बिर : बिजु महर्जन/कान्तिपुर
मन्दिरको बहुमूल्य मूर्ति तथा अन्य सामग्री छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुँवरले दाबी गरे पनि यहाँको दृश्यले उनको दाबीलाई पत्याउने आधार दिँदैन । ‘उठाउन सकिने र बहुमूल्य मूर्ति संग्रहालयमा छन्,’ उनले भने, ‘तर एक ठाउँदेखि अर्को ठाउँमा सार्न नसकिने वस्तु परिसरमै छन् ।’ पुनर्निर्माण सकिएपछि बिस्तारै त्यसको व्यवस्थापन हुने उनले बताए ।

मन्दिरको पुनर्निर्माण गर्न आवश्यकताअनुसार सार्वजनिक जग्गा नभएकाले निर्माण सामग्री जथाभावी राखिएको डकर्मी राजन सुवालले बताए । मन्दिरमा १४ जना कामदार कार्यरत छन् । दुई जनाले काष्ठकलाको र १२ जनाले सत्तलको जग खन्ने, गारो लगाउने काम गरिरहेका छन् । अहिले पश्चिमतर्फको सत्तल भत्काई जग खन्ने काम भइरहेको उनले बताए ।

मुख्य मन्दिर निर्माणको गर्न तीन वटा पेटी बनाइसकेको छ । तर, त्यहाँ पनि झार उम्रिएको छ । पूर्वतर्फ रहेको सेतो हनुमान पनि झारले घेरिएको छ । पश्चिमतर्फको सत्तल भत्काई जग खन्ने काम भइरहेको कम्पनीका सुपरभाइजर सुरज महर्जनले बताए । दक्षिणतर्फको सत्तल पूर्णरूपमा निर्माण भएको छैन । दुईतले सत्तलको छाना छाउन बाँकी छ ।

भूकम्पले ध्वस्त बनाएको ललितपुरस्थित शंखमूलको जगतनारायण मन्दिरमा अलपत्र मूर्ति । तस्बिर : बिजु महर्जन/कान्तिपुर
पूर्वतर्फको सत्तलको एक तला निर्माण गरिए पनि दोस्रो तलाको काम बाँकी छ । महर्जनका अनुसार पहिलो ठेकेदार (रविनकुमार जोशी) ले कामदार र निर्माण सामग्री समयमा ल्याउन नसक्दा कामले गति लिन सकेको थिएन । तीन वर्षदेखि सुपरभाइजरमा काम गरिरहेका महर्जनले भने, ‘ठेकेदार बीचबीचमा गायब हुन्थ्यो । कहिले तीन, कहिले सात महिनासम्म सम्पर्कविहीन हुन्थ्यो । त्यसबेला कामसँगै मजदुरले पनि पैसा नपाएको गुनासो आउँथ्यो ।’ त्यसकारण पुरातत्त्व विभागले नै अहिले नयाँ ठेकेदारलाई कामको जिम्मा दिएको छ । ‘नयाँ ठेकेदारले काम सुरु गरेको दुई महिना भए पनि सम्झौताअनुसार तीन महिना पुगेको छ,’ उनले भने, ‘म्याद सकिएकाले थप गर्ने प्रक्रियामा छ ।’

विभागले ९ करोड २० लाख रुपैयाँमा राजेन्द्र/रफिना/राम जेभीलाई निर्माणको जिम्मा दिएको थियो । ०७३ पुसदेखि ०७६ असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी सम्झौता भए पनि मन्दिरको ३० प्रतिशत काम सम्पन्न भएको विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले बताए । ‘निर्माण सामग्रीको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण ढिलाइ भएको हो,’ उनले भने, ‘अहिले निर्माणले गति लिएको छ । दाँची अप्पा (पुराना खालका इँटा) अभाव हुँदा अन्य काम गरिरहेका छौं ।’ मौलिक शैलीमा मन्दिर निर्माण गर्नुपर्ने भएकाले कहिलेकाहीँ निर्माण सामग्रीको अभावले पनि काम रोकिने गरेको उनले बताए । ‘कम्पनीले एक वर्षअघि एक करोड ३५ लाख ६७ हजार रुपैयाँ भुक्तानी लिएको थियो,’ उनले भने, ‘त्यसपछि थोरै रुपैयाँको मात्र काम भएकाले भुक्तान गरिएको छैन ।’

जगद्गुरु आश्रमका गुरु दीपक पोखरेलले ठेकेदारको ढिलासुस्ती र सम्बन्धित निकायको चासो नपुग्दा निर्माण सुस्त भएको बताए । उनका अनुसार शंखमूल, वागमती, रुद्रमती र मणिमतीको संगमस्थल भएकाले शंखमूललाई पवित्र धाम मानिन्छ । ‘हाल निर्माण भएको पार्कमा परापूर्वकालमा रावणले पानीमुनि १० वर्ष तपस्या गरेका थिए  । तपस्यापछि प्रसन्न भएर शिवजीले ती रावणको नाम शंखासुर राखिदिएका थिए ,’ उनले भने, ‘शंखासुरले तपस्या गरेको ठाउँबाट पानीको मूल उठेपछि यस ठाउँलाई शंखमूल नामकरण गरियो,’ पोखरेलले भने ।

उक्त मन्दिरलाई जंगबहादुर राणाका भाइ जगतशमशेर राणाले एक सय ७० वर्ष पहिले निर्माण गरेको जनश्रुति छ । शंखमूलधाममा रहेको जगतनारायण मन्दिर परिसर प्रथम जगद्गुरुको सम्मानमा सरकारले ०६८ सालमा जगद्गुरु निवासको रूपमा प्रदान गरेको हो । पाँच रोपनी जग्गामा मन्दिर निर्माण भइरहेको छ ।

प्रकाशित : माघ ११, २०७६ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×