भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

चैत्र १९, २०७६

रासस

दार्चुला — भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्‍नाको मृत्यु भएको हो ।

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्‍नाको शव मदकोट झोलुंगे पुल नजिकै फेला परेको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीका लागि मदकोट गएका उनको पुलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त परमानन्द ठगुन्‍नाले बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जनाए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्‍नाले भने, 'हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदैछौं, नेपाल–भारत जोड्‍ने पुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।'

लकडाउनसीमानाका

रासस

Link copied successfully