गठबन्धनमा उत्साह, एमाले साख बचाउने कसरतमा

एमाले नेता भीम रावलले आफूलाई पार्टीले टिकट नदिएपछि अहिलेसम्म चुनावी कार्यक्रमका लागि गृहजिल्ला आएका छैनन् ।

कार्तिक १६, २०७९

मेनुका ढुंगाना

अछाम — दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा यतिबेला चुनावको रौनकता छाएको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एकातिर सत्ता गठबन्धन र अर्कोतिरबाट एमाले चुनावी मैदानमा छन् ।मनोनयन दर्ताअघि नै एमाले नेता भीम रावलले टिकट नपाएपछि अछामको क्षेत्र नम्बर १ चर्चामा रह्यो ।

यो क्षेत्रबाट एमालेले २०७४ सालको तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रको उम्मेदवारका रूपमा सुदूरपश्चिम प्रदेशसभा सदस्यमा विजयी भएका झपट बोहरालाई अहिले आफ्नो उम्मेदवार बनाएको छ । उनै बोहरा एमालेको उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्न जाँदा रावलनिकट कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गर्दै बोहरालाई कालो झन्डा देखाएका थिए । 

जिल्लाका शीर्ष नेताले समेत भीम रावलले टिकट नपाएपछि राजीनामा दिएका थिए । एकातिर आन्तरिक किचलोमा रहेको एमाले र अर्कोतिर आफूलाई शक्तिशाली भएको बताउने सत्ता गठबन्धनका उम्मेदवारबीच हुने प्रतिस्पर्धाबाट आउने नतिजाको जोडघटाउ हुन थालेको छ । केही साताअघि आफूले टिकट नपाएको विषयमा नेता रावलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूलाई पार्टीले टिकट नदिए पनि चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताएका थिए । उनै रावल अहिलेसम्म चुनावी कार्यक्रमका लागि गृहजिल्ला अछाम आएका छैनन् ।

२०७४ सालको निर्वाचनमा अछाम–१ बाट प्रतिनिधिसभाका लागि तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमाले नेता रावल २४ हजार ८ सय ८३ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले १७ हजार ७ सय १९ मत ल्याएका थिए । हालै सम्पन्न भएको स्थानीय तहको नतिजालाई हेर्दा यस क्षेत्रका ५ स्थानीय तहमध्ये बान्नीगढी जयगढ गाउँपालिकामा मात्रै उपाध्यक्ष पदमा एमालेले जित हासिल गरेको छ । अन्य तहमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

अहिले सत्ता गठबन्धनका तर्फबाट श्रममन्त्रीसमेत रहेका समाजवादीका नेता शेरबहादुर कुँवर र एमालेका तर्फबाट झपट बोहरा चुनावी मैदानमा छन् । त्यस्तै, कांग्रेसका महासमिति सदस्यसमेत रहेका राजन कुँवर पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा उम्मेदवार बनेका यी तीनै जना नयाँ अनुहार हुन् । 

क्षेत्र नम्बर १ को प्रदेश १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका मेघराज खड्का र एमालेका नेता देवबहादुर कुँवर प्रतिस्पर्धामा छन् । खड्का २०७४ को प्रदेशसभा निर्वाचनमा पनि कांग्रेसका तर्फबाट उम्मेदवार भएर पराजित भएका थिए । त्यस्तै यसै क्षेत्रको प्रदेश २ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता झपट साउद र एमालेका नेता कृष्णप्रसाद जैसी चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशका चारै सिटमा तत्कालीन वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए ।

अछाम–१ मा साँफेबगर नगरपालिका, रामारोशन, बान्नीगढी, चौरपाटी, मेल्लेख गाउँपालिका पर्छन् । यस क्षेत्रका ४२ वडामध्ये एमालेले १३, कांग्रेसले १९, माओवादी केन्द्रले ५, समाजवादीले २ र स्वतन्त्रबाट ३ जना वडाध्यक्ष निर्वाचित भएका छन् । सत्ता गठबन्धनले २६ वडा, एमालेले १३ वडा जितेका छन् ।

साँफेबगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादी निर्वाचित भएका छन् । १४ वडामध्ये कांग्रेस ८, एमाले ३, स्वतन्त्र २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् । यस्तै रामारोशन गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र जितेका छन् । यहाँका ७ वडामा माओवादी ३, कांग्रेस र एमाले २ /२ वडामा निर्वाचित भएका छन् ।

मेल्लेख गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका छन् । ८ वडामध्ये एमालेबाट ३, कांग्रेसबाट २, माओवादी, एकीकृत समाजवादीबाट १/१ र एक जना स्वतन्त्रले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । बान्नीगढीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले जितेका छन् । ६ वडामध्ये कांग्रेसले ३, एमालेले २ र माओवादीले एउटा वडा जितेका छन् । चौरपाटीमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसबाट निर्वाचित छन् । चौरपाटीका ७ वडामध्ये कांग्रेसले ४ र एमालेले ३ वटा जितेका छन् । 

साँफेबगर नगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएको कांग्रेसले प्रमुख पदमा ७ हजार २ सय ६५, चौरपाटीमा अध्यक्ष पदमा ३ हजार ९ सय ८२, बान्नीगढी जयगढ गाउँपालिकामा ३ हजार १ सय १२ र रामारोशन गाउँपालिकामा ३ हजार १ सय २७ गरी नेपाली कांग्रेसलाई १७ हजार ४ सय ८६ मत प्राप्त भएको देखिन्छ ।

एमालेका तर्फबाट साँफेबगर नगरपालिकाको प्रमुख पदलाई ५ हजार ३९, चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा २ हजार ५ सय ६, बान्नीगढी जयगढको अध्यक्ष पदमा २ हजार ६ सय १४, मेल्लेख गाउँपालिकाको अध्यक्ष पदमा ४ हजार १ सय ८४ र रामारोशन गाउँपालिकामा २ हजार ७ सय ९५ मत गरी १७ हजार १ सय ३८ मत प्राप्त भएको देखिन्छ ।  यस क्षेत्रमा तेस्रो शक्तिका रूपमा रहेको माओवादी केन्द्रले २ पालिकामा मात्रै अध्यक्ष पदमा उम्मेदवार उठाएको थियो ।

जसमा मेल्लेख गाउँपालिकामा कांग्रेसको समर्थनमा अध्यक्ष पदमा ५ हजार १ सय ४४ र रामारोशन गाउँपालिकामा एक्लै चुनावी मैदानमा गएको माओवादी केन्द्रलाई अध्यक्ष पदमा २ हजार ८ सय ९७ गरी यस क्षेत्रमा ८ हजार ४१ मत प्राप्त भएको थियो ।

आमनिर्वाचन २०७९

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully