सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको र आफूले दर्ता गराएको उम्मेदवारीको विषयमा आफूलाई जानकारी नै नगराई एकलौटी प्रतिनिधि छनौट गरेकाले पार्टी परित्याग गरेको चन्दले बताए ।
बैतडी — बैतडीमा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष एवम् एमाले सुदूरपश्चिम प्रदेश सल्लाहकार समिति सदस्य गोरखबहादुर चन्दले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको र आफूले दर्ता गराएको उम्मेदवारीको विषयमा आफूलाई जानकारी नै नगराई एकलौटी प्रतिनिधि छनौट गरेकाले पार्टी परित्याग गरेको चन्दले बताए ।
‘पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाको विरोध गर्दा नै प्रतिनिधिमा मलाई छनौट गरेन,’ उनले भने, ‘निरंकुश नेतृत्वविरुद्ध आवाज उठाए तर सकिनँ ।’ एमाले बैतडीले शनिबार १५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिसकेको छ । चन्दले २०४७ सालमा पार्टीको सदस्यता लिएका थिए । चन्द २०७४ र २०७९ सालमा एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्ष चन्द जिल्लाको प्रदेश २ क्षेत्रका लोकप्रिय नेता मानिन्छन् । २०७४ सालमा चन्दकै सक्रियतामा प्रदेश २ क्षेत्रमा एमाले जितेको थियो भने २०७९ मा एमालेका उम्मेदवार हारेका थिए । एमालेका उमेदवारलाई चन्दले असहयोग गरेकाले हारेको भन्दै एमाले जिल्ला कमिटी बैतडीले कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको थियो । तर प्रदेश कमिटीले कारबाही गरेको थिएन ।
अध्यक्ष चन्दले वारिसनामा दिएर उम्मेदवारी दर्ता गरेको भए पनि समयसीमाभित्र छलफलमा नआई चन्दकै वारिसनामा दिने व्यक्तिले उम्मेदवारी फिर्ता लिएपछि उनी छनौट नभएको एमाले निर्वाचन समिति बैतडीका संयोजक दानसिंह कार्कीले बताए ।
चन्दले पार्टी परित्याग गरेको जानकारी लिखित रुपमा जिल्ला कमिटीमा नआएको एमाले बैतडी अध्यक्ष नरेश विकले बताए ।
