कञ्चनपुरको भीमदत्तमा ५५ प्रतिशत मतदान, आजै मतगणना गर्ने तयारी

मंसिर १६, २०८१

भवानी भट्ट

55 percent voting in Kanchanpur's Bhimdutta, preparation for counting today

कञ्चनपुर — स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाध्यक्षका लागि भएको निर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २ हजार ९ सय ९१ जनाले मतदान गरेका हुन् ।

जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार १ हजार ३ सय ८५ पुरुष र १ हजार ६ सय ६ महिलाले मतदान गरेका छन् । उक्त वडामा ५ हजार ४ सय ३४ मतदाता छन् । 

वडाध्यक्षका लागि राजनीतिक दलबाट १० र स्वतन्त्र २ गरी १२ जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको एक वर्षअघि मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको हो । 

मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले सर्वदलीय बैठक बसेर आइतबारदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको बताए । मतपेटिकाहरू गणनास्थलसम्म पुर्‍याइसकिएको र सर्वदलीय बैठकको तयारी भइरहेको उनले बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully