काठमाडौं-१० : भविष्य खोज्दै युवा विदेशमा, ‍अन्‍नपात खोज्दै बाँदर गाउँमा

नदीछेउका गाउँ, सिँचाइबिनाको जीवन

माघ २३, २०८२

सुरज कुँवर

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar village

What you should know

छैमले, काठमाडौं — काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० । फर्पिङ, दक्षिणकाली हुँदै अन्तिम गाउँ छैमले हुँदै चुरेतर्फ लम्किएपछि मात्रै यो निर्वाचन क्षेत्र सकिन्छ । उम्मेदवारहरू घर-घर त पुगिसकेका छैनन् तर मतदाता भने आफूले सुनाउने समस्याका सूची र सरोकारका बुँदा टिपेर बसेका छन् ।

मतदाताका गुनासोका सूची लम्बेतान छ- छेउमै बगेको बागमतीको पानी सिँचाइका लागि प्रयोग नभएकोदेखि किसानका उत्पादनले बजारभाउ नपाएको मर्कासम्म । 

दक्षिणकाली मन्दिर कटेपछि घुम्तीपर्तिर छैमलेको मूल सडकछेउ बुधबार भेटिए ८० वर्षीय घननाथ चापागाईं । उनले सुनाए, 'बागमती खेर गएको देख्दा मन रुन्छ बाबु । किसानका खेतमा माटोका डल्ला पानी नपाएर सुकेका छन् । सिँचाइ योजना हुन्थ्यो भने यो हिउँदमा खेत बाँझै कहाँ रहन्थे र ?'  

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar village

२०४८ सालमा यो भेग क्षेत्र नम्बर ५ मा पर्थ्यो । त्यतिबेला यहाँबाट निर्वाचित भएका थिए, मदन भण्डारी । यही क्षेत्रले २०६४ को संविधानसभा निर्वाचनमा भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर पठायो । २०७९ सम्म यो क्षेत्रले सातवटा निर्वाचन देखिसकेको यो क्षेत्रका गुनासा र सरोकार भने प्रत्येक निर्वाचनमा फेरिँदा छन् ।  निर्वाचन क्षेत्र थपघट हुँदा यो क्षेत्र २०४८ को आम निर्वाचनमा ५ नम्बर थियो । २०५१ र २०५६ मा भएका प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र ७ नम्बरमा पर्‍यो । २०६४ मा गठित संविधान सभाको निवार्चनदेखि यो क्षेत्र १० नम्बरमा परेको थियो ।

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar village२०४६ को प्रजातन्त्रपछि यहाँ बेनिस्सा जग्गाको ठूलो समस्या उठ्यो ।  बाटोघाटो, बत्ती र खानेपानीको समस्या ठूलै थियो । अहिले बाटो राम्रै छ, घर-घरमा बिजुली पुगेको छ । धेरै जग्गावालले पुर्जा पनि पाइसकेका छन् । खानेपानी र सरसफाइका लागि पँधेरामा गाग्री थाप्नुपर्ने बाध्यता लगभग हटेको छ । तर चौबीसै घण्टा निरन्तर बग्ने खानेपानी र सिँचाइको मुद्दाले काठमाडौं क्षेत्र नम्बर १० को चुनावी बहसलाई दिशा दिइरहेको छ ।

अधिकांश मतदाताले घननाथजस्तै सिँचाइको समस्या नै सुनाए । अनि धेरैजसो मतदाताले यसपाला मत बदल्ने सोच बनाइरहेको सुनाए । घननाथले भने, 'यसपालि मत बदल्ने निर्णय गरेको छु बाबु ।'

छैमले राम्चेका विश्वनाथ आचार्य पनि ‘पुराना’ नेतासँग वाक्कदिक्क देखिए । ‘प्रजातन्त्र र लोकतन्त्रमा विकास नभएकै भन्न मिल्दैन,’ स्थानीय पसलमा ‘चिनी कम, रङ कडा’ चिया अर्डर गर्दै आचार्यले भने, ‘बारी नभएकालाई हाते ट्याक्टर बाँडियो । वस्तु नपाल्नेलाई पशु फार्म दिइयो । वास्तविक किसानले बेलैमा मलखाद, बीउ, बजार पाउन सकेनन् ।’

छैमले नास्पती, लप्सी, काँक्रो र फर्सीका लागि उर्बर भूमि हो । तर किसान भने बिचौलियाबाट प्रताडित छन्, उचित बजार भाउ पाउँदैनन् । विषादीको प्रयोग अत्यधिक छ । श्रीकृष्ण माविबाट अवकासप्राप्त शिक्षक आचार्य यी समस्या राजनीतिक रूपमै समाधान हुनुपर्ने बताउँछन् । 

बजार नजिकै भएर पनि कृषि, पशुपालन तथा कुखुरापालनमा लागेका किसान खुसी छैनन् । छैमले, शीतलचोकका बाबु तामाङ त्यस्तै दु:खेसो पोख्छन् । ‘दुई लट कुखुरा हालेको । दुई लाख फस्यो । एउटा किसानका लागि २ लाख धेरै ठूलो लगानी हो ।’ 

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar villageखेतीकिसानीले जीवन नउक्सिएपछि मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आइरहेका बाबुले भने, ‘बोराको २५ सयमा पाइने कुखुराको दाना ५ हजार मोल भइसक्यो । तर हामी कुखुराको मूल्य २ सय रुपैयाँमा वर्षौंदेखि बिक्री गरिरहेका छौँ । अनि किसान कसरी टिक्छ ? लगानी नै उठ्दैन ? बजार पूरै बिग्रिएको छ । सुधार्ने योजना चाहियो ।’

१२/१३ रोपनी पाखो बारी छ बाबुको । सिँचाइ त छैन नै, खानेपानी सेवामा पनि सन्तुष्ट छैनन् उनी । ‘बिजुली ठाउँ-ठाउँमा पुग्यो । बिजुलीमा कम्प्लेन छैन । तल बागमतीको पानी हाम्रो गाउँसम्म ल्याउन पनि समस्या होला रे ! तर खानेपानी त २४ घण्टा बाँड्न सकिन्छ होला नि ? कम्तीमा खानेपानी भए करेसाबारीमा तरकारी फल्थे,' उनी भन्छन् ।

किसान नै दोहोरो मारमा पर्ने गरेको उनी सुनाउँछन्, 'बर्खामा किसानले काउली ६/७ रुपैयाँ किलोमा बेच्नुपर्छ, तर त्यही काउली हिउँदमा हाम्ले नै सय रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।' बर्खामा उत्पादन हुने तरकारी जोगाउन कोल्ड स्टोर अनिवार्य रहेको उनी बताउँछन् । 'भनेको बेलामा बीउ, मल, पानी चाहियो । अनि पो बेरोजगारी हट्छ । नभए गाउँ खाली भइरहेको छ । बाँदर देखिन थाले । पढेलेखेका युवालाई कसरी रोक्ने गाउँमा ? के छ यहाँ ?,' उनी भन्छन् । 

हरेक दिन विदेश जान भिसाका लागि दक्षिणकाली नगरपालिकामा सिफारिस लिन आउनेको संख्या बाक्लै छ । नगरपालिका प्रवक्ता तथा वडा नम्बर-९ टल्कु डडुचौरका अध्यक्ष अमृका बलामी रोजगारीका अवसर बढाउन नसकिए यो संख्या अझै बढ्ने सुनाए । ‘गाउँमा डिग्रीहोल्डर धेरै भए । क्षमता अनुसार उनीहरूलाई रोजगारीमा जोड्न सकिएन,’ बलामीले भने,‘युवा गाउँ छाडेर कि त सहर कि त विदेश पलायन हुन थाले । गाउँमा तरकारी खेती महिलाको भागमा फलफूल वृद्धवृद्धाको भागमा भयो ।’

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar village

दक्षिणकालीबाट प्रदेश राजधानी हेटौंडा जोड्ने दुईटा सडक छन् । दुवै कालोपत्र छन् । बल्खु हुँदै जाने यो बाटो भएर दैनिक १२ सय हाराहारी सवारी साधान गुड्छन् । जसमा २ सय जति भारतीय नम्बरप्लेट भएका, ४ देखि ५ सय सम्म भाडाका जिप र ४ सय हाराहारी निजी सवारी साधन गुड्ने गरेको प्रवक्ता बलामीले बताए ।

भाडाका साना सवारी साधन र निजी सवारी साधनमा विदेश जाँदै गरेका वा विदेशबाट फर्केर आएका यात्रुको संख्या कमी छैन । दक्षिणकाली नगरपालिकाले यत्रो संख्यामा गुडिरहेका सवारी साधनलाई कतै झरना देखाउने, कतै राम्रा स्तरीय खाजा खाना खुवाउने निजी क्षेत्रका होटल, रिसोर्ट स्थापना भइदिए हुन्थ्यो भनेर चाहना गरिरहेको छ ।

‘यो बाटोमा तीव्र गतिमा सवारी साधन गुड्न थाले । बरु एक घण्टा ढिलो होस्, यात्रुहरू आराम गर्दै यात्रा गर्न पाऊन् । अहिले इलेक्ट्रिकल गाडी पनि धेरै देखिन थाले । चार्जिङ स्टेसन पनि आवश्यक छन् । तराई जोड्ने यो वैकल्पिक नाका भएकाले संघिय सरकारले सडक र चार्जिङ स्टेसनबारे ठूला योजना ल्याउनुपर्ने देखिन्छ ।’

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar villageदक्षिणकाली जस्तै कीर्तिपुरमा पनि खानेपानीको समस्या छ । मेलम्चीको पानी वितरण गर्ने योजना सम्पन्न भइसकेको छैन । ‘हाम्रो नगरपालिका मेलम्चीको पानी वितरण गर्ने योजना अघि बढिरहेको छ । तर कीर्तिपुरका  नगर प्रमुख कृष्णमान डंगोलले भने, ‘यहाँको मुख्य समस्या अस्पतालको हो । १५ शय्याको अस्पताल हामीलाई चाहिएको छ, पाएका छैनौँ ।’

कीर्तिपुरका भित्री सडक लगभग कालोपत्र भइसके । सडकको विस्तारसँगै पुतलीसडक, बागबजारतिर कोरियन र जापानिज भाषा सिकाउने भाषा केन्द्र गाउँगाउँ भित्र पस्दैछन् । ‘यसले के संकेत गरेको हो?’ कान्तिपुरको प्रश्नमा नगरप्रमुख डंगोलले भने, ‘कीर्तिपुरका पर्यटकीय सम्भावना भएको नगर हो । तर युवाहरू बेराजगार भएर बाहिर जान थाले ।’

कीर्तिपुरमा उहिले जस्तो खेती किसानी रहेन । जग्गा प्लटिङ भएर बिक्री भई सकिए । स्थानीयको अन्य आम्दानी छैन । १० मध्ये ५ वटा वडा रिङरोडभित्र थुम्कोमा छन् । ‘नगरपालिकाले अहिले वृद्धवृद्धाका लागि सुगर, प्रेसरको औषधि वितरणको योजना ल्याएका छौँ । कतिपयलाई इन्सुलिन दिनुपर्छ । घरमा युवा छैनन् । युवालाई रोक्ने भनेको पर्यटनबाटै हो । तर सरकारको नीति, योजनाले पनि साथ दिनुपर्छ । नगरपालिकाले मात्रै एक्लै गरेर नसकिने रहेछ,’ मेयर डंगोलले भने । 

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar villageकाठमाडौं क्षेत्र नम्बर १० को पश्चिम नाकामा पर्छ नागढुंगा । यो नाकाबाट दैनिक १० देखि १२ हजार सवारी साधन ओहोरदोहोर गर्छन् । यसैक्रममा थानकोटमा भेटिए कृष्णप्रसाद खड्गी, जो वडा नम्बर ४ का अध्यक्ष पनि हुन् । ‘पछिल्ला दिन स्थानीयका समस्या के हुन् ?,’ कान्तिपुरको प्रश्नमा उनले भने, ‘अहिलेका जनतालाई मोबाइलमा जस्तो सेवासुविधा हातोहात चाहिएको छ । फ्याट्टै हुनुपर्‍यो । तर सरकारी कार्यालयमा कर्मचारीले समयमै काम गर्दैनन् ।’ 

चन्द्रागिरि नगरपालिकाको तथ्यांकअनुसार यहाँ ३६ हजार घरधुरी र डेढ लाख जनसंख्या छ ।  कीर्तिपुरमा जस्तै प्लस टू सकेर विदेश अध्ययन गर्न सिफारिस लिन नगरपालिकामा दैनिक १५/१६ जना पुगेकै हुन्छन् । ‘चुनावमा मत माग्न आउने दल तथा नेताले रोजगारी र सुशासनलाई प्राथमिकता दिनुपर्छ,’ खड्गीले भने । 

चन्द्रागिरिको सीमावर्ती वडा हो २ नम्बर, पहिलेको वाणभञ्ज्याङ गाविस । वडाध्यक्ष भाइकृष्ण तामाङ दैनिक १०-१५ जना विद्यार्थीका लागि भिसा प्रक्रियाका कागजातमा हस्ताक्षर गर्छन् । रोजगारीको अवसर नै नभएकाले विद्यार्थी पलायन भइरहेको बताउँछन् उनी । ‘मेरो वडामा बाहिरबाट बसाइँसराइ गर्ने छैनन्,’ उनले भने,‘तर यही भएका युवालाई गाउँमै टिकाउन सकिएको छैन ।’ नागढुंगा मूल नाका नजिकै रहेकाले पनि उद्योगहरू स्थापना भए जागिरका लागि बिदेसिने क्रम रोकिन सक्ने स्थानीयको बुझाइ छ । 

काठमाडौं क्षेत्र नम्बर १० मा कीर्तिपुर र दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकाका २ देखि ११ वडा पर्छन् ।दक्षिणकालीको जनसंख्या ३५ हजार, कीर्तिपुरको जनसंख्या ८२ हजार र चन्द्रागिरिको डेढ लाख हाराहारी रहेको छ । सम्पदा र पर्यटनको सम्भावना बोकेको काठमाडौं क्षेत्र नम्बर १० मा यस पटक २५ जना उम्मेदवार प्रतिनिधिसभाको चुनावी मैदानमा छन् । १० स्वतन्त्र र १५ राजनितिक दलका प्रतिनिधि उम्मेदवार बनेका छन् । यीमध्ये ५ जना महिला छन् । काठमाडौं-१० मा ४७ मतदानस्थल र ९८ मतदान केन्द्र छन् । 

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar villageकाठमाडौं-१० मा एमालेले ६१ वर्षीय विनोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ श्रमिक राजनीतिक पृष्ठभूमिबाट आएका नेता हुन् । उनको प्राथमिकता पदभन्दा पनि सेवा र सामाजिक रूपान्तरण रहेको छ । उनले संविधानको मर्मअनुसार सामाजिक न्याय, समानता, अवसरको विस्तार स्थानीय समस्याको व्यवहारिक समाधानका लागि पहल गर्ने बताए ।

काठमाडौं-१० मा ह्याट्रिक गर्ने कांग्रेस नेता राजेन्द्रकुमार केसी (राजन) ले भने संसदीय राजनीतिबाट बिदा लिएका छन् । केसीले बाटो खाली गरिदिएपछि कांग्रेसले ५५ वर्षीय हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । कार्कीको चुनावी मुद्दा छ-स्वरोजगार । ‘केही दिनमा घोषणापत्र आउँदै छ । त्यसलाई स्थानीय तहमा जोड्दै यहाँका समस्या र एजेन्डालाई जोडेर मतदातामाझ जाने छौँ,’ शुक्रबार बिहान र्कीतिपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गरेर निस्किँदै गरेका कार्कीले कान्तिपुरसँग भने ।  

नेकपाकी उम्मेदवार ४५ वर्षीया रूपा महर्जन स्थिरता, सुशासनमा काम गर्न चाहन्छिन् । ‘सुशासन, भ्रष्टाचार हाम्रो एजेन्डा हो नै,’ चन्द्रागिरिको सतुंगल घर भएकी रुपाले भनिन्, ‘जनतामाझ देश र संविधानको रक्षा गर्नु पर्ने दायित्वबारे पनि बोध गराइरहेकी छु ।’

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar villageरास्वपाले कीर्तिपुर दूधपोखरीका प्रदीप विष्टलाई उम्मेदवार बनाएको छ । उनी कुनैबेला कांग्रेसको युवा दस्ता तरुण दलका नेता पनि थिए । यस क्षेत्रका समस्या र एजेन्डाबारे ब्लू प्रिन्ट निकाले योजनामा छन् । ‘काठमाडौं क्षेत्र नम्बर १० धेरै ग्रामीण भूभाग हो । यहाँका जनता बिहान उठेदेखि बेलुकी सुत्दासम्म समस्या झेलिरहेका छन् । त्यसैले मैले विज्ञटोली बनाएर तत्काल के गर्न सकिन्छ । दीर्घकालीन रूपमा के गर्न सकिन्छ भनेर विज्ञहरूको सचिवालय बनाइरहेको छु ।’

०६४ सालको संविधानसभा चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा र काठमाडौं-१० दुवै क्षेत्रमा विजयी भएका थिए । उनले केसीलाई नै हराएका थिए ।  ०७० मा भने केसीले दाहालसँग ०६४ को बदला लिए । 

लालकिल्ला भनेर चिनिने काठमाडौं-१० मा ०७४ मा भने दाहाल लडेनन् । ०७४ र ०७९ को चुनाव पनि जित्दै केसीले ह्याट्रिक गरेका थिए । ०४८ मा मदन भण्डारीले काठमाडौं-१ र ५ मा चुनाव जितेका थिए । उनले क्षेत्र नम्बर ५ छाडेपछि त्यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि एमालेकै कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए ।

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar villageत्यस्तै ०५१ को आम निर्वाचनमा पनि कृष्णगोपाल श्रेष्ठ नै दोस्रोपटक यस क्षेत्रबाट चुनिएका थिए । ०५६ को आम निर्वाचनमा भने कांग्रेसका तीर्थराम डंगोलले श्रेष्ठलाई हराएका थिए ।

गाउँमा यतिबेला चुनावी गफगाफ र किस्सा चलिरहेका छन् । तर सबै दलका नेता अझै गाउँको ढोकासम्म आइपुगेका छैनन् । दक्षिणकाली–भञ्ज्याङमुनि नेपालको पहिलो फर्पिङ पावर हाउसको ड्यामछेउको चौरमा सेतीदेवी मावि, सोखेलका शिक्षक रवि केसी विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप गराइरहेका थिए । बागमतीको काखमै बसेको यो पावर हाउसले आज पनि बिजुली निकालिरहेकै छ । तर केसीको चिन्ता उज्यालोभन्दा पर छ- सुक्दै गरेका पानीका मुहान र क्रमशः रित्तिँदै गएका गाउँले उनको मनमा भारी बनेर बसेको छ ।

Kathmandu-10: Youth seeking future abroad, seeking food in Bandar village३७ वर्षदेखि शिक्षण पेसामा रहेका, ५७ वर्षीय केसी स्थानीय मात्र होइन, यस भेगका बुद्धिजीवीका रूपमा चिनिन्छन् । उनी भन्छन्, ‘यहाँ समस्या धेरै छन् । धेरै ठूला नेताले यहीँबाट चुनाव लडे । तर धेरैजसो पर्यटक झैं आए-गए । यसपटक भने गाउँलेको मन बदलिएको छ । अब काम गर्ने, दुःख पर्दा जनताको साथ दिने नेता खोजी हुँदै छ ।’

कक्षाको घण्टी बज्नै लाग्दा उनले थपे, ‘किसान फराकिलो सडक, बजार, समयमै मलखाद, बीउ, सिँचाइ, कुलो, पानी र आफ्नै उत्पादनको उचित मूल्य खोजिरहेका छन् । यी माग सम्बोधन गर्नेले भोट पाउनेछन् । जितेपछि फोन नउठाउनेलाई अब भोट दिँदैनौं ।’

यति भन्दै उनले चौरमा फुटबल खेलिरहेका केटाकेटीलाई कक्षा भवनतिर लाइनमा लगाए । हिँड्दै गर्दा उनको स्वर झन् गह्रौं बन्यो । भने, ‘सबैभन्दा ठूलो चिन्ता त गाउँमा युवा छैनन् । घर खाली हुँदैछन् । कोही सहर पसे । कोही विदेश । खेत बाँझै छन् । कालीकोटमा मान्छे यहाँ आएर जग्गा भाडामा लिएर खेती गर्न थालेका छन् । तर यहाँ पनि बाँदर बढ्न थालेका छन् । पाकेको अन्नपात जोगाउनै मुस्किल छ ।

यही चिन्ताको भारी बोकेर रवि केसी नेपालको पहिलो विद्युत् उत्पादन गृहको चौर छाड्दै विद्यार्थीहरूसँगै कक्षाकोठातर्फ लागे ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully