कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा पनि नोवल कोरोना संक्रमित

चीनबाट फर्किएका नेपाली विद्यार्थीमा भाइरस संक्रमण
अतुल मिश्र

काठमाडौँ — ‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन । 

नेपालमा पनि नोवल कोरोना संक्रमित

ती विद्यार्थीलाई ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य मन्त्रालयको आपत्कालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले ती व्यक्तिमा हाल भाइरसका लक्षण नरहेको बताए । ‘ती विद्यार्थी हाल स्वास्थ्य निकायहरूको प्रत्यक्ष निगरानीमा छन्,’ उनले भने । संक्रमण देखिएपछि सरकारले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार २४ घण्टाभित्रै डब्लूएचओलाई समेत जानकारी दिने भएको छ ।


हङकङबाट आएका अर्का एक व्यक्तिमा समेत नोवल कोरोना संक्रमण भएको आशंका गरिएको छ । विशेष निगरानीमा शुक्रबारदेखि टेकु अस्पतालमा राखिएका उनको र्‍याल र रगतको नमुना परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ । भाइरसको संक्रमण देखिएपछि सघन निगरानीका साथै विस्तृत अध्ययन गरिरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले संक्रमित व्यक्तिको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, परिवारका सदस्य र अन्य व्यक्तिको खोजी गरी परीक्षण गरिने बताए । डब्लूएचओको प्राविधिक सहयोगमा रोग पहिचानका लागि ईडीसीडीले ‘अलगोरिधम चार्ट’ बनाइसकेको छ । यसमा अस्पताल र स्वास्थ्यकर्मीले शंकास्पद बिरामीको पहिचानसँगै उपचारमा अपनाउनुपर्ने विधि उल्लेख छ । चार्टमा शंकास्पद बिरामी, उनका परिवार र कुरुवाले रोग सर्न नदिन अपनाउनुपर्ने सावधानीबारे समेत उल्लेख छ ।


स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नोवल कोरोना भाइरसले संक्रमित व्यक्ति मुलुकमा देखिनु धेरै संवेदनशील विषय रहेको बताए । उनले विमानस्थलको माध्यमबाट रोग भित्रिन नदिन २४ घन्टे हेल्थ डेस्कमार्फत विशेष सजगता अपनाइएको जनाए । शुक्रबार हेल्थ डेस्कमा ३ जना बिरामी आफैं समस्या भएको भन्दै सेवाका लागि पुगेका थिए । हाल चीनबाट नेपाल आउने हरेक विमानमै यात्रुलाई स्वास्थ्यसम्बन्धी फारम भरेर विमानस्थलमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ ।


विमानस्थलको हेल्थ डेस्कबाट ज्वरो देखिएका बिरामी पहिचान गरी तोकिएका अस्पतालमा अवलोकन, परीक्षण, उपचारको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले आफूहरू शंकास्पद बिरामीको उपचारका लागि पूर्णरूपमा तयार रहेको बताए । उनले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीसहित संक्रमणबारे विस्तृत जानकारी दिनेसमेत बताए ।


पहिलोचोटि चीनमा देखिएको यो भाइरसको संक्रमण हालसम्म दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर र अमेरिकामा पनि देखिइसकेको छ ।


के हो कोरोना भाइरस ?

सम्बन्धित समाचार :

‘नोबेल कोरोना’ को शंकामा निगरानी

भयावह बन्दै चिनियाँ भाइरस

प्रकाशित : माघ १०, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?