बागमतीमा रास्वपालाई प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ धेरै मत 

बागमती प्रदेश निर्वाचन आयोग कार्यालयका अनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ ।

फाल्गुन २९, २०८२

प्रताप विष्ट

In Bagmati, the RSVP received more votes in proportional representation than in direct representation.

हेटौंडा — बागमती प्रदेशमा रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिकतर्फ धेरै मत पाएको छ ।

बागमती प्रदेश निर्वाचन आयोग कार्यालयका अनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ । यो प्रदेशमा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । ३३ वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो ।

त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । २ क्षेत्रमा पराजित हुन पुगे । सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल र रसुवामा कांग्रेसका मोहनप्रसाद आचार्य विजयी भएका छन् ।

रास्वपाका सबै उम्मेदवारले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिकतर्फको मतभन्दा कम हो ।

बागमती प्रदेशमा रास्वपाले समानुपातिकतर्फभन्दा प्रत्यक्षमा कम मत पाउँदा कांग्रेस र एमालेको अवस्था ठीक उल्टो छ । कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारहरूले पाएको कुल मत ३ लाख ६७ हजार ४९१ छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ पाएको मत भने ३ लाख २१ हजार १०६ छ ।

एमालेको अवस्था पनि कांग्रेसको जस्तैं छ । एमालेका उम्मेदवारहरूले पाएको मत जोड्दा ४ लाख ८८ हजार ८६३ पुग्छ । तर, एमालेले यो प्रदेशबाट समानुपातिकतर्फ भने २ लाख ६१ हजार ८९७ मत पाएको छ । 

बागमतीबाट नेकपाले समानुपातिकतर्फ १ लाख ८८ हजार १८२ मत पाएको छ भने राप्रपाले समानुपातिकतर्फ ७६ हजार ५२१ र श्रम संस्कृति पार्टीले ३१ हजार ४९३ मत पाएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully