आफूखुसी राहत नबाँड्न प्रशासनको चेतावनी

चैत्र १९, २०७६

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले कोभिड १९ लाई निहुँ बनाएर जथाभावी सहायता संकलन र वितरण नगर्न चेतावनी दिएको छ ।

यसअघि मजदुरी गरेर जीवनयापन गर्दै आएकाहरूका लागि खाद्यान्नलगायत राहत सामग्री एकद्वार प्रणालीमार्फत संकलन तथा वितरण गर्न प्रशासनले आग्रह गरेको छ । सबैखाले सहायता वडा कार्यालयमार्फत बाँड्न भनिएको छ । आफूखुसी सहायता सामग्री संकलन तथा वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । 


लकडाउनमा विशेष गरी मजदुरमा खानलाउन समस्या पर्ने भन्दै चन्दा उठाउने र सहयोग गर्ने क्रम चलिरहेका बेला प्रशासनबाट चेतावनी आएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कुनै पनि निकाय, संघसंस्था, व्यक्तिले सहायता दिन चाहे सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने बताए । स्थानीय तहले तोकेको मापदण्डअनुसारको सहयोग सामग्री भए मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गर्ने उनले बताए । यसको विवरण भने जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्छ । 


सरकारले वडाध्यक्षको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइसकेको छ । एक जना स्थानीय प्रहरीसमेत रहने समितिले आफ्नो वडामा रोजगारी टुटेका परिवारको लगत संकलन गर्नेछ । आवश्यकताअनुसार चार जनासम्मको परिवार र चार जनाभन्दा बढीको परिवारलाई दुई प्रकारको प्याकेजमार्फत खाद्यान्न वितरण गर्न समितिलाई प्रशासनले आग्रह गरेको छ ।


गण्डकी प्रदेश सरकारले राहत प्याकेजअन्तर्गत हरेक नगरपालिकाका लागि १० लाख रुपैयाँ र गाउँपालिकाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । स्थानीय तह आफैंले पनि राहत प्याकेज घोषणा गरेर लमजुङमा रोजगारी टुटेका मजदुरका परिवारलाई राहत दिन थालिसकेका छन् । 

Link copied successfully