दाङ — तुलसीपुर उपमहानगरपालिका १५ पहेलपारका वासुदेव रेग्मी लामो समयदेखि नसा सम्बन्धी रोगको औषधि सेवन गर्दै आएका थिए । लकडाउनका कारण १५ किलोमिटर टाढाको तुलसीपुर बजार पुगेर औषधि किन्न कठिन भएको थियो ।
सामाजिक सञ्जालबाट प्राप्त सूचनाका आधारमा उनले तुलसीपुर उपमहानगरपालिकाको टोलफ्री नम्बर १६६०८२५२००० मा फोन गरे । फोन गरेको केही घन्टामै नगरप्रमुख घनश्याम पाण्डे औषधि बोकेर उनकै घरमा पुगे ।
‘औषधि सकिन लागेको थियो । कसरी बजारसम्म पुग्ने भन्ने सोचेको बेला नगर प्रमुखले नै घरमा ल्याइदिएपछि म चकित भए सेवा पाएपछि ढुक्क भएँ’ रेग्मीले भने, ‘लकडाउनले अप्ठेरो पारेको बेला स्थानीय सरकारले यस्तो सेवा दिनु निकै राम्रो कुरा हो ।’ उपमहानगरपालिकाले दीर्घरोगीहरुलाई घरमै औषधि पुर्याउने काम सुरु गरेको छ । लकडाउनका कारण बिरामीहरु बजारसम्म आउन नसक्ने भएकाले घरमै पुर्याउन सुरु गरेको उपमहानगरपालिका प्रमुख पाण्डेले बताए । केही ठाउँमा आफै पुगेर औषधि उपलब्ध गराएको र अब अन्य ठाउँमा नियमित रुपमा स्वास्थ्यकर्मीहरुमार्फत पुर्याइने उनले बताए ।
दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोल–फ्रि नम्बरमा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्म लैजाने व्यवस्था गरिएको तुलसीपुरका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । ‘प्रेसर, सुगर र दमको औषधि हामीले निशुल्क रुपमा उपलब्ध गराएका छौं,’ केसीले भने, ‘वडा वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत पनि औषधि वितरण हुन्छ । औषधि आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफै नजिकको स्वास्थ्य केन्द्रमा आउने या घरमै बोलाउने गर्न सकिन्छ ।’
लकडाउनमा समस्या नहोस् भनेर दीर्घरोगका बिरामीलाई नेपाल फार्मेसी एसोसिएसनको समन्वयमा घरमै औषधि पुर्याउने व्यवस्था मिलाइएको हो । एसोसिएसनका जिल्ला अध्यक्ष अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नसाजन्य, थाइराइडका साथै जटिलखालका मधुमेह लगायतका औषधिहरु घरमै पुर्याइन्छ । ‘फोन सम्पर्क गरेमा फर्मासिस्टले घरमै औषधि पुर्याइदिन्छन्,’ उनले भने, ‘यसबापत छुट्टै शुल्क केही तिर्नुपर्दैन । घरमा पुगेर आवश्यक परामर्श पनि दिइन्छ ।’
उपमहानगरपालिकाभित्र २ हजार २ सय ३३ जना दीर्घरोगी रहेको जनस्वास्थ्य शाखाको तथ्यांक छ । जसमा १ हजार १ सय ६८ मुटुजन्य, ४ सय ३९ मधुमेह, ४ सय ५१ दमजन्य र १ सय ७५ जना अन्य बिरामी रहेको उपमहानगरले जानकारी दिएको छ ।
