रसुवामा मतपत्र ल्याइयो

कार्तिक २१, २०७९

बलराम घिमिरे

रसुवा — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र जिल्लामा ल्याइएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र जिल्लामा आइसकेको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

नेपाली सेनाको सुरक्षामा स्थलमार्ग हुँदै मतपत्र ढुवानी गरेर जिल्लामा ल्याइएको उनले बताए । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् ।

जिल्लामा रहेको कुल मतदाता संख्यामा १० प्रतिशत थपिएर मतपत्र ल्याइएको हो । सोमबार जिल्लामा आइपुगेको प्रत्यक्षतर्फको मतपत्रलाई रुजु गर्ने काम भइरहेको छ ।  समानुपातिकतर्फको मतपत्र भने रुजु गर्ने काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

रुजु गर्ने काम सकिएपछि मतदान केन्द्रको मतदाता संख्या अनुसार पोको पारेर मतपत्रलाई छुट्याइने बताइएको छ । त्यसपछि मतदान अधिकृतको जिम्मामा निर्वाचन सामाग्रीहरूसहित मतपत्र मतदान केन्द्रमा पठाइने पौडेलले बताए ।

रसुवा जिल्लामा ३४ मतदान स्थल र ५२ मतदान केन्द्र रहेको छ । मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताए । जिल्लामा आइपुगेको निर्वाचन सामाग्रीमा मतपत्र, मतपेटिका, मतदाता नामावली, नउढ्ने मसी, स्वस्तिक छाप, रबर म्याट, सियो, धागो, लाहा छाप अनुसूची लगायत रहेको बताइएको छ ।

बलराम

Link copied successfully