कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भयावह बन्दै चिनियाँ भाइरस

एजेन्सी

बेइजिङ — चीनमा केही दिनअघि देखिएको नयाँ भाइरस भयावह बन्दै गएको छ । सोमबार मात्रै बेइजिङले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएसँगै यो भयावहतर्फ उन्मुख देखिएको हो ।

भयावह बन्दै चिनियाँ भाइरस

वुहान सहरमा मात्रै देखिएको कोरोनाभाइरस संक्रमण राजधानी बेइजिङसम्म पुगेको छ । चीनमा लुनार नयाँ वर्ष आउँदै छ र यहीबीचमा चिनियाँ नागरिक एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने गर्छन् । यस्तोबेला नयाँ भाइरसको संक्रमण दिन दुईगुणा रात चौगुणा बढेपछि बेइजिङले यसबारे मुख खोलेको छ ।

भाइरल निमोनिया उत्पत्ति भएको ठानिएको वुहानका स्वास्थ्य अधिकारीहरुले थप १ सय ३६ जना नयाँ संक्रमित भेटिएको बताएका छन् । पछिल्लो तथ्यांकसहित कोरोनाभाइरसबाट वुहानमा मात्रै १ सय ९८ जना संक्रमित भेटिएको पुष्टि भएको छ भने ‘सार्स’ प्रकृतिको नयाँ भाइरसबाट आइतार थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।


नयाँ भाइरस अन्य सहरमा पनि पुगेको छ । बेइजिङमा दुई र दक्षिणी सहर सेन्झेनमा एक नयाँ कोरोनाभाइरस संक्रमित फेला परेको ती सहरका सम्बन्धित स्वास्थ्य आयोगहरुले सोमबार बताएका छन् । संक्रमित तीनै जना वुहान सहरबाट फर्किएका थिए ।

चीनमा नयाँ भाइरस देखिएसँगै विश्वका अन्य देशले पनि सतर्कता अपनाएको समाचार बाहिरिएका छन् ।

चिनियाँ नयाँ वर्ष नजिकिँदै गरेको र यो समयमा अधिकतम चिनियाँ पर्यटक घुम्न जाने भएकाले ती देशहरु सचेत भएका हुन् । जापान र थाइल्यान्डका अधिकारीहरुले कम्तीमा तीन जनामा नयाँ भाइरसको संक्रमण पाइएको बताइसकेका छन् । तीनै जना संक्रमित भर्खरै चिनियाँ सहर वुहानबाट फर्किएका थिए ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो देशमा कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएको सोमबार जनाएको छ । वुहानबाट सोलस्थित इन्चेन विमानस्थल आइपुगेकी एक ३५ वर्षीया चिनियाँ महिलालाई परीक्षण गर्दा सो भाइरसबाट संक्रमित पाइएको उसले बताएको छ । ती महिलालाई सोलबाट पश्चिममा रहेको इन्चेन सहर स्थित राज्य सञ्चालित अस्पतालमा अलग्गै राखेर निगरानी गरिएको रोग नियन्त्रण तथा रोकथामसम्बन्धी कोरियाली केन्द्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


नयाँ निमोनिया भाइरसको प्रकोप फैलन सक्ने भन्दै एसियाका कम्तीमा आधा दर्जन राष्ट्र र तीन अमेरिकी विमानस्थलले मध्ये चीनबाट आउने यात्रुलाई विमानस्थलमै ‘स्क्रिनिङ’ गर्न थालिसकेका छन् ।

चीनका अन्य सहरमा पनि यात्रुहरुमाथि परीक्षण सुरु गरिसकिएको छ । अनलाइनमा राखिएको भिडियोमा प्रतिरक्षात्मक पहिरन लगाएका स्वास्थ्यकर्मीहरुले वुहानबाट मकाउ आएका विमानका यात्रुलाई एकएक गर्दै चेकिङ गरिरहेको देखिएको छ । मकाउ स्वास्थ्य ब्युरोमा कार्यरत याङ थर भएका एक मानिसले दक्षिणी चिनियाँ क्षेत्रमा यस्तो खालको परीक्षण भइरहेको फोनमार्फत पुष्टि गरेका छन् ।


कोरोनाभाइरसबाट सुरुमा संक्रमित व्यक्ति वुहानस्थित ‘सीफुड’ पाइने बजारसँग सम्बन्धित रहेको पाइएको थियो । वुहानका ‘सीफुड’ पाइने बजारलाई सम्बन्धित निकायले हाल अनुसन्धान पनि गरिरहेका छन् ।

नयाँ भाइरस संक्रमित मान्छेबाट अन्य मान्छेमा भने सरेको पाइएको छैन । वुहानको म्युनिसिपल हेल्थ कमिसनका अनुसार यो भाइरस मान्छेबाट मान्छेमा सजिलै सर्दैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार वर्तमान अवस्थालाई लिएर विज्ञहरुले नजिकबाट काम गरिरहेका छन् र उनीहरुका अनुसार ‘यो भाइरस रोकथाम गर्न सकिने र नियन्त्रण गर्न मिल्ने प्रकृतिको छ ।’


‘यद्यपि नयाँ प्रकारको कोरोनाभाइरसको स्रोत के हो भन्नेबारे अझै पत्ता नलागिसकेकाले कसरी यो सर्‍यो भन्नेबारे हामीले पूर्ण रूपमा बुझिसकेका छैनौं र भाइरसको स्वरुप परिवर्तन भइरहेको बारे अझै नजिकबाट नियाल्न जरुरी छ,’ सो आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाभाइरस साधारण रुघाखोकीदेखि सार्ससम्म वा ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ को कारण बन्न सक्छ । सर्वप्रथम दक्षिणी चीनमा सन् २००२ मा देखिएको सार्स दुई दर्जनबढी देशमा फैलिएको थियो, जसका कारण कम्तीमा ८ सयको मृत्यु भएको थियो । चीन सरकारले सुरुमा सार्स महामारीलाई लुकाउन खोजेको थियो तर उच्च तहका फिजिसियनले यसलाई सार्वजनिक गरिदिएका थिए । ‘सार्सका सुरुका दिनमा प्रतिवेदन ढिला प्रकाशित गरिएको थियो र लुकाइएको थियो,’ ग्लोबल टाइम्सको सम्पादकीयमा भनिएको छ, ‘त्यस्तो काम चीनमा अब कहिल्यै हुनुहुँदैन ।’ ‘सन् २००३ देखि हामीले औषधि, सामाजिक मामिला व्यवस्थापन र सार्वजनिक विचारमा ठूलो उपलब्धी हासिल गरिसकेका छौं,’ सम्पादकीयमा भनिएको छ ।


‘वर्तमान अवस्थालाई समाधान गर्न चीनले उच्चतम प्रयास गरिरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुहाङले नयाँ भाइरसको संक्रमणको विषयमा सोमबार बताएका छन् ।

सरकारले विश्व स्वास्थ्य संगठन, सम्बन्धित देशहरु र क्षेत्रलाई यसबारे जानकारी गराएको छ र नजिकको सम्बन्ध कायम गरिरहेको छ,’ गेङले बताएका छन् । उनका अनुसार वुहानले पनि सहर छोड्ने मानिसको संख्यालाई नियन्त्रण गर्न उपायहरु अवलम्बन गरेको छ ।


‘वर्तमान अवस्था सिर्जना गर्ने भाइरस यसअघि पत्ता लागेकाभन्दा फरक हुन्,’ चिनियाँ वैज्ञानिकहरुले यसै महिनाको सुरुवातमा भनेको थिए । यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सोमबार नयाँ कोरोनाभाइरससँग लड्न अत्यन्तै आवश्यक भइसकेको बताएका छन् । ‘वुहानलगायतका अन्य सहरमा देखिएको नयाँ कोरोनाभाइरस निमोनियालाई गम्भीरताका साथ लिनुपर्छ,’ राज्य सञ्चालित सिसिटिभीले सीलाई उद्धृत गर्दै जनाएको छ, ‘पार्टी, सरकार र सम्बन्धित निकायले जनताको स्वास्थ्य र जीवनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

नयाँ कोरोनाभाइरसको सुरुवाती लक्षण:

ज्वरो आउनु, खोकी लाग्नु, छाती गह्रुंगो हुनु र सास फेर्न गाह्रो हुनु,चीनमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल विबोमा मानिसले नयाँ भाइरसबाट बच्ने उपाय पोस्ट गरेका छन् । जसमा, मास्क लगाउन र हात धुन भनिएका पोस्ट धेरै छन् । सीसीटीभीले पनि यसबाट बच्ने उपायबारे उल्लेख गरेको छ । जसमा, न्यानोसँग बस्ने, शारीरिक गतिविधि बढाउने, नरम खाना खाने र भीडभाडयुक्त ठाउँमा नजाने ।

यो पनि पढ्नुहोस्ः

चीनमा कोरोना भाइरसको जोखिम बढ्दै, अरु सहरमा पनि भेटियो

प्रकाशित : माघ ६, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?