प्रतिनिधिसभामा पुग्ने
४० वर्षमुनिका
६१ युवा सांसद को हुन् ?

नयाँ प्रतिनिधिसभामा ४० वर्षसम्मका ६१ युवा सांसद प्रवेश गरेका छन्, जसमध्ये सबैभन्दा कान्छा २५ वर्षीय प्रशान्त उप्रेती (मकवानपुर–२) र सबैभन्दा कान्छी महिला २९ वर्षीया निशा डाँगी (झापा–१) हुन्। रास्वपाबाट बहुमत युवा विजयी भएका छन् भने सुलभ खरेल, बालेन्द्र शाह, विपिन आचार्य र रुबिना आचार्यजस्ता युवाले ठूला दलका शीर्ष नेताहरूलाई पराजित गरेका छन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० वर्षसम्मका ६१ जना युवा सांसद विजयी भएका छन् । अब उनीहरूले संसद्‍मा युवा नीति नियम बनाउन बुलन्द आवाज उठाउने विश्वास गरिएको छ । देशका कुन–कुन निर्वाचन क्षेत्रबाट युवा उम्मेदवार निर्वाचित भए, उनीहरूले कति मत प्राप्त गरे, निकटम प्रतिस्पर्धी को रहे जस्ता सामग्री यस आलेखमा पढ्न पाइनेछ । यसरी निर्वाचित हुनेमा सबैभन्दा कान्छा उम्मेदवारका रूपमा मकवानपुर २ बाट निर्वाचित २५ वर्षीय प्रशान्त उप्रेती रहेका छन् ।

Prashant upreti

प्रशान्त उप्रेती, २५, मकवानपुर २मकवानपुर २ बाट सबैभन्दा कम उमेरका प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । २५ वर्षीय रास्वपा उम्मेदवार उप्रेती ३० हजार ५० मतसहित विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी एमाले उमेदवार महेशकुमार बर्तौलाले १८ हजार ८ सय ४६ मत प्राप्त गरे । महनहरी गाउँपालिका-७ का बासिन्दा उप्रेतीले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् । उनी पर्यटन उद्यमी हुन् । रास्वपमा प्रवेश गरी उनी उम्मेदवार बनेका थिए । पहिलो पटकमै निर्वाचित भएर उनले संसदीय राजनीतिको यात्रा तय गरेका छन् ।

Manish Khanal

मनिष खनाल, २६, पूर्वी नवलपरासीगण्डकी प्रदेशको पूर्वी नवलपरासी २ बाट २६ वर्षीय मनीष खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रास्वपाबाट उम्मेदवार रहेका उनी फराकिलो मतान्तरले विजयी भए । खनालले ३२ वर्षदेखि एमालेले विजय हासिल गर्दै आएको उक्त क्षेत्रमा प्रतिस्पर्धी एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन् । महत यही क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार थिए । खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने महतले १५ हजार ७ सय ५५ मत ल्याए । ०७६ सालमा जनकपुरमा सम्पन्न तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशनमा मनीष २० वर्षकै उम्मेरमा सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका थिए । उनले कानुनमा स्नातक गरेका छन् । सांसद निर्वाचत भएपछि प्रतिक्रिया दिँदै उनले कानुनको विद्यार्थी भएकाले संसदीय गरिमाको सम्मान गर्ने बताए ।

KP Khanal

केपी खनाल, २६, कैलाली २कैलाली २ बाट २६ वर्षकै उमेरमा केपी खनालले संसदीय राजनीतिक यात्रा आरम्भ गरेका छन् । लुम्कीचुहा नगरपालिकाका स्नातक खनाल १९ हजार ५७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीलाई उनले हराएका हुन् । चौधरीले ११ हजार ९ सय ४९ मत पाए । खनाल सामाजिक अभियन्तामा रूपमा काठमाडौंमा सक्रिय थिए । उनी रास्वपा नेता बालेन्द्र शाह निकट मानिन्छन् । उनले क्लिन काष्ठमण्डप अभियान सञ्चालन गरेका थिए । सामाजिक सेवामा सक्रिय खनाल नेसनल युथ आइकोन अवार्ड २०१८, प्रदेश युवा प्रतिभा सम्मान २०७८ र जनसेवा श्री पदकबाट सम्मानित र पुरस्कृत भएका छन् ।

Sulabh Kharel

सुलभ खरेल, २८, रूपन्देही २रूपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी २८ वर्षीय सुलभ खरेलले ५६ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । उनले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गरेका हुन् । पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए । स्नातकोत्तर तहसम्म अध्ययन गरेका खरेल कानुन व्यवसायीसमेत हुन् । बुटवल उपमहानगरपालिका–१६ सेमलारका बासिन्दा खरेल एक वर्षअघि मात्र रास्वपामा जोडिएका थिए । खरेलले विद्यालय तहको शिक्षा रूपन्देहीबाटै र काठमाडौंको नेपाल ल क्याम्पसबाट बीए/एलएलबी पास गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नेमध्ये उनी पनि एक थिए । त्यतिबेला उनी सबैभन्दा कान्छो रिट निवेदकका रूपमा चिनिएका थिए । नेपाल ल क्याम्पसमा पढ्दा नै दुई वर्षजति एमालेनिकट अनेरास्ववियुमा आबद्ध भएर राजनीति गरेका थिए । अमेरिकाको मिचिगन विश्वविद्यालयबाट संवैधानिक तथा फौजदारी कानुनमा स्नातकोत्तर खरेल जेठ २०८१ मा नेपाल फर्केका थिए । नेपाल फर्केपछि कानुनी बहस, संवैधानिक मुद्दा र सार्वजनिक सरोकारका विषयमा अभियन्ताका रूपमा काम गर्न थालेका थिए ।

Bablu Gupta

बब्लु गुप्ता, २८, सिराहा १२८ वर्षीय बब्लु गुप्ता सिराहा १ बाट सांसद निर्वाचित भएका छन् । ४१ हजार ३ सय २२ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७ सय ८४ मत पाए । सामाजिक अभियन्ता एवं पूर्वमन्त्री गुप्ता उम्मेदवार बन्नुअघि अन्तरिम सरकारको युवा तथा खेलकुदमन्त्री थिए । लहानका उनले स्नातकसम्म अध्ययन गरेका छन् । कोभिड महामारीका बेला उनले काठमाडौंमा विपन्न वर्गका लागि निःशुल्क खाना अभियान चलाएर चर्चा कमाएका थिए । मन्त्रीबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।

Nisha Dangi

निशा डाँगी, २९, झापा १झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित २९ वर्षीया निशा डाँगीले कान्छी महिला सांसदको रेकर्ड कायम गरेकी छिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी उनी यसपटक प्रत्यक्षतर्फबाट विजयी हुँदै दोस्रो संसदीय यात्रा सुरु गरेकी हुन् । झापाको भद्रपुरमा २०५३ सालमा जन्मिएकी उनले आफूभन्दा पाका र अनुभवी नेतालाई पाखा लगाउँदै संसदीय यात्राको दोस्रो ‘इनिङ्स’ सुरु गरेकी हुन् । चुनावी प्रतिस्पर्धामा उनले ४५ हजार ६ सय ८० मत पाइन् । कांग्रेसका केशवराज पाण्डेले १० हजार ५ सय ५० मत पाए । २०७९ को संसद्मा उनी ‘कान्छी माननीय’ का रूपमा समेत चिनिएकी थिइन् । उनले काठमाडौंस्थित जया मल्टिपल क्याम्पसबाट स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी करिब ५ वर्ष पत्रकारितामा सक्रिय थिइन् ।

Sasmit Pokharel

सस्मित पोखरेल, २९, काठमाडौं ५काठमाडौं उपत्यकाको सबैभन्दा कान्छो सांसदका रूपमा २९ वर्षीय सस्मित पोखरेलले संसद्को यात्रा तय गरेका छन् । काठमाडौं ५ बाट उनले कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको सल्लाहकारका रूपमा काम गरेका पोखरेलले ३० हजार ७३७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी पौडेलले ९ हजार १ सय ५९ र पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेका थिए । कानुनमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका पोखरेल त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दैछन् । विवेकशील साझा पार्टीबाट उनले २०७४ सालदेखि राजनीतिक गतिविधि थालेका थिए ।

Aren Rai

आरेन राई, २९, खोटाङखोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार २९ वर्षीय आरेन राई विजयी भएका छन् । १६ हजार ६ सय १२ मत प्राप्त गरी राई निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार देवविक्रम राई पराजित गरेका हुन् । मंगोल नेशनल अर्गनाईजेशन पार्टीमा आबद्ध राई पछिल्लो समय हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए । उनी श्रम संर्स्कति पार्टीका महासचिव समेत हुन् । खोटाङ कोपीलासगढी फेदीका राईले १२ कक्षासम्म पढेका छन् । उनी आफ्नो विषयवस्तुमा खरो अभिव्यक्ति दिनसक्ने व्यक्तिका रूपमा परिचित छन् ।

Ranju Darshana Neupane

रञ्जु दर्शना न्यौपाने, ३०, काठमाडौं १प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा विजयको पहिलो झन्डा फराउने उम्मेदवार हुन् ३० वर्षीया रञ्जु दर्शना न्यौपाने । उनी विजयी क्षेत्र काठमाडौं–१ को मत परिणाम सबैभन्दा पहिले घोषणा भएको थियो । उनी १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो भए । न्यौपानेले काठमाडौं विश्वविद्यालयबाट विकास शास्त्र र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनी २०७० बाट विवेकशील साझा नेपाली पार्टीमा आबद्ध भइन् । ‘बन्दले देश बन्दैन : नेपाल खुल्ला छ’ अभियानमा सहभागी थिइन् । महिला हिंसाविरुद्धका अभियान, सरसफाई कार्यक्रम, युवा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय हुँदै आएकी थिइन् । २०७२ को भूकम्पपछि राहत, उद्दार कार्यक्रममा खटेकी थिइन् । विवेकशील पार्टीको पहिलो महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । २०७३–२०७४ मा विवेकशील साझाको सञ्चार विभाग प्रमुखको भूमिका थिइन् । भ्रष्टाचारविरुद्ध सूचनाको हक अभियान र स्वास्थ्य सेवा, चिकित्सा शिक्षाको समान पहुचसम्बन्धी डा. गोविन्द केसीको अभियानमा जोडिइन् । साथै, २०७४ स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिइन् । जतिबेला उनी २१ वर्षकी मात्रै थिइन् । उनले २३ हजार ४ सय ३९ मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् । विवेकशील साझा पार्टी र रास्वपाबीच एकीकरणपछि काठमाडौं–१ बाट उम्मेदवार बन्दै विजयी भइन् ।

Sobita Gautam

सोविता गौतम, ३०, चितवन ३चितवन ३ बाट ३० वर्षीया सोविता गौतमले संसदको दोस्रो यात्रा तय गरेकी छन् । उनी बिघटित प्रतिनिधिसभाकी सांसद समेत हुन् । २०७९ को निर्वाचनमा काठमाडौं–२ बाट विजयी गौतम यसपटक चितवन ३ पुगेकी थिइन् । उनले ३८ हजार ६ सय ६२ मतान्तरले नेकपाकी उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन् । गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरेकी थिइन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याएकी थिइन् । एमाले, कांग्रेस उम्मेदवार उनको क्षेत्रबाट तेस्रो र चौथो भए । गौतम दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन् । उनीले कानुनमा स्नातक गरेकी छन् । पेशागत रूपमा अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोताको समेत अनुभव छ ।

Shivashankar Yadav

शिवशंकर यादव, ३०, सिराहा २सिराहा २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै गरेका ३० वर्षीय शिवशंकर यादव निर्वाचनको केही समयअघि मात्रै रास्वपामा आबद्ध भएका थिए । उनी ३९ हजार ५ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२ हजार ८ सय १४ मत ल्याएका थिए । स्नातक तहसम्म अध्ययन गरेका यादव खुसीपुर नगरपालिका विद्यानगरका स्थानीय हुन् ।

Ramji Yadav

रामजी यादव, ३०, सप्तरी २रास्वपाबाट उम्मेदवारी दिएका ३० वर्षीय रामजी यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले २८ हजार ४ सय ४ मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार उमेशकुमार यादवले १४ हजार २ सय ६३ मत प्राप्त गरी दोस्रो र जनमत पार्टीका चन्द्रकान्त राउतले ९ हजार ८८० मत ल्याई तेस्रो भएका थिए । रास्वपाका केन्द्रीय सदस्य यादव २०७३ मा आवद्ध भएका हुन् । २०७९ मा उनी जसपाको सदस्य थिए । राजविराज विहारपुरका यादवले बिई गरेका छन् ।

Rubina Acharya

रुबिना आचार्य, ३१, मोरङ ६कोशी प्रदेशको मोरङ ६ बाट ३१ वर्षीया रास्वपा उम्मेदवार रुबिना आचार्य निर्वाचित भएकी छिन् । उनले कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालालाई हराएकी हुन् । विजयी आचार्य र कोइरालाबीच ४२ हजार ६ सय ६३ को मतान्तर रह्यो । आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गर्दा कोइरालाले १२ हजार ८ सय ५० मत पाएका थिए । एमालेका विनोद ढकाल ८ हजार ३ सय १७ मत प्राप्त गरेर तेस्रो भए । आचार्य विराटनगरमै हुर्किएकी थिइन् र काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी छिन् । उनी नागरिक अधिकार, महिला सहभागिता र समावेशीताका मुद्दामा सक्रिय रहँदै आएकी थिइन् । डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा सहभागिता जनाउनुका साथै कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’ लगायत विभिन्न सामाजिक गतिविधिमा उनको सक्रिय भूमिका देखिएको थियो । उनको यो पहिलो संसदीय यात्रा हो ।

Sushant Baidik

सुशान्त वैदिक, ३१, प्यूठानप्यूठानमा रास्वपाका सुशान्त वैदिक विजयी भएका छन् । कांग्रेसका डा. गोविन्दराज पोखरेललाई ९ हजार १ सय ३२ मतले पराजित गर्दै वैदिक निर्वाचित भएका हुन् । वैदिकले २७ हजार ४ सय ६९ र पोखरेलले १८ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् । प्यूठानमा १४ राजनैतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए । एमालेका सूर्यबहादुर थापा क्षेत्रीले १६ हजार ७ सय १० मत प्राप्त गरेका छन् । ३१ वर्षीय बैदिक प्यूठान नगरपालिका डुम्रीडाँडाका हुन् । उनले स्नातकोत्तर गरेका छन् । उनले उच्चशिक्षा विदेशमा अध्ययन गरेका थिए । लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्स (एनएचएच) बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनी विकास अर्थशास्त्र र लगानी विश्लेषणका विज्ञ मानिन्छन् ।

Yogesh Gauchan Thakali

योगेश गौचन थकाली, ३२, मुस्ताङहिमालपारिको जिल्ला मुस्ताङबाट ३२ वर्षका कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले प्रतिनिधिसभा सदस्यमा जित निकालेका छन् । गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए । गौचन विघटित प्रतिनिधिसभा सदस्य थिए । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन् । योगेश कांग्रेस गण्डकी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि छन् । राजनीतिमा आउनुअघि योगेश सफल व्यवसायीका रूपमा चिनिन्थे । बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका उनले पोखरामा त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्सको प्रबन्ध निर्देशक भएर पनि काम गरेका थिए । मुस्ताङको थासाङ गाउँपालिका–३, लेतेका गौचन होटल व्यवसायीसमेत हुन् ।

Badankumar Bhandari

बदनकुमार भण्डारी, ३३, काभ्रे २काभ्रे क्षेत्र नम्बर २ बाट ३३ वर्षीय बदनकुमार भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भएका छन । रास्वपा केन्द्रीय सार्वजनिक मामिला सचिवको जिम्मेवारीमा रहेका उनले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् । उनी ५३ हजार ३ सय ४४ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ र एमाले उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत प्राप्त गरेका थिए । उनी काभ्रेको भुम्लु गाउँपालिका-२ मा जन्मेका हुन् । भण्डारी ई–कमर्स व्यवसायी तथा अनुभवी मिडियाकर्मीका रूपमा पनि परिचित छन् । लायन्स क्लबमा आबद्ध उनी २०७२ सालको भूकम्प, कोरोना महामारी, बाढीपहिरोलगायत विपद्का समयमा राहत सामग्री वितरणमा खटिएका थिए ।

Tapeshwar Yadav

तपेश्वर यादव, ३३, सिरहा ४सिभिल इन्जिनियर तपेश्वर यादव सिरहा ४ बाट निर्वाचित भएका हुन् । ३३ वर्षीय उनी मधेस प्रदेशको रास्वपा अध्यक्ष थिए । ३६ हजार २ सय १० मत ल्याएर उनी विजयी भए । निकटम् प्रतिद्धन्द्धी नेकपाका अजयशंकर नायकले ७ हजार ९ सय ७२ मत प्राप्त गरे । यादव इन्जिनियरिङ एसोसिएसन मधेसका महासचिव थिए । मिर्चैया नगरपालिकामा उनले २ वर्ष सेवासमेत गरे ।

Ujjal Kumar Jha

उज्जलकुमार झा, ३३, महोत्तरी ३महोत्तरी ३ बाट रास्वपा उम्मेदवार ३३ वर्षीय उज्जलकुमार झा ३२ हजार ४ सय १५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाल संघीय समाजवादीका उम्मेदवार मुहमद रिजवान ५ हजार ९ सय ६९ मत प्राप्त गरी पराजित भए । झा एकडारा गाउँपालिकाका इन्जिनियर हुन् ।

Jhabilal Dumre

झविलाल डुम्रे, ३३, स्याङ्जा २रास्वपा संस्थापक मध्येका एक झविलाल डुम्रे स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डुम्रेले २५ हजार ३ सय ५४ मत प्राप्त गरे । उनको निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भागवतप्रकाश मल्लले २० हजार ८ सय ३० मत ल्याए । वालिङ १४ छोरेखर्कका उनले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी पोखरामा सामाजिक काम र व्यवसायमा सक्रिय थिए ।

Sagar Dhakal

सागर ढकाल, ३४, गुल्मी १लुम्बिनी प्रदेशको गुल्मी १ बाट ३४ वर्षीय सागर ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेस र एमालेका पुराना नेता प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई पराजित गरे । ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ज्ञवालीले १५ हजार १ सय ८१ र भण्डारीले १३ हजार ५ सय ५ मत ल्याए । गुल्मी सत्यवती गाउँपालिका पीपलनेटाका विजयी ढकालले एमएस्सीसम्मको अध्ययन गरेका छन् । उनीसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेको अनुभव छ । एउटा टेलिभिजन कार्यक्रममा कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर उनी चर्चामा आएका थिए । उनै ढकाल २०७९ को निर्वाचनमा डडेलधुराबाट देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । तर पराजित भए । त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका उनले १३ हजार ४२ मत सहित दोस्रो भएका थिए । ढकाल हाल रास्वपाको केन्द्रीय सदस्य छन् ।

Santosh Rajbanshi

सन्तोष राजवंशी, ३४, मोरङ ४मोरङ ४ बाट ३४ वर्षका सन्तोष राजवंशी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस महामन्त्री गुरुराज घिमिरे र पूर्वसांसद तथा नेकपा उम्मेदवार अमनलाल मोदीलाई चुनावी प्रतिस्पर्धामा हराए । २८ हजार १५ मतान्तरले उनी सांसद निर्वाचित भएका हुन् । राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दा प्रतिस्पर्धी घिमिरेले १२ हजार ८ सय १८ र मोदीले १० हजार ७ सय ६२ मत पाएका छन् । विराटनगर महानगरका राजवंशीले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् ।

Som Sharma

सोम शर्मा, ३४, बाग्लुङ २बाग्लुङ २ बाट रास्वपा उम्मेदवार ३४ वर्षीय सोम शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले १२ हजार ६ सय ४७ मत प्राप्त गरे । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत ल्याए । पत्रकारिता र सामाजिक अभियन्ताका रूपमा लागेका शर्मा भ्रष्टाचार विरोधी अभियानमा सक्रिय थिए । उनी जेन–जी आन्दोलनमा पनि अग्रपंक्तिमा थिए । साथै, माइतीघरमा हुने अन्य आन्दोलनहरूमा पनि उनी सक्रिय देखिन्थे । बाग्लुङ नगरपालिका रातामाटाका शर्माले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् । उनले ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ अभियान, लियो क्लब अफ बागलुङ कालिका, देशभक्त युवा नेपाल, आमयुवा आन्दोलन तथा ‘अब बोल्छ नेपाल’ जस्ता संस्थामार्फत उनले जनचेतना, सामाजिक सेवा, सुशासनका पक्षमा वकालत र सामाजिक आन्दोलनमा सहभागिता जनाउँदै आएका छन् ।

Gyan Bahadur Shahi

ज्ञानबहादुर शाही, ३४, जुम्लाकर्णाली प्रदेशको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ३४ वर्षीय ज्ञानबहादुर शाही दोस्रो पटक सांसद निर्वाचित भएका छ । उनी राप्रपाका प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी विघटित प्रतिनिधिसभाका सदस्य हुन् । शाहीले १४ हजार ८ सय १६ मत प्राप्त गरे । प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे । खरो अभिव्यक्तिकै कारण चर्चामा आइरहने नेता शाही जुम्ला सिंजा गाउँपालिका–३ पिंगी गाउँमा जन्मिएका थिए । जेन–जी आन्दोलनअघि रहेको प्रतिनिधिसभामा उनी राप्रपाको प्रमुख सचेतक थिए । सिंजाकै कैलाश मावि फुंग्रबाट २०६२ सालमा एसएलसी पास गरेका उनी भारतमा सीए पढ्न गए । तर बीचमै पढाइ छाडेर नेपाल फर्किएका उनले भ्रष्टाचारविरोधी अभियान सुरु गरे । ठूल्ठूला नेताहरूका भ्रष्टाचारका नालीबेली भन्दै हिसाबकिताब बोकेर मिडियामा बोलिरहने शाहीले सोही अभियानकै कारण चर्चा कमाए ।

Deepak Kumar Sah

दीपककुमार साह, ३४, महोत्तरी २महोत्तरी २ बाट ३४ वर्षका दीपककुमार साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३२ हजार ७ सय २२ मत ल्याएर विजयी भएका हुन् । जसपाका शरदसिंह भण्डारी १० हजार १ सय ९८ मत प्राप्त गरी साहसँग पराजित भए । स्नातकोत्तर साह महोत्तरी गाउँपालिकाका बासिन्दा हुन् । उनी रास्वपा उम्मेदवार थिए । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । उनी राजनीतिमा प्रवेश गर्नुअघि विश्व स्वास्थ्य संगठनमा काम गर्थे ।

Khagendra Sunar

खगेन्द्र सुनार, ३५, बाँके ३सामाजिक अभियन्ताका रूपमा परिचत युवा खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ३५ वर्षीय उनी बाँके ३ बाट विजयी भएको निर्वाचन आयोगले जनाएको छ । सुनारले २९ हजार ५ सय ५१ मत प्राप्त गरे । प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुमन मल्लले १९ हजार ६ सय १५ मत ल्याएका थिए । कांग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत ल्याए । दैलेखको नारायण नगरपालिका भैंसीखोरका सुनारले कक्षा १२ सम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । उनी दलित समुदायका मुद्दालाई सडकमा प्रखर रूपमा उठाउँथे । पत्रकारिता गर्दै ‘दलितका लागि दलित अभियान’को संयोजक बने । २०७७ मा रुकुम पश्चिमका नवराज विकसहित ६ युवाको हत्या भएपछि सुनारले दलित आन्दोलनमा आक्रामक अभियन्ताका रूपमा आए । पछिल्लो समयमा उनी ‘दलितका लागि खै ?’ भन्ने अभियानका नेतृत्वकर्ता थिए । माइतीघरमा शरीरमा नेल लगाएर र विभिन्न सांकेतिक विरोध प्रदर्शन गरेपछि उनी चर्चामा आए । जेनजी आन्दोलनपछि उनले हाम्रो पार्टी नेपाल पार्टी खोलेका थिए । रास्वपासँग पार्टी एकता गरेर केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएर विजयी बने ।

Sunil Lamsal

सुनिल लम्साल, ३५, रूपन्देही १रूपन्देही १ बाट रास्वपा उम्मेदवार ३५ वर्षीय सुनिल लम्साल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ५४ हजार ८ सय ४५ मत ल्याए भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हीराबहादुर खत्रीले ११ हजार ९ सय ८२ मत ल्याएका छन् । बालेन्द्र शाहसँगै उनी रास्वपा प्रवेश गरेका थिए । उनी रास्वपा महामन्त्रीसमेत हुन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन् । उनी विद्यावारिधि तहमा अध्ययरत छन् । इन्जिनियरिङ पढेका उनी लुम्बिनी इन्जिनियरिङ कलेजको पूर्वस्ववियु सभापतिसमेत हुन् । उनले एमाले निकट अनेरास्ववियुबाट स्ववियुमा प्रतिनिधित्व गरेका थिए ।

Nishkal Rai

निश्कल राई, ३५, इलाम १इलाम १ बाट कांग्रेस उम्मेदवार निश्कल राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । १४ हजार ५ सय ४३ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । निकट प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३ हजार ६ सय ३२ प्राप्त गरे । इलाम सूर्योदयका उनी काठमाडौंमा कांग्रेस भ्रातृसंगठन नेविसंघमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेका थिए । उनीसँग कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा कार्यक्रम संयोजक भएर नीति निर्माणमा भूमिका खेलको अनुभव छ ।

Balendra Shah

बालेन्द्र शाह, ३६, झापा ५प्रतिनिधिसभा सदस्य निर्वाचनको 'इपिसेन्टर’ बनेको झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भए । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा ५ मा धेरैको चासो थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । शाह रास्वपाका वरिष्ठ नेता हुन् । ओलीलाई उनले ४९ हजार ६ सय १४ मतान्तरले पराजित गरे । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली १८ हजार ७ सय ३४ मतमै सीमित भए । ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत मात्रै ल्याएका थिए । बालेन्द्र शाह नेपाली राजनीतिज्ञ, र्‍यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक तथा इन्जिनियर हुन् । उनी २०७९ जेठदेखि २०८२ माघ ४ सम्म काठमाडौं महानगरपालिकाका मेयरका रूपमा कार्यरत रहे । उनको जन्म काठमाडौंको नरदेवीमा रैथाने मधेशी परिवारमा भएको हो । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार तथा नक्सा निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सानैदेखि सङ्गीत र कवितामा रुचि राख्ने बालेनले २०६९ मा ‘सडक बालक’ नामक पहिलो गीत सार्वजनिक गरेका थिए । सुरुमा विवेकशील पार्टीप्रति आकर्षित भए पनि उनी स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए ।

Tosima Karki

तोसिमा कार्की, ३६, ललितपुर ३पूर्वस्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की ललितपुर ३ बाट पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । रास्वपा उम्मेदवार कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे । पूर्वसांसद कार्की यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन् । पेसाले उनी चिकित्सक हुन् । ललितपुर-१८ मा बसोबास गर्दै आएकी छिन् । उनी रास्वपाको केन्द्रीय सदस्य हुन् । उनले जनरल सर्जरी मेडिसिनमा स्नातकोत्तर गरेकी छिन् । ललितपुरको किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट चिकित्सा शिक्षामा स्नातकोत्तर गरिन् । २०७२ को भूकम्प र कोभिड महामारीमा नागरिकको सेवामा खटिएकी चिकित्सक हुन् उनी । सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्ला र सिंगो मधेस प्रदेशमा उनले सेवा गरेकी थिइन् । केही समय पाटन अस्पतालमा काम गरिन् । २०७१/०७२ देखि मेडिकल कलेजका विकृति विसङ्गति विरुद्ध आवाज उठाइन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अभियानमा उनी जोडिएकी थिइन् । २०७९ माघ ३ देखि २२ गतेसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिन् ।

Suhang Nemwang

सुहाङ नेम्वाङ, ३६, इलाम २एमाले उम्मेदवार ३६ वर्षका सुहाङ नेम्वाङले इमाल २ बाट दोस्रो पटक जित निकाले । उनले २२ हजार ४ सय २६ मत पाए । कांग्रेस उम्मेदवार भेषराज आचार्यले १४ हजार ६ सय ५० मत ल्याए । २०८१ को उपनिर्वाचनमा पनि उनी उक्त क्षेत्रबाट विजयी भएका थिए । पूर्वसभामुख बुवा सुवासचन्द्र नेम्वाङको निधनपछि पनि उनले टिकट पाएका थिए । कानुन पढेका उनी राजनीतिमा आउनुअघि कानुन व्यवसायी थिए । उनी सालिन युवा नेताका रूपमा परिचित छन् ।

Pushpa Kumari Chaudhary

पुष्पाकुमारी चौधरी, ३६, सप्तरी १रास्वपा उम्मेदवार ३६ वर्षीया पुष्पाकुमारी चौधरी सप्तरी १ बाट विजयी बनिन् । उनले ३८ हजार १ सय ९५ मत पाइन् । स्वाभिमान पार्टीका सुमित कुमार ७ हजार ८ सय ४७ मत पाएर उनीसँग पराजित भए । विजयी चौधरी कञ्चनरूप सप्तरीकी हुन् ।

Sushil Kumar Kanu

सुशीलकुमार कानु, ३६, पर्सा २मधेस प्रदेशको पर्सा २ बाट ३६ वर्षका सुशीलकुमार कानु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३० हजार ७ सय ४० मतसहित विजयी भए । निकट प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरे । पर्सा वीरगन्ज महानगरपालिका घडिअर्वाका कानुले कक्षा १२ सम्म अध्ययन गरेका छन् । उनीसँग सबैया साझेदारी वनको प्रतिनिधि, वीरगन्ज महानगरको कार्यपालिका सदस्य र वडाध्यक्षका रूपमा काम गरेको अनुभव छ । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका–१० को वडाध्यक्षमा निर्वाचित भएका थिए । यस पटक कानु पार्टी परिवर्तन गर्दै रास्वपाबाट संघीय निर्वाचनमा होमिएका हुन् ।

Kanhaiya Baniya

कन्हैया बनिया, ३६, रूपन्देही ४रूपन्देही ४ बाट ३६ वर्षीय रास्वपा उम्मेदवार कन्हैया बनिया विजयी भए । उनले २८ हजार ६६ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी प्रमोदकुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरेका छन् । बनिया लुम्बिनी प्रदेशका पूर्वसांसद हुन् । उनी २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही ४ (१) मा लोसपाबाट विजयी भएका थिए । प्रदेशसभाबाट राजिनामा दिएर उनी रास्वपा प्रवेश गरी उम्मेदवार बनेर विजयी भएका हुन् । उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।

Jagadish Kharel

जगदीश खरेल, ३६, दोलखा १३६ वर्षीय इन्जिनियर जगदीश खरेल दोलखा १ बाट निर्वाचित भए । रास्वपा उम्मेदवार उनले ३२ हजार ३ सय ७६ मत प्राप्त गरी पूर्वसञ्चारमन्त्री एमाले उम्मेदवार पार्वत गुरुङलाई हराए । गुरुङले १७ हजार ४ सय ४९ मत ल्याए । कालिञ्चोकका उनी रास्वपामा आबद्ध हुँदै उम्मेदवार बनेर विजयी बनेका हुन् ।

Hari Prasad Bhusal

हरिप्रसाद भुसाल, ३७, अर्घाखाँचीअर्घाखाँचीबाट ३७ वर्षीय हरिप्रसाद भुसालले संसद्को यात्रा तय गरेका छन् । उनले ३५ हजार २३ मत ल्याएर निकटतम प्रतिस्पर्धी एमालेका पीताम्बर भुसाललाई १२ हजार ३ सय ७४ मतान्तरले पराजित गरे । पीताम्बरले २२ हजार ६ सय ४९ र कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९ सय ८३ मत ल्याए । २०७४ मा हरिप्रसाद प्रदेशसभा १ मा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । विवेकशील छाडेर स्वतन्त्र बनेका भुसाल ०७९ मा अर्घाखाँचीमा रास्वपाबाट प्रतिनिधिसभाका उम्मेदवार थिए । त्यतिबेला ३ हजार २ सय मत ल्याएका थिए । रास्वपाले पुनः उनलाई उम्मेदवार बनाएको थियो । विद्यार्थी समयमै राजनीतिक बहस गर्ने उनी स्नातक तहमा अध्ययनरत छन् । केही समय काठमाडौं बसेर जिल्लामा फर्केर सन्धिखर्कमा पत्रकारिता गरेका थिए । उनी मिडिया सञ्चालक, लेखक र व्यवसायी हुन् ।

Prakash Pathak

प्रकाश पाठक, ३७, झापा ३झापा ३ बाट रास्वपाका युवा नेता ३७ वर्षीय प्रकाश पाठकले संसदीय राजनीतिको यात्रा प्रारम्भ गरेका छन् । पाठक झापा बाह्रदशी गाउँपालिका घाग्रा निवासी हुन् । लामो समय उनी पत्रकारितामा सक्रिय थिए । २०७९ मा पनि उनी यही क्षेत्रबाट निर्वाचन लडेर तेस्रो बनेका थिए । उनले ३ हजार ४ सय ६१ मत पाएका थिए । यसपटक उनी दोब्बरभन्दा बढी मत पाएर विजयी भए । यसपटक ३८ हजार ६ सय ७६ मत पाए । उनले अघिल्लोपटक हराउने राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गरे । लिङ्देनले १७ हजार २ सय ९४ मत पाए । कांग्रेसका राजेन्द्र घिमिरे ८ हजार १ सय ९९ मतसहित तेस्रो भए ।

Ashika Tamang

आशिका तामाङ, ३७, धादिङ १धादिङ १ बाट ३७ वर्षीया आशिका तामाङ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै छिन् । उनी ३९ हजार १ सय २८ मत प्राप्त गरेर विजयी भइन् । प्रतिस्पर्धी एमाले उम्मेदवार भूमि त्रिपाठीले १५ हजार ३२ मत पाए । गजुरीकी तामाङ कलाकारिता गर्दै सामाजिक अभियानमा जोडिएकी थिइन् । विमानस्थलको पार्किङ शुल्क, सार्वजनिक स्थलको फोहर, राजमार्गका होटलको मूल्यसूची लगायतका विषयमा उनले आवाज उठाउँदै आएकी थिइन् । उनी रास्वपाबाट उम्मेदवार बनेर विजयी भएकी हुन् ।

Prakash Gautam

प्रकाश गौतम, ३७, मकवानपुर १मकवानपुर १ बाट रास्वपा उम्मेदवार प्रकाश गौतम विजयी भए । हेटौंडाको कुमलटार निवासी उनले स्नातक गरेका छन् । ३७ वर्षीय गौतमले कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यायलाई पराजित गरेका हुन् । गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दा उपाध्यायले १४ हजार ३८ मत पाएकी थिइन् ।

Rabin Mahato

रबिन महतो, ३८, सर्लाही २सर्लाहीबाट रबिन महतोले ४२ हजार ५ सय १२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महिन्द्र राय यादवलाई ३३ हजार ९ सय ८९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पराजित यादवले ८ हजार ५ सय २३ मत ल्याएका छन् । महतोले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । उनी सर्लाही कविलासी नगरपालिकाका स्थानीय बासिन्दा हुन् ।

Dhanendra Karki

धनेन्द्र कार्की, ३८, सिन्धुली १सिन्धुली तीनपाटन गाउँपालिका आँपटारका धनेन्द्र कार्की १६ हजार ६ सय ५९ मत ल्याई प्रतिनिधिसभामा विजयी भएका छन् । एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल क्षेत्री (केसी) लाई ८ सय मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । कार्कीले बीएडसम्म अध्ययन गरेका छन् ।

Pukar Bam

पुकार बम, ३८, काठमाडौँ ४काठमाडौँ ४ बाट पुकार बम २९ हजार १ सय ४२ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८ सय २४ मत पाए । बमले विवेकशील साझा पार्टीबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । उनी सामाजिक र राजनीतिक चेतनामा सक्रिय युवा हुन् । २०७२ को महाभूकम्पपछि ‘विवेकशील नेपाली’का तर्फबाट देशभर राहत र उद्धार अभियानको नेतृत्व गरेका थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं १ बाट उम्मेदवार भएर पराजित भए । हाल उनी रास्वपाको केन्द्रीय सदस्य छन् । बमले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी जेनजी आन्दोलनको समर्थनमा सडकमा निस्केका थिए ।

Taufiq Ahmad Khan

तौफिक अहमद खान, ३८, रूपन्देही ५रूपन्देही ५ बाट रास्वपा उम्मेदवार तौफिक अहमद खान विजयी भए । ३८ वर्षीय उनले ३८ हजार ८ सय ६ मत पाए । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार खिमलाल भट्टराईले १३ हजार १ सय मत पाए । सिद्धार्थनगर नगरपालिकाका अहमद खानले एमबीए गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रणनीतिक सल्लाहकार भएर काम गरेका खान वातावरणीय तथा कार्बन नीतिका जानकार मानिन्छन् । स्थानीय संस्था ग्रिन युथ फाउन्डेसनका सल्लाहकारसमेत रहेका उनी वातावरण र नगर विकासमा सक्रिय थिए ।

Kamal Subedi

कमल सुवेदी, ३८, दाङ ३राजनीतिशास्त्रमा एमए गरेका ३८ वर्षीय कमल सुवेदी दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४४ हजार २ सय ४८ मत पाए । प्रतिस्पर्धी कांग्रेसका दीपक गिरीले १६ हजार ४ सय ५३ मत ल्याए । दंगीशरण गाउँपालिकाका सुवेदी २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार भएर गिरीसँगै पराजित भएका थिए ।

Kshitij Thebe

क्षितिज थेवे, ३८, ताप्लेजुङताप्लेजुङबाट एमाले उम्मेदवार क्षितिज थेवे संघीय संसद्मा निर्वाचित भएका छन् । ३८ वर्षीय उनी १३ हजार ९ सय ६२ मत पाएर विजयी बनेका हुन् । प्रतिस्पर्धी कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बुले ११ हजार ७ सय ११ मत पाए । एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट थेवेले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । अनेरास्ववियुपछि युवा संघको केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष हुँदै दुईपटक केन्द्रीय अध्यक्षको जिम्मेवारी पाए । एमालेको प्रदेश कमिटी सदस्य हुँदै पछिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

Sandip Rana

सन्दीप राना, ३८, पाल्पा १पाल्पा १ बाट कांग्रेस उम्मेदवार सन्दीप राना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ संसदीय राजनीतिक यात्रामा प्रवेश गरेका छन् । ३८ वर्षीय रानाले १८ हजार ३ सय ६३ मत पाए । उनका प्रतिस्पर्धी एमालेका नारायण आचार्यले १६ हजार ८ सय १९ मत ल्याए । राना पाल्पा रामपुरका स्थायी बासिन्दा हुन् ।

Dipakaraj Bohara

दीपकराज बोहरा, ३८, कञ्चनपुर २कञ्चनपुर २ बाट निर्वाचति दीपकराज बोहरा रास्वपाको स्थापनाकालदेखि नै सभापति रवि लामिछानेनिकट थिए । ३८ वर्षीय बोहराले ३३ हजार ९ सय ५२ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका एनपी साउद १० हजार ८ सय २७ मत प्राप्त गरेर पराजित भए । डडेलधुराका बोहराले कक्षा १० सम्मको अध्ययन गरेका छन् ।

Rajeev Khatri

राजीव खत्री, ३९, भक्तपुर २भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा राजीव खत्री निर्वाचित भएका छन् । पत्रकार पृष्ठभूमिका खत्रीले रास्वपाबाट उम्मेदवार बन्दै ४२ हजार मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत पाए । भोजपुरमा जन्मेका खत्री दुई महिनाअघि मात्र टेलिभिजन प्रस्तोताबाट रास्वपामा प्रवेश गरेका थिए । उनले स्नातक तहसम्म अध्ययन गरेका छन् ।

Sushil Khadka

सुशील खड्का, ३९, बाग्लुङ १बाग्लुङ १ का ३९ वर्षीय सुशील खड्का रास्वपा उम्मेदवार हुन् । उनी २० हजार ९ सय २७ मत ल्याएर विजयी बने । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९ सय ४४ मत पाए । स्नातकोत्तर उनी रिसाइक्लिन (ओभ्नी भेन्चर्स) संस्थाका संस्थापक, ओभ्नी दिगोपना केन्द्रको संस्थापक, हरित लगानी प्रवर्द्धक संस्थाको व्यवस्थापक फ्रेन्चाइज विकास तथा व्यवस्थापनको संस्थापक हुन् ।

Bipin Kumar Acharya

विपिनकुमार आचार्य, ३९, दाङ २दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विपिनकुमार आचार्यले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरे । आचार्य रास्वपा स्थापनाकर्तामध्येका एक हुन् । हाल सहमहामन्त्री छन् । यसअघि उनले ग्यालेक्सी टेलिभिजनमा क्रियटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए । त्यसअघि विभिन्न टिभी कार्यक्रम उत्पादन गर्थे । आचार्य ४३ हजार ५ सय ५९ मत ल्याई विजयी भए । एमाले महासचिव पोखरेलले १५ हजार २ सय ८७ मत पाए । दाङ तुलसीपुरका बासिन्दा आचार्यले स्नातकोत्तर पूरा गरेका छन् ।

Rahbar Ansari

रहवर अन्सारी, ३९, बारा ४बारा ४ बाट रास्वपा उम्मेदवार रहवर अन्सारी प्रतिनिधिसभामा विजयी भए । उनले ४१ हजार २ सय मत ल्याउँदै विजयी भएका हुन् । एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरे । अन्सारीले २०७९ देखि तत्कालीन माओवादी केन्द्रबाट राजनीतिक यात्रा थालेका थिए । त्यतिबेला पर्सा १ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भए । वीरगञ्जबासी उनले स्नातकोत्तर गरेका छन । उनी मधेस प्रदेशमा मन्त्रीसमेत भएका थिए । प्रदेशसभाबाट राजीनामा दिएर उनी रास्वपा प्रवेश गरेका थिए।

Rajan Gautam

राजन गौतम, ३९, नवलपरासी पूर्व १नवलपरासी पूर्व १ बाट रास्वपा उम्मेदवार राजन गौतम ५० हजार ९ सय ४५ मतका साथ प्रतिनिधिसभामा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत पाए । देवचुलीका गौतमले स्नातकोत्तर गरेका छन् ।

Jagat Prasad Joshi

जगतप्रसाद जोशी, ३९, कैलाली ३कैलाली ३ बाट रास्वपा उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भए । उनले २० हजार ३ सय ५९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत पाए । घोडाघोडी नगरपालिकाका जोशीले एमएसम्मको अध्ययन गरेका छन् । जनमोर्चाको राजनीति गरेका उनी रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।

Firdosh Alam

फिरदोश आलम, ३९, रौतहट २रौतहट २ बाट कांग्रेस उम्मेदवार फिरदोश आलम दोस्रो पटक सांसद निर्वाचित भएका छन् । ३९ वर्षीय उनले २९ हजार ५ सय २८ मत ल्याए । १८ हजार ४ सय ४२ मत ल्याएका नेकपाका किरणकुमार साहलाई उनले फराकिलो मतान्तरमा पराजित गरेका हुन् । २०७९ मा पनि आलम सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पेसाले उनी चिकित्सक हुन् । उनी कांग्रेस नेता आफताब आलमका छोरा हुन् ।

Lal Bahadur Thapa

लालविक्रम थापा, ३९, सुनसरी २सुनसरी २ बाट रास्वपा उम्मेदवार लालविक्रम थापा ५७ हजार ३ सय ४८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । सिभिल इन्जिनियरिङ पढेका उनी कलेज सञ्चालक हुन् ।

Sudan Gurung

सुदन गुरुङ, ३९, गोरखा १गोरखा १ बाट रास्वपाको उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका ३९ वर्षीय सुदन गुरुङ भारी मतान्तरमा निर्वाचित भएका छन् । उनले २९ हजार ८ सय ९६ मत प्राप्त गरे । उनका निकट प्रतिस्पर्धी कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत पाए । गुरुङ जेनजी आन्दोलनको नेतृत्वकर्तामध्येका एक हुन् । उनी आबद्ध हामी नेपाल नामक संस्थाले भदौ २३ गते माइतीघरमा आन्दोलन गर्न अनुमति लिएको थियो । गोरखा चुमनुव्रीका उनी भूकम्पलगायत विपद्को बेला राहत र उद्धारको काममा पनि सक्रिय रहँदै आएका थिए । उनले बालेन्द्र शाह र रवि लामिछानेलाई एक ठाउँमा ल्याउनसमेत भूमिका खेलेका थिए ।

Khadka Bahadur Budha

खड्कबहादुर बुढा, ४०, जाजरकोटजाजरकोटबाट कांग्रेस उम्मेदवार ४० वर्षीय खड्कबहादुर बुढा विजयी भएका छन् । उनले २० हजार १ सय ४२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले १७ हजार ४ सय ७ मत पाए । विजयी बुढा २०७४ मा शिवालय गाँउपालिकाको अध्यक्ष थिए । उनी कांग्रेस जाजरकोटको कार्यवाहक सभापति पनि हुन् ।

Krishna Kumar Karki

कृष्णकुमार कार्की, ४०, मोरङ २मोरङ २ बाट रास्वपाको उम्मेदवार बनेर कृष्णकुमार कार्की विजयी भएका छन् । ४० वर्षीय कार्कीले पहिलो पटक संसद्को यात्रा थालनी गरेका हुन् । कृष्णकुमारले ४० हजार ९ सय २४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले १५ हजार ६ सय २४ मत प्राप्त पाए ।

Ganesh Karki

गणेश कार्की, ४०, मोरङ ३रास्वपा उम्मेदवार गणेश कार्की संघीय सांसदमा निर्वाचित भएका छन् । ४० वर्षीय कार्कीले पहिलो पटक संसद्को यात्रा थालनी गरेका हुन् । जेनजी आन्दोलनमा सक्रिय कार्कीले ३६ हजार ९ सय २४ मत पाए । उनले मेडिकल व्यवसायीसमेत रहेका कांग्रेस उम्मेदवार सुनिल शर्मालाई पराजित गरेका हुन् । २४ हजार ३ सय ५४ मत पाएका शर्मा २०७९ का निर्वाचित सांसद हुन् । विजयी गणेश चलचित्र लेखक पनि हुन् । उनले बालेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउन प्रचारप्रसार गरेका थिए । उनी रास्वपाको संस्थापक केन्द्रीय सदस्य हुन् ।

Pramod Kumar Mahato

प्रमोदकुमार महतो, ४०, महोत्तरी १महोत्तरी १ बाट ३४ हजार ६ सय ३६ मतसहित रास्वपा उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् । पूर्वमन्त्री तथा नेकपा उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६ सय २४ मत प्राप्त गरे । एसएलसी पास महतो महोत्तरी गौशालाका स्थायीबासी हुन् ।

Paras Mani Gelal

पारसमणि गेलाल, ४०, उदयपुर १उदयपुर १ बाट ४० वर्षीय पारसमणि गेलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३० हजार ५ सय ९० मत ल्याएर निर्वाचित भएका हुन् । गेलालका निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ६ मत पाए । सुनसरीका गेलालले स्नातकोत्तर गरेका छन् ।

Gyanendra Singh Mahata

ज्ञानेन्द्र सिंह महता, ४०, कञ्चनपुर ३कञ्चनपुर ३ बाट रास्वपा उम्मेदवार ज्ञानेन्द्र सिंह महता विजयी भएका छन् । उनी २७ हजार १ सय १८ मत पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४ सय ४३ मत पाएका थिए ।

back to eKantipur