वीरगन्ज — जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले पर्सामा एक साता निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।
डीसीसीएमसीको मंगलबार मध्यान्ह बसेको बैठकले कोभिड १९ को बढ्दो संक्रमणलाई तत्काल रोकथाम तथा नियन्त्रण गर्न आवश्यक देखिएकोले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि वीरगन्जस्थित ठाकुरराम क्याम्पसको भवनमा नेपाली सेनाको नेतृत्व र व्यवस्थापनमा सम्बद्ध सबैको सहयोग र समन्वयमा होल्डिङ सेन्टर/आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय भएको छ । यसका लागि प्रदेश २ सरकार, स्थानीय सरकार र विभिन्न स्थानीय संघ संस्थासँग सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
विदेशबाट आएका आफ्ना पालिकाभित्रका नागरिकहरुलाई १० दिन अनिवार्य रुपमा सामुदायिक आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य रुपमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने छन् । हाललाई कम्तिमा २ सय बेड क्षमतासम्मको कोभिड १९ संक्रमितको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश नम्बर २ सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजलाई सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्न अनुरोध गर्ने डीसीसीएमसीले निर्णय गरेको छ ।
