उम्मेदवारले बिर्सिए सेती अस्पतालको एजेन्डा

अस्पताल सुधार एजेन्डामा नराख्नुलाई नेताहरुको स्वास्थ्य सेवाप्रतिको बेवास्ताका रुपमा धेरैले अर्थ्याएका छन्

कार्तिक २२, २०७९

अर्जुन शाह

धनगढी — पाँच वर्षअघि ०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ (धनगढी) बाट उम्मेदवार थिए, कांग्रेस नेतृ आरजु देउवा र एमालेका नारदमूनि राना । दुवै उम्मेदवारको प्रमुख एजेन्डा थियो– यहाँस्थित सेती अञ्चल अस्पतालको स्तरोन्नति गर्ने ।

वार्षिक एक लाख जना बढी बिरामीको चाप खेपिरहेको अहिलेको सेती प्रादेशिक अस्पताल ५० शय्या अनुमति भएको सुदूरपश्चिमको रेफरल अस्पताल पनि हो । अघिल्लो निर्वाचनमा सेती अस्पताललाई एमाले उम्मेदवार रानाले तीन सय शय्या बनाउने घोषणा गर्दा कांग्रेसकी आरजुले पाँच सय शय्या बनाउने घोषणा गरेकी थिइन् । 

बहुचर्चामा रहेकी उम्मेदवार आरजुलाई रानाले पराजित गरे । तर चुनाव सकिएसँगै अस्पताल स्तरोन्नतिको चुनावी वाचा हार्नेले त बिर्से बिर्से, जित्ने उम्मेदवारले पनि सम्झन आवश्यक ठानेनन् । यतिबेला चुनाव फेरि आइपुगेको छ । तर, विडम्बना यसपालि सेती अस्पताल सुधारको एजेन्डासमेत उम्मेदवारहरूको प्राथमिकतामा छैन ।

यसपालि पनि धनगढी निर्वाचन क्षेत्रमा सुरुमा उनै पुराना अनुहार आरजु र नारदमुनि प्रतिस्पर्धामा उत्रिने चर्चा थियो । अकस्मात् आरजु पछि हटिन् । एमालेले भने नारदमुनिलाई नै दोहोर्‍यायो । गत निर्वाचनमा सेतीलाई तीन सय शय्याको बनाउने घोषणा गरेका नारदमुनिले पनि यसपालि त्यो एजेन्डा छाडेका छन् ।

 कैलाली ५ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तको प्रमुख एजेन्डामा पनि सेती अस्पताल छैन । सिंगो सुदूरपश्चिमका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने यो अस्पताल सुधारलाई यसपालिको चुनावी एजेन्डामा समेत नराख्नुलाई नेताहरूको स्वास्थ्य सेवाप्रतिको बेवास्ताका रूपमा धेरैले अथ्र्याएका छन् । नारदमुनिले यसपालि धनगढीलाई सुविधा सम्पन्न ‘मेगा सिटी’ बनाउनेलगायतका नारा सारेका छन् ।

गौरीफन्टा सीमानाका स्तरोन्नती, गेटा विमानस्थललाई प्राथमिकतामा राखेका उनको त्यस नारामा आममतदाताको आकर्षण देखिँदैन । ‘नेताहरूको यस्तो नारा हर्ष न विस्मात्सरह हो,’ धनगढीका नागरिक अगुवा प्रमोद पाठक भन्छन्, ‘सेती सुधारको अघिल्लो चुनावको नारा र व्यवहारले नै नेताहरूको नियत देखाइसकेको हो ।’ उम्मेदवारहरूले घोषणा पत्रमै लेखिहाले पनि त्यसलाई पत्याउने आधार नभएको उनले बताए । सेवा पाउनै मुस्किल

तीन दिनअघि शनिबार बाजुराको छताराका ४१ वर्षीय बुढाको उपचार नपाएर सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो । ज्वरो आएपछि उपचारका लागि सेती पुगेका उनी चिकित्सकको नजरमा पर्नै सकेनन् । गरिब तथा विपन्न परिवारका बुढा नातेदारको सहयोगमा अस्पतालमा पुगेका थिए । इमर्जेन्सीका स्वास्थ्यकर्मीहरूले उनलाई मुटुमा समस्या भएको प्रारम्भिक अनुमान गर्दै वार्डमा भर्ना गराएका थिए । तर, सेतीमा कार्यरत मुटुका डाक्टरको उनले समय नै पाएनन् र उनको अकालमा मृत्यु भयो । 

वार्डका अन्य स्वास्थ्यर्मीले बिरामीका आफन्तहरूलाई सेतीका मुटु डाक्टर धनगढीस्थित एउटा निजी अस्पतालमा भेटिने र त्यहाँ गएर उपचार गराउन सल्लाह दिएका भए पनि आर्थिक अभावले आफूहरू प्राइभेट अस्पतालमा जान नसकेर मुटुका डाक्टरबाट उपचार पाउन नसकेको मृतकका ससुरा देवबहादुर बुढाले बताए । विपन्न र पहुँचविहीन बिरामीहरूले सेतीमा अकालमा मृत्युवरण गरिरनुपर्ने बाध्यता छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्ली भट्ट पनि सेवा प्रवाह चुनौतीपूर्ण रहेको स्विकार्छन् । झन्डै ८० वर्षअघि स्थापना भएको प्रमुख अस्पताल बर्सेनि उधोगतिमा छ भन्नेमा अस्पतालकै स्वास्थ्यकर्मी र चिकित्सकहरू पनि सहमत छन् ।  वि.सं. १९९७ मा जिल्ला अस्पतालका रूपमा स्थापना भएको सेती अञ्चल अस्पताल २०४० सालमा स्तरोन्नती गरि सेती अञ्चल अस्पताल बनाइएको थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश तहमा पनि सरकार बनेपछि यो अस्पताल प्रदेश सरकार मातहत ल्याइयो । 

बिरामीका अपेक्षा यही अस्पतालमा छन्, तर अस्पतालसँग उपाय छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे स्वयं दिक्दारी व्यक्त गर्छन् । ‘बिरामीको अपेक्षाहरू असीमित छन्, विपन्न र गरिब विरामीहरूलाई निजी अस्पतालमा उपचार गराई साध्यै नभएकाले यही अस्पतालको भरोसा हो । तर हाम्रो क्षमताले चाहेजस्तो सेवा दिन सकिरहेका छैनौं ।’ जेनतेन हरेक सेवा प्रवाह गरिरहेको बताउँँदै डा.पाण्डेले सम्बन्धित निकायका अधिकारीसमक्ष रोइकराई गरेर सेवाहरू सञ्चालन गरिरहनुपरेको उनको भनाइ छ । ‘सोचेजस्तो नभए पनि अस्पतालको क्षमता र सरकारी प्रावधानअनुसार गरिब तथा विपन्न बिरामीहरूले नि:शुल्क उपचार पाएर पुनर्जीवन पाइरहेका छन्,’ डा. पाण्डेले भने । जनशक्ति अभाव र अपुग तथा जीर्ण भौतिक पूर्वाधार कठिनाइका कारण अस्पताल सञ्चालन गर्नै कठिन भएको भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पाण्डेले बताए । 

दोहनको थलो

धनगढीका अगुवाहरूको बुझाइमा आफ्नो ८० वर्षे उमेर अवधिमा सेतीले धेरैलाई धेरै देखिएको छ । सयौंलाई रोजीरोटी दिएको छ, धेरैको करिअर बनाइदिएको छ । मेडिकल व्यापारीहरूले यही थलोलाई व्यापार व्यवसाय गर्ने माध्यम बनाएका छन् । अझ, बाहिरबाट आएका चिकित्सकहरूलाई नाम र दाम कमाउने मेलोमेसो यही अस्पतालले बनाइदिएको छ । ‘सेतीले धेरैलाई दियो, तर सेतीलाई योगदान गरौं र संस्था सुदृढ गर्न अग्रसर हुनेहरू राजनीतिकर्मी वा अस्पताल कर्मचारी विरलै देखिए,’ धनगढीका अर्का नागरिक अगुवा खडकराज जोशी भन्छन्, ‘धेरैका लागि सेती दोहन गर्ने थलो बनेका देख्छौं, सुन्छौं ।’ सेतीमा अनेक सुविधाहरू छन्, तर भित्रकै कर्मचारीहरूले बिरामीहरूलाई आफू सम्बद्ध निजीमा घचेट्छन् । सुविधायुक्त प्रयोगशाला भित्रै छ, तर त्यहाँ कार्यरत अधिकांश कर्मचारीहरू आफ्नो निजीमा केन्द्रित गराउँछन् । 

सेती अस्पताल प्रदेश सरकार मातहत आएको करिब तीन वर्ष बित्यो । हाल आएर ०७९ साउन १४ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस अस्पताललाई २ सय शयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । तर अस्पतालाई भने त्यससम्बन्धी कुनै औपचारिक जानकारी छैन । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully