चुनाव वडाध्यक्षको, प्रतिष्ठा सांसदको

वडाध्यक्षको चुनावी प्रचारमा केन्द्रीयस्तरकै नेताहरू सक्रिय, आचारसंहिताअनुरूप अनुमति नलिई जनप्रतिनिधिहरू पनि प्रचारमा

मंसिर १२, २०८१

भवानी भट्ट

The election of the ward president, the reputation of the MP

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि आगामी आइतबार मतदान हुँदै छ । यहाँ वडाध्यक्षको निर्वाचन भए पनि पूर्वमुख्यमन्त्रीदेखि वहालवाला मन्त्री र प्रदेशसभा सदस्यका लागि प्रतिष्ठाको लडाइँ बनेको छ । केही दिनयता आ–आफ्नो दलका उम्मेदवारको प्रचारमा नेताहरू सक्रिय छन् । 

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको गत वर्ष मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि भीमदत्त–६ मा उपनिर्वाचन हुन लागेको हो । यो सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिमकै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापा, पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्वपर्यटन तथा संस्कृतिमन्त्री माया पन्तको वडा हो । 

उनीहरू चारै जना वहालवाला प्रदेश सांसदसमेत हुन् । पूर्वमुख्यमन्त्री रावल एमाले, मन्त्री थापा कांग्रेस, पूर्वमन्त्री रावल र पन्त एकीकृत समाजवादीका नेता हुन् । उक्त वडा गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र पनि हो । ‘यो साँच्चै प्रतिष्ठाको लडाइँ नै हो, एउटै वडाबाट प्रदेशसभामा चार सांसद हुनुहुन्छ,’ एमाले कञ्चनपुरका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी संयोजक जनकराज अवस्थीले भने ।

भीमदत्त–६ मा एमालेले स्थानीय शान्ति निकेतन माविमा लामो समय शिक्षण गरेर अवकाश भएका बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । यो वडामा ०७४ मा एमालेबाट हर्कसिंह धामी विजयी भएका थिए । उनी अहिले एकीकृत समाजवादीमा छन् । एकीकृत समाजवादीले अहिले जितेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले विद्यार्थी राजनीतिबाट आएका प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ । एमाले उम्मेदवार बहादुर कांग्रेस उम्मेदवार प्रकाशका काका हुन् । ‘हामीले पहिले जितेको वडा भएकाले पनि फेरि हाम्रो जित निश्चत छ, महेन्द्रजीले अधुरा छोडेका काम पूरा गर्न पनि हामीले जित्नुपर्छ,’ कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले भने, ‘कांग्रेसका उम्मेदवार समाजमा निष्कलंक हुनुहुन्छ ।’ 

माओवादी केन्द्रले यस वडामा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । उनी लामो समयदेखि दलित समुदायको उत्थानमा लागेका कराण जित निश्चित भएको माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेयको दाबी छ । उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाई उम्मेदवार बनाएको छ । वडाध्यक्षका लागि १० राजनीतिक दल र २ स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दिएका छन् । वडामा ५ हजार ४ सय ३४ मतदाता छन् । 

निर्वाचन आयोगले स्थानीय तहदेखि प्रदेश र संघका जनप्रतिनिधि तथा सरकारका प्रतिनिधिलाई प्रचारप्रसारमा रोक लगाए पनि यहाँ आचारसंहिताअनुरूप अनुमति नलिई जनप्रतिनिधिहरू पनि प्रचारमा छन् । ‘प्रमाणसहित उजुरी आए कारबाही हुन्छ,’ मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले भने, ‘अहिलेसम्म कसैका विषयमा पनि उजुरी परेको छैन ।’ उनले केही मौखिक उजुरी आएको र त्यसलाई मौखिक रूपमै सच्याउन सचेत पारिएको बताए । 

स्थानीय तह उपनिर्वाचन-२०८१उपनिर्वाचन-२०८१उपनिर्वाचन

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully