भारतबाट अवकाशप्राप्त फौजीको पीडा- 'नुनतेल जुटाउनै गाह्रो भो'

पेन्सन नेपालमै बुझ्न सकिने व्यवस्था भए किनमेलका लागि भारततर्फ खर्च हुने रकमसमेत स्वदेशमै रोकिन सकिने उनीहरु बताउँछन्।

वैशाख १२, २०७७

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका-११ भुजेलाका हरिसिंह साउद हरेक महिनाको ४/५ तारिखमा सीमावर्ती बजार बनबसा पुग्थे। पेन्सन बुझेको पैसाले उतैबाट नुन, तेलदेखि चिनी, चियापत्ती, आलुप्याज लगायतका सामग्री ल्याउँथे। एक महिनायता उनले न बनबसा पुगेर पेन्सन बुझ्न पाएका छन्, न त घरायसी उपभोग्य सामग्री नै ल्याउन। 

साउद भारतको अर्धसैनिक बल सेन्टर रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) मा दुई दशक सेवा गरी अवकाशप्राप्त फौजी हुन्। दार्चुलाको लेकम क्षेत्रमा पुर्ख्यौली घर भएका उनी भारत उत्तराखण्डको पिथौरागढमा मजदुरी गर्दागर्दै सीआरपीएफमा भर्ना भएका थिए।  उनी साढे तीन दशकअघि नै अवकाश भएका हुन्। 

‘मार्चको तलब बुझ्न पाइन, अप्रिलभरि लकडाउन नै भयो,' उनले भने, 'भारततर्फ आउजाउ बन्दले पेन्सनमात्रै होइन नुनतेलको समेत अभाव हुन थालेको छ।’ उनले बनबसाको स्टेट बैंकबाट पेन्सन बुझ्दै आएका थिए।

भुजेलाकै नन्दराज भट्ट पनि दुई महिनादेखि पेन्सन बुझ्न नपाएर बेखर्ची भएका छन्। दुई दशक भारतको ग्रिफ फोर्समा सेवा गरेका उनले सन् १९८४ मा अवकाश पाए। दार्चुलाको लेकम क्षेत्रकै उनी गाउँलेसँगै आसामबाट १९६३ मा भर्ती भएका हुन्। उनी अहिले मासिक १२ हजार भारु पेन्सन बुझ्छन्। त्यसैबाट छोराछोरीका पढाइ र घर खर्च चलाएका छन्। 

‘पेन्सन नआउँदा दुई महिनादेखि घरखर्च सबै ठप्प भएको छ,’ नन्दराजले भने, ‘नुनतेलका लागि समेत समस्या हुन थालेको छ।' उनी बैंक अफ बडौदाबाट हरेक महिनाको १ तारिखपछि पेन्सन पाउँथे। 

अंग्रेजी महिनाको सुरुवातमा सीमावर्ती बजार खटीमा, बनबसा र टनकपुरका विभिन्न बैंकमा  पेन्सन बुझ्ने नेपालीको भिड नै लाग्छ। बैंकसँगै किनमेलका लागि आर्मी क्यान्टिनहरुमा समेत घुँइचो लाग्छ। तर एक महिनायता सबै ठप्प छ। 

अवकाशप्राप्त फौजीहरुले नेपालमै पेन्सन बुझ्न पाउने व्यवस्था गरिदिनसमेत नेपाल सरकारसँग आग्रह गरेका छन्। लामो समय भारतमा सेवा गरेका उनीहरु कतिपय वृद्ध भएर आफै बैंकसम्म पुग्न सक्ने अवस्थामा पनि छैनन्। ‘दुवैतर्फका सरकारले हाम्रो समस्या बुझिदिनुपर्छ,’ नन्दराज भन्छन्, ‘नेपालमै पेन्सन पाउने व्यवस्थाका लागि पहल हुनुपर्छ।’

दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा भारतका विभिन्न सुरक्षा निकायबाट अवकाश पाएकाहरुको संख्या ठूलो छ। सीआरपीएफ, ग्रिफ, एसएसबी, बीएसएफ, पीएससी र आर्मी लगायतका फोर्सहरुबाट उनीहरुले अवकाश पाएका हुन्। 

नेपालमै पेन्सन बुझ्न सकिने व्यवस्था भए किनमेलका लागि भारततर्फ खर्च हुने रकमसमेत स्वदेशमै रोकिन सकिने उनीहरुको भनाइ छ।

लकडाउन

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully