लगातार एउटै दल नदोहोर्‍याउने कञ्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सह–प्राध्यापक डा. भूपेन्द्र विष्ट विगतमा अन्तरर्घात हुँदा एक अर्को दलमा जाने सबै खाले भोट यसपटक घण्टी चिन्हमै गएको अनुमान गर्न सकिने बताए ।

फाल्गुन ३०, २०८२

भवानी भट्ट

Kanchanpur will not repeat the same party continuously.

What you should know

कञ्चनपुर — २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा सहभागी भएको थियो । चुनावी नतिजा मिश्रित आउने धेरैको आँकलन थियो । तर चार वटै निर्वाचन क्षेत्रमा मोओवादीकै उम्मेदवार विजयी भए । 

त्यतिबेला कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरासँगै कञ्चनपुरको क्षेत्र नं ४ मा पनि चुनावी मैदानमा थिए । उनले डडेलधुरा र कञ्चनपुर ४ दुवै क्षेत्रमा जिते । त्यसपछि कञ्चनपुर ४ छाडे । उपनिर्वाचन हुँदा माओवादीकै हरिश ठकुल्ला निर्वाचित भए । त्यतिबेला क्षेत्र नं १ मा पुरन रानाथारु, २ मा देवीलाल चौधरी र ३ बाट टेकेन्द्र भट्ट निर्वाचित भएका थिए । 

२०६४ र त्यसपछिका निर्वाचन जस्तै यस पटक पनि जिल्लामा धेरैले मिश्रित नतिजा आउने अनुमान गरेका थिए । देशभरि आएको रास्वपाको लहरसँगै कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपा उम्मेद्वार विजयी भए । क्षेत्र नं १ मा जनकसिंह धामी, २ मा दिपक बोहरा र ३ मा ज्ञानेन्द्र महता निर्वाचित भएका हुन् । ‘यो एक किसिमको लहर नै हो, जनताले जिल्लाका सबै क्षेत्रमा प्रायः एउटै दलका उम्मेद्वारलाई जिताउने गरेका छन्,’ सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका सह–प्राध्यापक डा. भूपेन्द्र विष्टले भने, ‘यो मनसुन जस्तै हो, मनसुन जस्तै सबै क्षेत्रमा पुग्छ, विगतमा मनसुन आउथ्यो, यो पाली सुनामी नै आयो ।’ उनले ‘अल्गोरिदम’ले पनि कसैलाई हिरो र जिरो बनाउने काम गरेको उनले बताए । ‘अहिलेको चुनावमा राष्ट्रिय एकता पनि देखियो, भूगोल र क्षेत्र हेरिएन,’ विष्टले भने, ‘बालेनको क्रेजले सबैलाई आकर्षित गर्‍यो, उनले केही गर्छन् कि भन्ने आस पनि छ ।’

उनले विगतमा अन्तरर्घात हुँदा एक अर्को दलमा जाने सबै खाले भोट यसपटक घण्टी चिन्हमै गएको अनुमान गर्न सकिने बताए । अहिलेको चुनावी परिणामले रास्वपालाई चुनौती र अवसर दुवै भएको उनले बताए । विगतमा जस्तो हामीले अल्पमतमा भएर काम गर्न सकेनौं भन्ने बाहाना अब नहुने उनले बताए । 

यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि चार वटै क्षेत्रमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । त्यतिबेला क्षेत्र नं १ मा दिवानसिंह विष्ट, २ मा एनपी साउद, ३ मा बहादुरसिंह थापा र ४ मा रमेश लेखक निर्वाचित भएका थिए । संविधान जारी भएपछि भएको पहिलो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भए ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । राज्य पुर्नसंरचनापछि कञ्चनपुरमा ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको थियो । त्यतिबेला क्षेत्र नं १ बाट पुष्पकमल दाहालकी बुहारी बिना मगर, २ बाट एमालेका नरबहादुर धामी र ३ बाट पनि एमालेकै डा. दिपकप्रकाश भट्ट निर्वाचित भएका थिए ।

‘राजनीतिक दलहरुमा आस्था र विचारमा शुद्धता छैन, सत्ताकै लागि जे पनि गर्ने जोसँग पनि मिल्ने काम भइरहेको छ,’ राजनीतिशास्त्रका प्राध्यापक तथा सुदूरपश्चिम विश्वविद्यालयको मानविकी संकायका पूर्वडीन डा. टेकराज पन्तले भने, ‘जातियता, क्षेत्रियता, नातावाद, कृपावाद तथा लोभ प्रलोभन पार्ने काम हुने गरेको छ ।’ तर यस पटकको निर्वाचन भने पृथक भएको पन्त बताउँछन् । उनले नेपालभरि एकै किसिमको हावा चलेर अहिलेको परिणाम आएको बताए । पन्तले अझै पनि जनतामा परिपक्वता आइनसकेको बताए । उनले निष्पक्ष र स्वतन्त्र भएर मतदान गर्न सक्ने अवस्थामा पुग्न नसकेको बताए । 

२०७९ को निर्वाचनमा मात्रै क्षेत्र नं १ मा एमलेले जित्यो भने २ र ३ मा कांग्रेस विजयी भयो । १ मा एमालेका तारालामा तामाङ विजयी भएका थिए भने २ मा कांग्रेसका एनपी साउद र ३ मा कांग्रेसकै रमेश लेखक विजयी भएका थिए । जिल्लाका निर्वाचन क्षेत्रमा कुनै पनि दलले लगातार दोहोरिएर चुनाव जितेको पनि छैन । एउटै उम्मेद्वार लगातार दोहोरिएर निर्वाचित भएको पनि छैन । ‘समाज तरल छ, एकै ठाउँमा अडिएर बस्दैन, परिवर्तनशील पनि छ, त्यसकारण समाजले गर्ने निर्णय पनि परिवर्तनशील हुन्छ,’ सुदूरपश्चिम विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक पृत विष्ट भन्छन्, ‘विगतमा राजनीतिक दलहरु गठबन्धन गर्दै आएका थिए, यस पटक जनताले गठबन्धन गरे, पुराना दलको कुशासनका विरुद्ध मतदान गरे ।’

उनले विकास निरन्तर भइरहने भए पनि जनताको आकांक्षा भने तीब्र हुने भएकाले परिवर्तन भइरहने बताए । बसाइँसराइ, शिक्षा, स्वास्थ्यसँगै आम सञ्चारमा आएको परिवर्तनले पनि जनताको चाहना र आवश्यकता परिवर्तन हुने उनले बताए ।  

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully