रुकुम पूर्व — रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा वडाध्यक्ष पदमा माओवादी उम्मेदवार सर्वसम्मत निर्वाचित भइसकेका छन् । पालिका उपाध्यक्ष पदमा भने कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा छन् ।
माओवादीले दिवंगत उपाध्यक्ष भूपेन्द्रा बुढाकी दिदी नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई कांग्रेसको समर्थनमा कांग्रेसकै चुनावचिह्नबाट उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीसहित चार जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएपछि बुढा र तुलाचनबीचमा मात्र प्रतिस्पर्धा भएको हो ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुँदै गरेको निर्वाचनमा उम्मेदवारलाई मत माग्दै कांग्रेस–एमाले गठबन्धन ।
वडा २ को अध्यक्षमा एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार सुकराज विकले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भएका हुन् । पालिका उपाध्यक्षको चुनावका लागि माओवादीले प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीको नेतृत्वमा पूर्वमन्त्री गणेशमान पुन, कमला रोका, दलजित सिर्पालीका साथमा जिल्ला तहका नेता–कार्यकर्तालाई परिचालन गरेको जिल्ला संयोजक कुमारी बरालले जनाइन् ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुँदै गरेको निर्वाचनमा उम्मेदवारलाई मत माग्दै माओवादी केन्द्र ।
कांग्रेस–एमालेको टोली पनि विभिन्न वडा तथा बस्तीमा भेटघाट गरिरहेको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व जिल्ला इन्चार्ज खेममान खड्काले बताए । एमाले–कांग्रेसको संयुक्त चुनावी प्रचारमा एमालेका खड्कासँगै नेता नन्दलाल शर्मा, जिल्ला अध्यक्ष लीलामणि गौतमलगायत छन् भने कांग्रेसका तर्फबाट जिल्ला सभापति केशरमान रोकाको नेतृत्वमा नेता–कार्यकर्ता खटिएका छन् ।
