२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

चितवनमा लामिछानेको आक्रामक प्रचार

दलका पुरानै मान्छेबाट दिग्दार भएकाहरु लामिछानेको पक्षमा खुलेर लागेका छन्, तर कतिपय भन्छन्– ‘सामाजिक सञ्जाल र भेटघाटमा देखिएको भीड मतमा बदलिन्छ कि बदलिन्न भन्ने बेला भइसकेको छैन’

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा होमिएका रवि लामिछानेको दौडधुप यतिबेला चितवन क्षेत्र नम्बर–२ मा केन्द्रित छ । टेलिभिजनमार्फत निर्माण गरेको सार्वजनिक छविलाई उनले मतदाता भेटघाटमा पनि प्रयोग गरिरहेको देखिन्छ ।

चितवनमा लामिछानेको आक्रामक प्रचार

स्थानीय तह निर्वाचन र त्यसअघिका संसदीय चुनावको गणित केलाउँदा यस क्षेत्रमा एमाले र कांग्रेस बलियो शक्तिका रूपमा छन् । यसपालि भने यी मुख्य दलका लागि लामिछानेको उपस्थिति चुनौतीपूर्ण हुने निश्चित छ ।

सदरमुकाम भरतपुर, नारायणगढ बजार र पहाडी भेगसमेत पर्ने कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका समेटिएको यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार छन् । पश्चिमी भेग र नारायणगढमा भेटिएका दर्जनभन्दा बढी मतदाताले आफूहरूको मनमा ‘घण्टी’ बज्न थालेको बताए । यसरी भेटिएका अधिकांश मतदाता कांग्रेस र एमाले समर्थित थिए । उनीहरूले लामो समयदेखि दलले टिकट दिएका उम्मेदवारलाई भोट हालेको तर यसपाला समानुपातिकमा आफ्नो दललाई दिए पनि प्रत्यक्षमा ‘विचार गर्ने’ आशय सुनाए ।

मतदाताको यस्तो मनसायका पछाडि एमालेका उम्मेदवारलाई पटकपटक मत दिइसकेको र कांग्रेसका उम्मेदवार पुरानै दलका पुरानै मान्छे हुन् भन्ने दिग्दारी बुझिन्छ । कांग्रेसका एक पुराना र सक्रिय स्थानीय नेताले लामिछानेप्रतिको आकर्षण कांग्रेसीहरूमै धेरै देखिएको बताए । त्यसो हुनुका पछाडि स्थानीय कांग्रेससँग समन्वय र सहकार्यको पृष्ठभूमि नभएका र व्यापारिक पृष्ठभूमिका मान्छेलाई कांग्रेसले उम्मेदवार बनाएको असन्तुष्टि पनि देखियो । ‘रविलाई नचिन्ने कोही छैनन् । उनी सबैको घर–घर पुग्न खोजिरहेका छन्,’ उत्साही हुँदै ती नेताले भने, ‘हाम्रै उम्मेदवारले उनको चुनौतीलाई चिर्न केही मिहिनेत गरेको देखिन्न ।’

एकीकृत समाजवादीका जिल्ला सदस्यसमेत रहेका नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटा आँपटारीमा छेउमा रहेको सकुम्बासी बस्तीमा बस्छन् । मिलन टोल र इन्द्रणी टोल रहेको यी बस्तीमा करिब ३ सय ५५ घरधुरी छन् । यी टोलमा परम्परागत भोट शैली हेर्दा एमाले र माओवादीको प्रभाव धेरै देखिन्छ । देवकोटाले आफूहरूको बस्तीमा सत्ता गठबन्धन, एमालेसहितका कुनै पनि उम्मेदवार नआएपछि भित्रभित्रै लामिछानेको चर्चा सुरु हुन थालेको बताए । ‘कृष्णभक्तले बारम्बार जिते पनि के दिए भन्ने प्रश्न छ, कांग्रेसका उम्मेदवारलाई पनि पुरानो दलको नेता भन्ने बुझाइ छ,’ उनले सुनाए, ‘यही टोलका एमाले, एकीकृत समाजवादी र कांग्रेसकै केही मतदाता रविको पक्षमा खुल्न थालेका देखिन्छन् ।’

पुराना दलले केही नगरेको भन्ने गुनासोसहितको पृष्ठभूमिमा लामिछानेले मतदातासँग कसम खाएको शैलीमा मन जित्न खोजिरहेका छन् । बाह्रघरेमा भेटिएका एक स्थानीय कांग्रेसी नेताले लामिछानेलाई कम आँक्न नहुने बताए । ‘म कांग्रेसको कट्टर समर्थक हुँ, तर घरभित्रैकालाई रविको पक्षमा जानबाट रोक्न सक्ने देखिएन,’ उनले भने ।

क्षेत्र नम्बर–२ का मतदाताहरूमा बेलाबखत उम्मेदवार हेरेर फरक दलमा मत हाल्ने गरेको पृष्ठभूमि पनि छ । यही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका १० वडामध्ये वडा नम्बर ३ मा गएको स्थानीय तह निर्वाचनमा धेरैले सोचेभन्दा फरक नतिजा आयो । सत्ता गठबन्धनका कारण महानगरमा एमालेले नराम्ररी हार बेहोर्दा माओवादीसहित चुनावमा होमिएका कांग्रेसका वडाध्यक्षका उम्मेदवार भरत लामिछानेले वडा नम्बर ३ मा हार बेहोरे । कमजोर मानिएको एमालेका उम्मेदवार विकास थापाले सत्ता गठबन्धनका उम्मेदवारको भन्दा ६ सय मत बढी ल्याए । २०४८ सालयता भएका निर्वाचनमा यो वडामा एमालेले पहिलोपटक जितको रेकर्ड राख्यो । २०७४ को स्थानीय चुनावमा यहाँ कांग्रेसका चन्द्रमित्र पण्डित १ हजार ५ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ८ सय ३८ मत मात्रै ल्याएका थिए ।

स्थानीय नेतासँग समन्वय नगरी केन्द्रले टिकट दिएपछि कांग्रेसीले मतमार्फत संस्थापनसँग बदला लिँदा यस्तो अनपेक्षित नतिजा आएको पुराना कांग्रेसी नेताले बताए । ‘कांग्रेस उम्मेदवारले स्थानीय कांग्रेसीजनमा देखिएको असन्तुष्टि सम्बोधन गर्न सकेनन् र आक्रामक प्रचारमा होमिएका रविको माहोल रोक्न सकेनन् भने सोचेजस्तो सजिलो देखिन्न,’ उनले भने ।

वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका, जापान गएकाहरूको बाहुल्य क्षेत्र मानिने लंकुका मतदातामा पनि लामिछानेप्रतिको आकर्षण देखिन्छ । उनको पार्टीले लिएको नीति र सिद्धान्तबारे जानकार नभए पनि उनको छविकै कारण माहोल बढेको स्थानीय अगुवा बताउँछन् । हरिकीर्तन चोकमा भेटिएका तुलसी रेग्मीले तीसौं वर्ष दलको झोला बोकेकाहरू पनि लामिछानेको पछि लागेको सुनाए । उनले भने, ‘मान्छेहरू हलो देखियो, रूख भोगियो, घाम हेरियो अब घण्टी बजाउने हो भन्छन् । पुरानै दललाई भोट दिँदादिँदा जनता थाकिसके ।’ उनले आफूहरूले अहिलेसम्म दलहरूबाट गतिलो उम्मेदवार नपाएको गुनासो गर्दै थपे, ‘हामी त दाता हो । भिक्षा माग्न आएका जोगीलाई चामल दिएजस्तो न हो । जोगीले त्यो चामलले खिर पकाएर खान्छ कि, भात पकाएर खान्छ कि बेचेर रक्सी खान्छ के थाहा ?’

भरतपुर–११ विशाल चोकस्थित प्रतीक्षालयमा भेटिएका ९१ वर्षीय गिरिनाथ सापकोटाले टोलमा उम्मेदवार नआए पनि मोबाइलमा देखिन थालेको सुनाए । यहाँको आँपटारी हाकिम चोक जाने बाइपास रोड नबनेको ७ वर्ष बितेको उनको गुनासो छ । ‘भन्न त घण्टी भन्न थालेका छन् । तर अन्तिम समयमा मन बदल्न पनि सक्छन्,’ उनले भने ।

अर्का स्थानीय टीकाराम पौडेलले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारले जितेर काम गरेको र मिडियामा चर्चा छाएको देखेर नयाँ मान्छेप्रति आशा देखिएको बताए । ‘युवा मान्छे हो । केही गर्छ कि भन्ने छ । तर चुनाव जितेपछि अरूले के गर्न देलान् ?’ उनले भने । भरतपुर–१२ जागृति चोकका गुरुदत्त तिमल्सेना भने लामिछानेको चर्चाको कारण युट्युब र फेसबुक भएको बताउँछन् । मतदातामा आवेग देखिए पनि त्यो मतदानको दिनसम्म कायम रहन्छ/रहन्न यसै भन्न नसकिने उनको भनाइ छ । ‘रवि एउटालाई पठाएर के हुन्छ, पार्टीको मान्छे पठायो भने भनसुन गरेर बजेट त ल्याउँछ,’ एउटा पार्टीको सक्रिय कार्यकर्ता बताउँदै उनले तर्क गरे, ‘पत्रकारिता गरेजस्तो राजनीतिमा कहाँ हुन्छ र । टीभीमा त कुरो मिलाएर बोल्दिए मात्र हुन्छ । राजनीतिमा त गरेरै देखाउनुपर्छ ।

भरतपुर–५ आनन्दपुरका शिक्षक हरिहर खनाल लामिछानेमाथि मतदाताका केही प्रश्न रहेको बताउँछन् । एकथरीले प्रमुख दलको बहुमत रहेको संसद्मा लामिछाने एक्लैले बोलेर के हुन्छ भन्ने संशयदेखि बाहिरी जिल्लाको मान्छे भएकाले जितेर गएपछि फेरि फर्केलान् भन्ने जस्ता संशय स्थानीयमा रहेको उनले सुनाए । ‘एकथरी दुःखी गरिबको सेवा गर्ने मान्छे हो जिताउनुपर्छ भनिरहेका छन्, तर सामाजिक सञ्जाल र भेटघाटमा देखिएको भीड मतमा बदलिन्छ कि बदलिन्न भन्ने बेला अझै भइसकेको छैन,’ उनले भने ।

चितवन–२ की मतदाता शारदा क्षेत्री लामिछाने र उनको चुनाव चिह्न घण्टीको चर्चा बढी भए पनि मतदानका दिनसम्म यो माहोल कायम रहनेमा शंका व्यक्त गर्छिन् । समाजशास्त्रकी अध्यापक क्षेत्रीले स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढीलगायत ठाउँमा स्वतन्त्रले जित्दा पुराना दल र नेताप्रति मतदाताको आकर्षण घटेको र त्यो प्रभाव यहाँ पनि देखिएको बताइन् । ‘तर भोट हाल्ने बेला मतदाताले केही न केही सोच्छन् । किनकि यो स्थानीय तहको चुनाव हैन,’ उनले भनिन्, ‘त्यसैले संसद् बनाउने व्यक्तिका बारेमा केही फरक आधार मतदाताले खोज्छन् नै ।’

प्रकाशित : कार्तिक १६, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?