कञ्चनपुरमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै बजार खोल्न पाइने

वैशाख १४, २०७८

भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि कञ्चनपुरमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खोल्न पाइने भएको छ ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महेन्द्रनगर लगायत जिल्लाका ग्रामिण भेगका बजारहरु मंगलबारदेखि आधा दिन बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार दिउँसो ३ बजेदेखि र बिहान ८ बजेसम्म महेन्द्रनगर लगायत जिल्लाका सबै स्थानीय तहमा रहेका बजारहरु बन्द रहनेछन् । यसैगरी सरकारी, अत्यावश्यक र मालबाहक बाहेकका सवारी साधन जोर विजोर प्रणालीमा चल्न पाउनेछन् ।

‘यसलाई थप कडा गर्दै लगिनेछ, सतर्कता बढाउनु आवश्यक छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘महेन्द्रनगर लगायत दोधारा चाँदनीदेखि पुनर्वाससम्मका सबै स्थानीय तहमा रहेको बजारहरु बन्द हुनेछन् ।’

कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully