कञ्चनपुरका १८ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिसपत्र

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी हरिशचन्द्र जोशी भन्छन्-बैंक खाता खोल्नका लागि सिफारिस लिने क्रम जारी छ, आगामी दिनमा त्यो बढ्दै जाने अपेक्षा गरेका छौं ।

माघ २३, २०८२

भवानी भट्ट

18 candidates from Kanchanpur received recommendation letters to open bank accounts

What you should know

कञ्चनपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा बैंक खाता खोल्न १८ जना उम्मेद्वारले सिफरिसपत्र लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म उम्मेदवारी दिएका ५५ उम्मेदवारमध्ये १८ जनाले मात्रै निर्वाचन प्रयोजनाका लागि नयाँ बैंक खाता खोल्न सिफारिस लिएका हुन् ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्नेसहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्छ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कमको नगदै लेनदेन गरे पनि रसिदहरू भने दाखिला गर्नुपर्ने हुन्छ । 

‘बैंकमा खाता खोल्नका लागि सिफारिस लिने क्रम जारी छ, आगामी दिनमा त्यो बढ्दै जाने अपेक्षा गरेका छौं,’ जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीले भने, ‘अहिले हामी आचारसंहिताबारे उम्मेदवार र राजनीतिक दलहरूसँग अन्तरक्रियामै छौं ।’ उनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरूसँग आचारसंहिताबारे छलफल तथा अन्तरक्रिया गरेको बताए । उनका अनुसार शुक्रबार मात्रै कञ्चनपुर–१ को बेलौरीमा आचारसंहिताबारे अन्तरक्रिया गरिएको छ । 

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर–१ मा १९, २ मा १९ र ३ मा १७ गरी कूल ५५ उम्मेदवार छन् । उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि जुनसुकै बैंकमा पनि छुट्टै खाता खोल्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन कार्यालयले सिफारिस दिने गरेको छ । 

आयोगले निर्वाचनमा हुने खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन उम्मेदवार तथा राजनीतिक दलले प्राप्त गर्ने सहयोग र खर्च दुवै बैंकिङ प्रणालीबाट मात्रै गर्न पाउने व्यवस्था छ । कञ्चनपुरको हकमा उम्मेदवारहरूले २९ लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully