साइपालका मतदाताको गुनासो
बझाङ — २०७४ को आमनिर्वाचनमा साइपाल गाउँपालिका–४ की अमृता विक भोट माग्न आउने उम्मेदवारको पर्खाइमा थिइन् । ०४८ यताका प्रत्येक निर्वाचनमा मतदान गरे पनि कहिल्यै उम्मेदवारको अनुहार देख्न नपाएकी उनीसँग माग र नेताहरूप्रति थुप्रै गुनासा थिए । तर त्यो निर्वाचनमा बझाङको विकट गाउँपालिका साइपालमा कुनै पनि उम्मेदवार भोट माग्न गएनन् ।
आफ्ना लागि भोट मागिदिन जिल्लास्तरका कार्यकर्तालाई पठाए । ‘नेता आयाइन (आएनन्) । खर्ब्या (खबर पुर्याउने मान्छे) मात्रै पठाया,’ अमृताले भनिन्, ‘हामीले पन हाम्रा दुःख खर्ब्या सँगै भन्याउ (सुनायौं) ।’ भोट माग्न आएका कार्यकर्ताहरूलाई साइपालवासीले खाद्यान्न नपाएर प्रत्येक वर्ष हिउँद र बर्खायाममा भोकभोकै बस्नुपर्ने बाध्यता भएको, नुनबिना अलिनै खानुपरेको र उपचार नपाएर मर्नुपरेको जस्ता समस्या सुनाएको र आफ्ना नेताले जितेपछि यी समस्या समाधान गर्ने आश्वासन कार्यकर्ताले दिएको उनले बिर्सेकी छैनन् ।
पाँच वर्ष बितिसक्दा पनि आफ्ना दुःख उस्तै रहेको उनले सुनाइन् । ०७४ अघिका निर्वाचनमा पनि यसैगरी कार्यकर्ता भोट माग्न आउने, गाउँलेका गुनासा सुन्ने र चुनाव सकिएपछि फर्केर नहेर्ने अनुभव सुनाउँदै उनले भनिन्, ‘आफैं (उम्मेदवार) यहाँ आउन्या भया हाम्रा दुःख देख्दा हुन् । खर्ब्या त खबरपन पुर्याउँदा छन् कि नाइँ ?’ अमृता १ हजार ४ सय ६५ मतदाता रहेको जिल्लाकै विकट साइपाल गाउँपालिकाकी एक मतदाता हुन् । तिब्बतसँग सीमा जोडिएको साइपाल क्षेत्रफलका हिसाबले मुलुककै ठूलो गाउँपालिका हो । प्रत्येक निर्वाचनमा यहाँका मतदाताको उम्मेदवार आफ्नो घरदैलोमा आउलान् र समस्या सुनाउँला भन्ने आशा निराशामा बदलिने गरेको छ । न त उनीहरूले वर्षौंदेखि भोग्दै आएका आधारभूत समस्याको समाधान नै पाएका छन् । मत माग्नकै लागि भनेर ०६४ को संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका भानुभक्त जोशीबाहेक अरू यहाँ नपुगेको स्थानीयको भनाइ छ । नेताहरू नआएकै कारण आफूहरूको समस्याप्रति संवेदनशील नभएको गुनासो यहाँका बासिन्दाको छ । ‘नेता यहाँ पुगे पो यहाँका मान्छेले कस्तो जीवन बाँचिरहेका छन् भन्ने महसुस गर्दा हुन्,’ धुलीकी मोतिमा रोकाया भन्छिन्, ‘आफू कहिल्यै पुग्दैनन् । भोट माग्न अरूलाई पठाएपछि हाम्रा समस्या कसरी चिन्दा हुन् ?’
मंसिर ४ को आमनिर्वाचन नजिकै आउँदा अहिलेसम्म नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार ऐन महर बाहेक कोही पनि उम्मेदवार पुगेका छैनन् ।‘सबै वडामा पुगेर घरदैलो गर्ने उहाँ पहिलो उम्मेदवार हो । उहाँले यहाँका समस्या समाधान गर्छु भनेर आश्वासन त दिएर आउनु भएको छ,’ धलौनका स्थानीय शेरबहादुर बोहराले भने, ‘भन्न त सबै नेताले यसै भन्छन् । उहाँ प्रति पनि आशा छ, तर काम नहेरी विश्वास गर्ने आधार छैन ।’
माग अरू पालिकाका जस्ता ठूला विकास आयोजना छैनन्, खाद्यान्न र नुनको अभावको समस्या समाधान भइदिए हुन्थ्यो भन्ने छ । स्थानीय र जनप्रतिनिधिहरूले जिल्लास्तरका नेता मात्रै होइन । प्रदेश र संघीय राजधानी पुगेर थुप्रै पटक यो समस्या सुनाइसकेका छन् । पालिकामा सधैं खाद्यान्न र नुन उपलब्ध हुने स्थायी डिपो होस् र हिउँद–बर्खा बाटो बन्द हुँदा भोकै बस्नु नपरोस् भन्ने उनीहरूहरूको माग छ । ‘यहाँ आउने नेतालाई मात्रै होइन । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र संघीय सरकारका मन्त्रीहरूलाई पनि धेरै पटक डेलिगेसन गइसक्यौं तर हाम्रो माग कहिल्यै सुनुवाइ भएन,’ गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ भन्छिन्, ‘अरू पालिकाहरू विकासका ठुल्ठूला योजना माग्छन् । हामीले नुन–चामलकै लागि संघर्ष गर्नुपरेको छ ।’
दुर्गम धुलीका महिला, बालबालिका
नेपाल सरकारले ०७४ बाट गाउँपालिका कार्यालय रहेको काँडासम्म अनुदानमा नुन र चामल पुर्याउने व्यवस्था मिलाएको थियो । त्यसयता सरकारको ढुवानी अनुदानमा खाद्य व्यवस्था कम्पनीले चामल, पिठोलगायत खाद्यान्न र साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन वितरण गर्ने अस्थायी वितरण केन्द्र राखेका छन् । यद्यपि गाउँपालिकाको केन्द्रबाट एक दिनको पैदल दूरीमा रहेको रहेका न्युना, धुली र बलौडीका बासिन्दालाई महँगोमा चामल र नुन खानुपर्ने बाध्यता हटेको छैन । वर्षमा एक पटक नुन र दुई पटक चामल वितरण गर्ने भएकाले पैसा नहुनेले एकै पटक वर्षभरिलाई पुग्ने खाद्यान्न किन्न सक्दैनन् । हिउँद र बर्खामा बाटो बन्द हुँदा बर्सेनि भोकमरीको सामना गर्नुपरिरहेको छ । हिउँ परेर बाटो बन्द हुँदा चरम खाद्य संकट भएपछि ०७७ र ०७८ को हिउँदमा सरकारले हेलिकोप्टरबाट चामल ढुवानी गर्नुपरेको थियो ।
खाद्यान्नसँगै यहाँका बासिन्दाको अर्को समस्या स्वास्थ्य सेवा हो । सुविधायुक्त स्वास्थ्य संस्था भएको सदरमुकाम चैनपुरसम्म पुग्न पैदल चार दिनसम्म हिँड्नुपर्ने यो पालिकाका बासिन्दा आफ्नै गाउँमा स्वास्थ्य सेवा भए अकालमै ज्यान गुमाउनु नपर्ने बताउँछन् । ‘एक जना बिरामीलाई चैनपुरसम्म बोकेर लैजानका लागि १५/१६ जना अरू मानिस चाहिन्छ,’ गाउँ कार्यपालिका सदस्यसमेत रहेकी विमला बोहरा भन्छिन्, ‘बोक्ने मान्छेलाई बाटोमा खानबस्न खर्च मात्र एक डेढ लाखको हाराहारीमा लाग्छ । सबैले खर्च व्यहोर्न सक्दैनन् ।’ खर्च व्यहोर्न नसक्नेहरू धामीझाँक्रीकै भर पर्ने र अकालमा ज्यान गुमाउने गरेको उनले बताइन् ।
बढी जनसंख्या रहेको धलौन गाउँ । तस्बिर : वसन्तप्रताप/कान्तिपुर
करिब ३ हजारको हाराहारी जनसंख्या साइपालमा न्यूनतम उपचार नपाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् । यहाँका स्वास्थ्य चौकीमा न औषधि हुन्छ न त खाँचो पर्दा स्वास्थ्यकर्मी पनि भेटिन्छन् । कोही बिरामी पर्दा लाँगा देवताका मन्दिरमा भाकल गर्ने गरेको स्थानीय शंकर विकले बताए । ‘बिरामी भएका जति सबैको उपचार गर्ने हो भने त धेरैको घरखेत बाँकी रहँदैनथ्यो होला,’ उनले भने । यहाँका सबै वडामा अहिले पनि खोप सेवा पुग्न सकेको छैन । संस्थागत सुत्केरी गराउनेको संख्या न्यून छ । सबै घरमै सुत्केरी हुन्छन् ।
‘पैसा खर्च गर्न सक्नेहरू मात्र पूरा उमेर बाँच्छन्,’ साइपालको स्वास्थ्य चौकीमा २ वर्ष बसेका अहेव जनककुमार विष्टले भने, ‘धेरैजसोले उपचार गरे निको हुन सक्ने सामान्य रोग बिथोलिएर ज्यान गुमाउँछन् ।’ यसरी ज्यान गुमाउनेहरूमा बढी केटाकेटी र बूढाबूढी हुने गरेको उनले बताए ।
साइपालका बासिन्दाले सुनाउने समस्याको चाङमा थपिने अर्को शब्द हो टेलिफोन । नेपाल टेलिकमले साइपाल–२ को रस्यालेकमा तीन वर्षअघि टावर निर्माण गरेको थियो । यो टावरले सबै गाउँमा नेटवर्क दिँदैन । सिग्नल टिप्ने ठाउँमा पनि पर्याप्त ऊर्जा अभावमा बिहान १० देखि ५ बजेसम्म मात्रै फोनले काम गर्छ । बादल लाग्दा सोलार प्यानल चार्ज नहुने भएकाले हिउँद र वर्षायाममा महिनौंसम्म साइपाल सञ्चार सम्पर्कविहीन हुन्छ । नेटवर्क नभएपछि यहाँका बासिन्दा फोन गर्नकै लागि दिनभर डाँडाकाँडा चहार्छन् । पूरा दिन हिँडेपछि मात्रै टावर टिप्ने ठाउँमा पुगिने भएकाले फोन गर्नका लागि सामल बोकेर हिँड्ने गरेको न्युनाका उमेश जेठाराले बताए । ‘एक्लै दुक्लै जान सकिने अवस्था हुँदैन,’ उनले भने, ‘फोन गर्नुपर्यो भने सल्लाह गरेर तीन/चार जनासँगै जान्छौं । दिनभरि हिँड्नुपर्ने भएको साथमा सामल पनि बोक्नुपर्छ ।’ उत्तरी सीमामा रहेको अन्तिम बस्ती धुलीतिर अर्को टेलिफोनको टावर बनाउन सके सबैतिर फोनले काम गर्ने भए पनि सरकारले त्यसको पूर्वाधारमा केही गरेको छैन ।
साइपालवासीले जनप्रतिनिधि र सरकारबाट सम्बोधनको अपेक्षा गरेको अर्को समस्या हो, साँघु । सेती नदीको मुहान रहेको यस गाउँपालिकामा यसका शाखा–प्रशाखा नदीखोलाको संख्या तीन दर्जनभन्दा बढी छ । तर धलौनको गनइगाड खोलाभन्दा अन्त कतै पनि झोलुंगे पुल छैनन् । हिउँदयाममा बनाइने साँघु वर्षात्मा बाढीले बगाइदिन्छ । खोला तर्दा मृत्युसँग जुध्नुपर्छ । दुई वर्षअघि असारमा मात्र खोला तर्ने क्रममा साँघु भाँचिएर एकै परिवारका तीन जना बालक बेपत्ता भएका थिए । त्यही वर्ष अरू चार जनाले विभिन्न खोलामा खसेर ज्यान गुमाए ।
यहाँका थरुनीघाट खोला, दोतले, माझागाड, राम खोला, लोकन्ते खोला, घाटगंगा खोला, औंलागाड खोला र सेती नदीको बीचपानी, भोटेनी खोला, इङगलद्वार र स्याङवनलगायतका ठाउँमा पुल नहुँदा ठूलो जोखिम मोलेर नदी पार गर्नुपर्छ । ‘पुल नहुँदा साह्रै जोखिम छ । एउटा काठको सहारामा नदी तर्दा काठ भाँचिने, हल्लिएर पनि मान्छे बीच भँगालोमा खस्ने डर हुन्छ । बर्खामा घरबाट हिँड्यो कि ज्यान हत्केलामा राख्नुपर्छ,’ स्थानीय धनबहादुर बोहराले भने, ‘उर्लंदो भेलमा साँघु तर्दा बीचैमा रिङ्टा लागेर पनि कोही कोही खसेर मर्छन् ।’
यहाँका खोलामा ज्यान गुमाउने स्थानीय मात्र नभएर तिब्बतको मानसरोवर कैलाश जाने तीर्थयात्री, चीनको ताक्लाकोट जाने व्यापारी तथा बाहिर जिल्लाबाट यार्चा संकलक गर्न आउनेहरू पनि हुन्छन् । चार वर्षअघि जयपृथ्वी नगरको एकै गाउँका चार जनाले स्याङवनमा खोला तर्ने क्रममा साँघुबाट खसेर ज्यान गुमाएका थिए । साइपाल गाउँपालिकाको तथ्यांकअनुसार ०७१ यता चार वर्षको अवधिमा विभिन्न खोलाले बगाएर ४३ जनाको मृत्यु भएको छ । वर्षामा बाढी आउँदा पुलको अभावमा महिनौंसम्म यहाँका गाउँहरूबीच आउजाउ बन्द हुने गरेको छ ।
यी समस्याबारे जानकार भएकाले प्राथमिकता दिएर समाधानको पहल गर्ने भनाइ राख्न उम्मेदवारहरू छुटाउँदैनन् । भर्खरै घरदैलो गरेर फर्किएका एमालेका ऐन महरले समृद्धिको पर्याप्त सम्भावना भए पनि राज्यको उपेक्षाका कारण साइपालका बासिन्दाले गरिबीमा बाँच्नु परिरहेको बताए । उनले भने, ‘जलविद्युत्, जडीबुटी, पर्यटन, पशुपालन, फलफूल खेतीका पर्याप्त सम्भावना भएको देशकै समृद्ध हुनुपर्ने गाउँपालिकाका हो । दुःख विडम्बनापूर्ण छ ।’ निर्वाचित भएमा योजना ल्याउन प्रयास गर्ने उनले बताए ।
साइपाल जाने सडक निर्माणको काम राजनीतिक खिचातानीका कारण रोकिएकाले जनतालाई मर्का परेको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त जोशीको भनाइ छ । ‘सबै समस्या भौगोलिक विकटताका कारण भएकाले हामीले त्यहाँ सडकको योजना हालेका थियौं तर खिचातानीले रोकियो,’ उनले भने, ‘अब निर्वाचित भएर गएमा यहाँका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गर्नेछु ।’ विभिन्न समयमा आफू चार पटक पुगेकाले साइपालका समस्याबारे जानकार रहेको उनले बताए । तल्कोट गाउँपालिका भएर साइपाल हुँदै तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडक कहाँबाट लैजाने भन्ने विषयमा साबिकको धमेना र तल्कोट गाविसका बासिन्दाबीच विवाद हुँदा लामो समय रोकिएको थियो । पछि साविक धमेनाको बस्तीविहीन क्षेत्र हुँदै सडक निर्माण गर्ने सहमति भएको थियो ।
