बैतडी — बैतडीमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको सख्या शून्यमा झरेको छ । जिल्लाका कुनै पनि स्वास्थ्यसंस्थाहरुमा कोरोनाका बिरामी भर्ना भएका छैनन् ।
गत सोमबारबाट जिल्ला अस्पतालमा पनि कोरोनाका बिरामी नरहेका अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । अहिले कोरोनाको संक्रमण दर जिल्लामा धेरै कम भएको उनले बताए । परीक्षण गरिएकामध्ये पनि थोरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले बैतडीमा कोरोनाको संक्रमण दर १ दशमलव ४ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘अघिल्लो हप्ता ४ प्रतिशतमा रहेको संक्रमण दर अहिले झरेको छ । त्यसअघि उक्त दर ११ प्रतिशतसम्म रहेको थियो ।’ पछिल्ला ७ दिनमा १६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा २४ जनालाई मात्र संक्रमण देखिएको उनले बताए । पछिल्लो समय संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमै रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
बैतडीमा लकडाउन खुकुलो हुने
कोरोनाको संक्रमण दर घटेसंँगै जिल्लामा लकडाउन पनि खुकुलो गरिने भएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले असार १६ गतेबाट जिल्लामा लकडाउन खोल्ने निर्णय गरेको हो ।
सवारीसाधनहरु पनि जिल्ला भित्र खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘चालकहरुको कोरोना परीक्षण गरेर सवारी साधन सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘पसलहरु पनि बिहानदेखि साँझ ७ बजेसम्म खोल्न दिइनेछ । होटल, रेस्टुरेन्टले भने टेक अवे र होम डेलीभरी सेवामात्र प्रदान गर्न पाउनेछन् ।’
जिल्ला प्रशासन कार्यालय, मालपोतलगायतका सरकारी कार्यालयको सेवा प्रवाह पालिका अनुसार फरक-फरक दिन दिने निर्णय भएको उनले बताए ।
