उपनिर्वाचनमा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको सिफारिस

मंसिर ९, २०८१

कान्तिपुर संवाददाता

Recommendation of the commission to give public holidays at the local level concerned in the by-elections

काठमाडौँ — निर्वाचन आयोगले आसन्न उपनिर्वाचनमा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन सिफारिस गर्ने निर्णय गरेको छ ।आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन मतदान हुने दिन सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो । 

 '२०८१ मंसिर १६ गते आइतबार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने,' आयोगको निर्णयमा भनिएको छ ।

यस्तै मतदानस्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठादन वा अन्य सार्वजनिकस्थलहरू मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने आयोगले निर्णय गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अन्य प्रतिष्ठातनहरूलाई आह्वान गर्ने पनि आयोगले निर्णय गरेको छ । 

स्थानीय तह उपनिर्वाचन-२०८१

कान्तिपुर

Link copied successfully