दोलखा — गौरीशंकर हिमालसहित रोल्वालिङ हिमश्रृंखला, च्छो–रोल्पा हिमतालदेखि धेरै हिमाली गाउँ रहेको दुर्गम गौरीशंकर गाउँपालिकामा चिसो हृवात्तै बढेको छ । तर यहाँ अहिले हिमालको चिसोभन्दा मंसिर १६ मा हुने स्थानीय तह निर्वाचनको गर्मागर्मी बढी छ ।
जिल्लादेखि केन्द्रस्तरसम्म पहुँच बनाएका नेताहरुको जन्मथलो गौरीशंकर गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । चुनावका लागि जिल्लादेखि केन्द्रसम्मका नेताहरू गाउँमा छन् भने मतदानको मिति नजिकिँदा यहाँको चुनावी माहोल तातेको छ ।
पूर्वसूचना तथा संचारमन्त्री तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पार्वत गुरुङ, नेकपा माओवादीकी नेतृ तथा पूर्व राज्यमन्त्री देवी खड्का बहालवाला संघीय प्रतिनिधि सभाका सदस्य गंगा कार्की, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व वागमती प्रदेशका मन्त्री विशाल खड्का, निवर्तमान कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्का लगायतको पालिका हो गौरीशंकर ।
यहाँ कांग्रेसबाट विजयी भएका श्यामसुन्दर तामाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। जिल्लाको शक्ति केन्द्रको रुपमा रहेको गौरीशंकरमा दलहरुले स्थानीय तह निर्वाचनलाई जनताबाट हुने परीक्षण मात्र नभएर प्रतिष्ठाको विषय बनाएको मतदाता बताउँछन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको एमाले आफ्नो पुरानो विरात फर्काउन कसरत गरिरहेको छ । भने २०७९ मा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेर उपाध्यक्ष पद जितेको कांग्रेस त्यो पद नगुमाउने प्रयासमा छ ।
२०७९ को निर्वाचनमा गठबन्धन गरेर पालिकासहित ५ वडाअध्यक्ष जितेको माओवादी केन्द्र सत्तामा रहेका दलहरुलाई निर्वाचनमा पराजित गरेर शक्ति देखाउने होडमा छ । यस्तै, एकीकृत समाजवादी पनि चुनावी मैदानमा एक्लै होमिएर बलियो उपस्थिति देखाउने दौडमा छ ।
पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी विकट मानिएको पालिकामा ठूला भनिएका दललाई धक्का दिने गरी चुनावी अभियानमा छ । कांग्रेसले दिवगंत तामाङकी श्रीमती पासदिकी तामाङलाई उमेदवार बनाएर चुनावी अभियान थालेको छ ।
उसले विगतमा स्व. तामाङले उपाध्यक्ष हुँदा गौरीशंकरको विकासमा दिएको वचन पूरा गर्न र अधुरा काम पुरा गर्न भन्दै जनताको घर दैलो गरिरहेको छ । ‘आफ्ना श्रीमानको अधुरा काम परा गर्न उमेदवारी दिएर जनताको घरदैलो गरिरहेको छु,’ पासदिकीले भनिन्, ‘घर दैलाका क्रममा मतदाताले आफ्ना श्रीमानले गरेका वाचा सम्झाएका छन्, मैले सम्भव भएसम्म सबै पुरा गर्ने बाचा गरेको छु ।’
घरदैलोका क्रममा मतदाताले दिएको विश्वासका कारण उत्साहित बनेको उनले बताइन् । सडक, स्वास्थ्य र शिक्षामा पछाडि परेको गौरीशंकर विकासले पनि निकै पछि परेको छ । मतदातालाई हरेक निर्वाचनमा उमेदवारले बाचा गरेको, तर फर्केर गाउँ नहेर्ने गुनासो गरेको एमालेबाट उमेदवार बनेकी उमा लुंगेली मगरले बताइन् ।
'घर दैलाको क्रममा दुर्गम भेगमा पुग्दा स्वास्थ्य संस्थामा सिटामोलसमेत छैन भनेर जनताले भन्दा निकै खल्लो लाग्यो,’ उनले भनिन्, ‘भेटेका मतदातालाई मैले गर्न सक्ने बाचामात्रै दिएको छु, अघिल्लो कार्यकालमा भएका विकासका अधुरा कामलाई पुरा गर्ने गरी काम गर्ने बताएका छु ।’
अधिकांस गाउँका मतदाताले भष्ट्राचार मात्रै भएको भन्दै विकासका काम कुनै हुन नसकेको गुनासो गरेको उनले सुनाइन्। २०७९ को निर्वाचनमा गठबन्धनबाट निर्वाचन जितेको नेकपा माओवादी केन्द्रले पालिका अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीको भए विकासले गति लिने भन्दै घरदैलो गरिरहेको छ ।
माओवादी उम्मेदवारी निमलेकी शेर्पाले आफूलाई स्थानीयबासीका माग र मुद्दा सबै जानकारी भएकाले काम गर्न सजिलो हुने बताइन् । ‘महिला स्वंमसवीसमेत बनेर गाउँमा बसेर काम गरेको अनुभव छ, कोही गाउँ बाहिर बसेर फुत्त आएर विकास गर्छु भनेको मतदाताले विस्वास गरेका छैनन्,’ उनले भनिन्, ‘स्वंमसेविका हुँदा गाउँको सेवा गरेँ । अब पालिकाबाट सबै वडाको सेवा गर्छु ।’
त्रिपक्षीय प्रतिष्पर्धा रहेको गौरीशंकरमा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पनि मैदानमा आएपछि गौरीशंकरको चुनाव रोचक हुने अनुमान गरिएको छ । एकीकृत समाजवादीबाट उमेदवारी दिएकी उमेदवार रविना खड्काले शिक्षित वर्गले मात्रै गाउँको विकास गर्न सक्ने बताइन् ।
‘घरदैलाको क्रममा धेरैले युवा हुनुहुँदो रहेछ केही गर्न सक्ने मान्छे लागेको छ भन्नुभएको छ,' उनले भनिन्, 'मतदाताले उठाएका विषयमा निकै गम्भीर भएर काम गर्छु भनेको छु ।’ पहिलोपटक स्थानीय निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले गौरीशंकरको चुनावलाई रोचक बनाएको छ ।
रास्वपाले पहिलोपटक उम्मेदवारी दिएका कारण यहाँ कसको मत काट्छ भन्ने अड्कलबाजीसमेत भइरहेको छ । रास्वपाले 'पुराना दललाई हेर्यौं पटक-पटक, नयाँलाई अवसर दिऔं यसपटक' भन्दै घरदैलो गरिरहेको उमेदवार गोमा श्रेष्ठले बताइन् ।
'ठूला दलको शक्ति केन्द्रका रुपमा परिचित पालिकामा घरदैलोका क्रममा जनताले निकै जिज्ञशा हामीप्रति राखेका छन्,’ उनले भनिन्, ‘मतदाताको सबैभन्दा चासो हामीमाथि भएकाले अनेपिक्षत नतिजा ल्याउनेछौं ।’
गौरीशंकरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि चुनावी मैदानमा होमिएका छन् । विगतका निर्वाचनको हिंसात्मक घटनाले निकै संवेदनशील मानिएको गौरीशंकरको निर्वाचनलाई मुख्य दलहरुले प्रतिष्ठाको लडाइँ बनाएपछि चुनावी माहोल तातिएको छ ।
९ वडा रहेको गौरीशंकरमा १२ वटा मतदान केन्द्र तोकिएका छन् । यहाँ १५ हजार ७१८ मतदाता रहेका छन् । उपाध्यक्षका लागि ९ जना स्वतन्त्र सहित १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
