कञ्चनपुर — तत्कालीन शुक्लफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्थापितको पुनःस्थापनाको मुद्दा हरेक निर्वाचनमा सबै दलका उम्मेदवारहरूको एजेन्डा बन्ने गर्छ । तर, अहिलेसम्म उक्त समस्या हल भइसकेको छैन ।
कञ्चनपुर क्षेत्र–२ मा यसपटक पनि सबैजसो दलका उम्मेदवारहरूले विस्थापितको पुनःस्थापना पहिलो एजेन्डा बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार एनपी साउद र एमालेका उम्मेदवार नरबहादुर धामी दुवैले विस्थापितको पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिने बताएका छन् । ०७४ मा एमाले माओवादी गठबन्धन हुँदा धामीसँग पराजित भएका साउद अहिले बदला लिने दाउमा छन् ।
यसपालि लोकतान्त्रिक वाम गठबन्धनका कारण पनि उनले विगतको निर्वाचनभन्दा केही सहज महसुस गरेका छन् । अर्कोतर्फ ५ वर्षअघिको नतिजा दोहोर्याउँदै फेरि संसद् छिर्ने दाउमा छन् एमालेका युवा नेता धामी । उक्तक्षेत्र मुक्त कमैया, मुक्त हलिया र आरक्ष विस्थापितसंँगै अन्य भूमिहीन र सुकुम्बासी बढी भएको क्षेत्र हो ।
यही कारण उम्मेदवारहरूले विस्थापितदेखि विभिन्न शिविरमा बसोबास गरिरहेकाहरूको व्यवस्थापनको मुद्दा उठाउने गरेका हुन् । उनले महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई पूर्णतादिने, चुरेबाट बग्ने नदीनालाहरूमा तटबन्ध निर्माण गर्ने, चुरे फेद र शुक्लाफाँटा रनिकुञ्ज छेउमा सडक निर्माण गर्नेलगायतका मुद्दाहरू अघि सारेका छन् ।
एमालेका उम्मेदवार धामीले पनि आरक्ष विस्थापितको समस्या समाधानलाई प्राथमिकतामा राखेका छन् । एमाले नेतृत्वको सरकारका पाला आरक्ष विस्थापितको समस्या समाधानका लागि गठन भएका ३० औं आयोगले सिफारिस गरेको १० कठ्ठा जमिन वा ६० लाख रुपैयाँ मुआब्जा दिने विषयलाई कार्यान्वयन गराउने उनले बताए ।
यसअघि २०५६ र ०७० मा सांसद भइसकेका साउद तेस्रो पटक संसद छिर्ने दाउमा छन् । ०७४ मा वाम गठबन्धन हुँदा साउद ९ हजार मतअन्तरले धामीसँगै पराजित भएका थिए ।
त्यतिबेला धामीले ३३ हजार २२० र साउदले २४ हजार ८९३ मत पाएका थिए । तर अहिले अवस्था फेरिएको छ । वाम गठबन्धनको एउटा घटक माओवादीको अहिले कांग्रेससँगै गठबन्धनमा छ । अर्कोतर्फ एमालेबाटै फुटेको एकीकृत समाजवादीले पनि कांग्रेस माओवादीसँगै गठबन्धन गरेको छ । यद्यपि प्रदेशसभामा एकीकृत समाजवादीले मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै क्षेत्र नं. २ (२) र ३ (१) मा उम्मेदवारी दिएको छ ।
