काठमाडौँ — काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लाग्ने भएपछि बालाजुस्थित नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायत ठाउँमा घर फर्कनेको भीड बढेको छ । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।
सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै काठमाडौंमा बस्दै आएकाहरू घर फर्कन थालेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलबार बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको छ ।

