दार्चुला — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा विभिन्न दलबाट ९ जना उम्मेदवार रहे पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस नेता बडू सत्ता गठबन्धनका उम्मेदवार हुन् । एमालेका पोलिटब्युरो सदस्य ठगुन्ना अघिल्लो सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । विगतका निर्वाचनमा पनि जिल्लामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुँदै आएको थियो ।
मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना २०६४ सालयता तेस्रो पटक आमानेसामने हुँदै छन् । २०६४ मा यी दुवैलाई माओवादीका लक्ष्मणदत्त जोशीले भारी मतान्तरले पराजित गरेका थिए ।
२०७० मा बडूलाई १ हजार २३४ मतले पराजित गरेका ठगुन्ना २०७४ मा पनि दोहोरिएका थिए । एमाले–माओवादी वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका विक्रमसिंह धामीलाई हराएका थिए । ठगुन्नाले २८ हजार ९९८ मत ल्याएका थिए भने धामीले २२ हजार २३३ मत ल्याएका थिए । बडू भने गत निर्वाचनमा समानुपातिक सांसद बनेका थिए । त्यसअघि, २०४८ र २०५६ मा भने उनी सांसद चुनिएका थिए । यसपल्ट उनी प्रत्यक्ष चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।
ठगुन्ना पनि बडूमाथि जित निकालेर ह्याट्रिक गर्ने रणनीतिमै छन् । तर, सत्ता गठबन्धनविरुद्ध ठगुन्नालाई जित हासिल गर्न सहज छैन । २०७४ मा एमालेको जितको सारथी माओवादी अहिले कांग्रेससँग सहकार्य गरिरहेको छ ।
गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनमा एमालेले वडागत रूपमा २९ हजार ३९७ मत ल्याउँदा कांग्रेसले २१ हजार ५५४ र माओवादीले ७ हजार ८८१ मत पाएको थियो ।
जिल्लाका ९ स्थानीय तहमध्ये एमालेले २ नगरपालिकासहित ५ र माओवादीले ४ पालिका प्रमुख जितेका थिए । कांग्रेसले नेतृत्व लिन सकेको थिएन । ६१ वडामध्ये ३४ वडामा एमाले विजयी भएको थियो । कांग्रेसले १७ र माओवादीले १० वडाध्यक्ष जितेका थिए ।
विगतका निर्वाचनमा नेताहरूले दिएका आश्वासन पूरा नभएकाले पनि यसपालि मतदातमा चरम निराशा छ ।
यसपालि पनि उम्मेदवाहरू मतदातासामु विकास र जागिर लगाइदिने जस्ता आश्वासन बाँडिरहेका छन् । ‘विगतका वाचा पूरा गर्न कमै ध्यान दिने गरेकाले अब कुन आशाले भोट हाल्ने ?,’ स्थानीय समाजसेवी मदनदत्त भट्टले भने, ‘२०४८ सालकै चुनावी मुद्दा अझै पूरा भएका छैनन् ।’
