वित्तीय क्षेत्रमा किन बढ्दै छ साइबर आक्रमण ?- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वित्तीय क्षेत्रमा किन बढ्दै छ साइबर आक्रमण ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड महामारीयता विश्वमा २० देखि ३० प्रतिशतले साइबर आक्रमण बढिरहँदा नेपाल पनि त्यसबाट अछुतो छैन । महामारी उत्कर्षमा रहेका बेला नेपालमा केही टेलिकम कम्पनी, इन्टरनेट सेवा प्रदायक र खाना डेलिभरीसम्बन्धी ई–कमर्स प्लाटफर्मले संकलन गरेका ग्राहकका डेटा ह्याक भएका थिए । बैंक तथा वित्तीय संस्थामा अझै पनि हरेक दिन साइबर आक्रमणसँग जोडिएका २/३ गुनासा आउने गरेको बैंकका अधिकारीहरू बताउँछन् ।

‘इन्टरनेसनल सेमिनार अन साइबर सेक्युरिटी’ विषयक कार्यक्रममा बुधबार नेपाल बैंक लिमिटेडकी बन्दना शर्माले आफूहरूकै बैंकका विभिन्न शाखाबाट प्रतिदिन साइबर आक्रमणसँग जोडिएका विवरण आउने गरेको जनाइन् । ‘डिजिटल डिभाइस र प्रणालीका फाइदाबारे जनचेतना फैलाइरहँदा यसका जोखिम र त्यसबाट जोगिने उपाय पनि आममानिसलाई बुझाउन जरुरी छ,’ उनले भनिन्, ‘अचेल राष्ट्र बैंकदेखि लिएर हरेक बैंकले जिल्ला–जिल्लामा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिरहेका छन् । त्यस्ता कार्यक्रममा जोखिमबारे जानकारी दिनुपर्छ । ओटीपी, पासवर्ड, पिन नम्बर सेयर गर्दाका जोखिमबारे बुझाउनुपर्छ ।’

नियामक निकायदेखि सेवा प्रदायक संस्था र सरोकारवाला सबै सचेत र जिम्मेवार भए साइबर आक्रमणका जोखिम कम गर्न सकिने शर्माको भनाइ छ । सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा बनाउनेसम्बन्धी सेवा दिने मोनाल टेककी संस्थापक मोना न्याछ्योनले भने पछिल्लो समय नेपाली संघसंस्था र सेवा प्रदायकहरूले आफ्ना डिजिटल पूर्वाधारलाई बलियो बनाउन साइबर सुरक्षाको क्षेत्रमा खर्च गर्न प्रारम्भ गरेको बताइन् । ‘सूचना प्रविधिअन्तर्गत साइबर सेक्युरिटीलाई पनि एउटा सानो अंशका रूपमा लिन थालिएको छ,’ उनले भनिन्, ‘फायरवाल डिभाइस, सीसीटीभीलगायत सुरक्षा प्रणालीमा लगानी गर्ने क्रम बल्ल सुरु भएको छ ।’ टेलिकम कम्पनी र बैंक तथा वित्तीय संस्था यसमा गम्भीर बनेको उनको भनाइ छ ।

ग्राहकका डेटा सुरक्षित राख्न कम्पनीमा उचित प्रबन्ध र प्रक्रियाको व्यवस्था रहेको निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेल आजिएटाका इन्फर्मेसन सेक्युरिटी युनिट प्रमुख यास्मिन भट्टराईले बताइन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ०७७ साउनमा लागू गरेको साइबर सेक्युरिटी विनियमावलीलाई गम्भीरतापूर्वक लिई साइबर आक्रमण भइहाले त्यसलाई कसरी ह्यान्डल गर्ने भन्नेबारे अभ्यासहरूसमेत हुने गरेको उनको भनाइ छ । सूचना प्रविधिसम्बन्धी सेवा तथा उपकरण खरिद गर्दा नेपाली कम्पनी र सेवा प्रदायकलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसनले आयोजना गरेको कार्यक्रममा नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाका निर्देशक विजयकुमार रोयले भने साइबर सुरक्षाका विषयमा प्राधिकरण जागरुक भएर लागेको भनाइ राखे । कोभिडपछि साइबर आक्रमण बढेकाले आफूहरूले यससम्बन्धी विनियमावली ल्याउनुका साथै कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (सर्ट) गठन गरी सेवा प्रदायक संस्थाहरूको प्रणालीमा हुन सक्ने प्राविधिक कमजोरी पहिल्याउने र साइबर सुरक्षासम्बन्धी चेतना फैलाउने काम गरिरहेको रोयको भनाइ छ ।

साइबर सुरक्षाका लागि कम्पनीहरूले उपकरण वा सफ्टवेयर किन्नेमा मात्रै ध्यान दिएर नपुग्ने भारतको एनिमेसन कम्पनी टुन्ज एकेडेमीका कार्यकारी उपाध्यक्ष शशिकुमार रमण पिल्लाईले बताए । पर्याप्त छलफल र रणनीतिको सही कार्यान्वयनमार्फत मात्रै साइबर सुरक्षा प्रत्याभूत हुने उनले जनाए ।

प्रकाशित : माघ ६, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेश जन्माउने आन्दोलनको सुरुवात

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६९ मा आजकै दिन (जनवरी २०) पूर्वी पाकिस्तानमा प्रहरीको गोलीले विद्यार्थी नेता अमनुल्लाह मोहम्मद असदुजमन मारिएका थिए । उनको मृत्युपछि तत्कालीन शासकविरुद्ध विद्यार्थीले सुरु गरेको विरोध ‘स्वतन्त्रता युद्ध’ का रूपमा परिणत भएपछि स्वतन्त्र राष्ट्रका रूपमा बंगलादेशको जन्म भएको थियो । 

उनी तत्कालीन पूर्वी पाकिस्तानको विद्यार्थी संघ (ईपीएसयू) को हल इकाईका अध्यक्ष थिए । १९६९ को जनवरी २० मा उनको नेतृत्वमा ढाका मेडिकल कलेज अस्पताल अगाडिबाट विरोध प्रदर्शन सुरु भएको थियो । करिब १० हजार विद्यार्थीको सहभागिता रहेको प्रदर्शन चान खर पुलतर्फ अघि बढिरहेको थियो । त्यस क्रममा प्रहरीले गरेको गोली प्रहारमा घाइते भएका उनको अस्पतालमा मृत्यु भएको हो ।

विद्यार्थीले गरेको प्रदर्शन असदुजमनको मृत्युपछि आन्दोलनमा परिणत भएपछि तत्कालीन पाकिस्तानी शासक अयुब खान राजीनामा दिन बाध्य भएका थिए । खान सन् १९५८ मा राष्ट्रपति बनेका थिए । आन्दोलन चर्कंदै गएपछि सन् १९७१ मा पूर्वी पाकिस्तान स्वतन्त्र राष्ट्र बंगलादेशको जन्म भएको हो । ‘त्यतिबेला असदुजमनले बलिदान नदिएका भए हाम्रो देशको स्वतन्त्रताको समय धेरै पछि सर्ने थियो,’ उनका भाइ मुनिर–उज–जमनले भने । १९४२ को जुन १० मा जन्मिएका असदुजमन मृत्यु हुनुअघि ढाका विश्वविद्यालयमा इतिहास विषयका स्नातकोत्तरका विद्यार्थी थिए । उनी १९६९ को आन्दोलकका क्रममा ज्यान गुमाउनेमध्ये एक हुन् ।

प्रकाशित : माघ ६, २०७९ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×