१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

निस्फिक्री गाउँ

राँगा, सुँगर, खसी काट्ने र मासुमा झुत्तिने क्रम उस्तै छ । तासका खाल जमेकै छन् । फुटबल र भलिबल बाजी चलिरहेकै छ । चोरपुलिस र चुङ्गीमा केटाकेटी रमाएकै छन् । सानातिना पसल र भट्टीहरू झनै चलेका छन् । गाउँमा उत्सवजस्तै छ यतिखेर
पूर्ण पी राई

शुक्रबारे बजार एकदुई साता नलागेर के भो र ? जिल्ला सदरमुकाम भोजपुर बजारबाट १२ किलोमिटर पश्चिम मध्यपहाडी लोकमार्गले छातीबाटै चिरेको दाँवाबजार र आसपासमा राँगा, सुँगर, खसी काट्ने र मासुमा झुत्तिने क्रम उस्तै छ ।

निस्फिक्री गाउँ

रेवत श्रेष्ठको चिया पसल गुलजारै छ । तासका खालहरू जमेकै छन् । स्थानीय युवाको फुटबल र भलिबल बाजी चलिरहेकै छ । चोरपुलिस र चुङ्गीमा केटाकेटी असरल्ल रमाएकै छन् । स्मृतिचोक र बलौटेमा क्यारमबोर्ड रन्किएकै छ । मत्थुरामहरू बाँकटे हान्दै हल्लिएकै छन् । युवा हुल बाँधेर यो चोकदेखि त्यो चोक, त्यो चोकदेखि पल्लो चोक गरिरहेकै छन् । बास्तोला र खड्काको पसलमा किनमेल गर्न आउनेको घुइँचो घटेकै छैन । सार्वजनिक यातायात नचलेर के भो र ? दोहोरी पसल होस या छोटी पसल भएर पैदलयात्री हुलका हुल हिँडेकै छन् ।

कोरोनाको विश्वव्यापी महामारीसँग जुध्न सरकारले लकडाउन घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देशले सामाजिक सञ्जालहरू रंगिए । सन्देशमा प्रधानमन्त्री ओली भन्छन्, ‘म घरभित्रैबाट सरकार चलाइरहको छु, तपाईं पनि घरभित्रैबाट घर व्यवहार चलाउनुहोस् ।’

पहाडी गाउँहरूमा सरकारको लकडाउन र प्रधानमन्त्रीको सन्देशले कुनै अर्थ बोकेको देखिँदैन । दाँवाबजार एउटा उदाहरण मात्रै हो । बरु गाउँहरू त ठूलठूला चाडबाडजत्तिकै रन्किएका छन् । पढ्न सहर पसेका विद्यार्थी जाँच–पढाइ केही नहुने भएपछि गाउँ फर्किने नै भए । वर्षौंदेखि दसैं–तिहारमा घर नआएकाहरू समेत दुई हजारको टिकट १० हजारसम्म तिरेर आएका छन् । गाउँतिरका सानातिना पसल र भट्टीहरू झन् चलेका छन् । सडकमा मोटर गुड्न थालेपछि सबैले बिर्सेका पुराना मूलबाटाहरू खोजी–खोजी पहिल्याउँदै गन्तव्यतिर लम्किनेहरू बढेका छन् । सहर त्रास र लकडाउनले सन्नाटा छाएका बेला गाउँहरू उत्सवमा जस्तै देखिएका छन् ।

आत्मविश्वास कि लापरबाही

अहिलेको जमानाका हरेक व्यक्ति सञ्चारको विश्वव्यापी संयन्त्रमा कुनै न कुनै कोणबाट जोडिएकै हुन्छ । कुनै न कुनै माध्यमबाट विश्वका घटना–परिघटना थाहा पाइरहकै हुन्छ । चीनबाट फैलिएको कोरोनाको डढेलोले युरोप र अमेरिका जलाइरहेका समाचार बिहानदेखि बेलुकैसम्म जे हेर्‍यो त्यसैमा, जे सुन्यो त्यसैमा आइरहेका छन् । त्यति मात्रै हैन कोरोना आक्रान्त देशहरूमा दर्दनाक अवस्थाको जानकारीबाट पनि कोही अछुतो छैन ।

गाउँपालिका वा नगरपालिकाको वडास्तरसम्मै विपद् व्यवस्थापनको तयारीस्वरूप विभिन्न क्षमताका आइसोलेसन वार्डहरू बनाउँदै गरेका समाचार पनि कसैका लागि लुकेको छैन । दक्षिण कोरियामा एक महिलाको लापरबाहीले देशैभरि संक्रमण फैलिएको, इटलीमा सरकारको आह्वानलाई जनताले बेवास्ता गर्दा देशै कारुणिक बनेको र चीनको बिमार हो भन्दा बसेको मूल्य विश्वमहाशक्ति अमेरिकाले चुकाउनुपरेको विश्लेषण पनि दुरदराजसम्म पुगेकै हो । तैपनि अधिकांश गाउँले भन्छन्, ‘कोरोना त काठमाडौंमा पो आउँछ त, यहाँ के को आउनु !’ यसो भन्नेहरूमा अधिकतर शिक्षित नै छन् । उनीहरू कारण पनि दिन्छन्– एक, सहरमा जस्तो गाउँमा प्रदूषण छैन । दुई, गाउँमा सबै चिनेका मान्छे हुन्छन् । तीन, डरायो भने मनको बाघले खान्छ, वनको बाघ त वनमै छ नि ।

संक्रमणको प्रमुख आधार व्यक्तिगत संसर्गलाई मानिएको सन्दर्भमा वातावरणीय प्रदूषण भनेको संक्रमणको दरलाई बढाउने माध्यम मात्रै हो, आफैंमा प्रमुख कारण होइन । सबैभन्दा छिटो संक्रमण चिनजानकै व्यक्तिबाट हुने निश्चित देखिन्छ किनभने नचिनेको व्यक्तिसँग त टाँसिने गरी कुनै क्रियाकलाप गरिँदैन, भीडभाडमा च्यापिनु अर्कै कुरा भयो ।

संसारमा कोभिड—१९ संक्रमणबाट मृत्यु हुनेमध्ये पाँच प्रतिशत कारण फोबिया अर्थात डर हुने गरेको तथ्यलाई आधार मान्दा आत्मविश्वास उच्च बनाउनु राम्रो हो तर आत्मविश्वास उच्च बनाउनु भनेको लापरबाही गर्नु होइन । यसको संक्रमणको बाहिरी लक्षण देखिन दुई साता लाग्ने हुनाले को संक्रमित को होइन भन्ने थाहै नहुने भयो । त्यसैले गाउँले गफका अड्डाहरूमा चल्ने सबै दाबी, आधारहरू गलत देखिन्छन् । यसले लापरबाहीको पुष्टि गर्छ ।

यस्ता महामारी नेपालका पहाडी गाउँहरूमा न पहिलो हो न अन्तिम । कुनै पनि महामारीले गाउँलाई छाडेको इतिहास छैन । विश्वको राजनीति, दर्शन र विश्वासको मानचित्रलाई पटकपटक बदल्ने प्लेग होस् या अमेरिकाको आदिवासी बस्तीमा फैलिएको दादुरा, स्पेनिस फ्लु होस् या स्वाइन फ्लु, बर्ड फ्लु या इबोला कसैले पनि गाउँलाई छाडेको छैन । २०३३ सालमा उन्मूलन गरिएको बिफरको महामारी सम्झिने पुस्ता गाउँघरमा अझै प्रशस्त छन् । विसं २०१० ताका कसरी बिफरले गाउँलाई समाप्त पारेको थियो, प्रमाण छँदै छन् । केही वर्ष पहिले जाजरकोटमा फैलिएको हैजाको महामारी ताजै छ । नभोग्नेले पनि सुनेकै छन् । कोभिड—१९ ले गाउँलाई बाँकी राख्ने कुरै छैन तर गाउँमा न मानिसमा त्यसको कुनै चिन्ता र सावधानी छ । सरकार पनि सहरकेन्द्रित छ ।

यस्तो बेवास्ताको मूल्य यतिखेरसम्म आनन्दले रमिरहेका गाउँका मानिसले भोग्नुपर्ने देखिन्छ । कुनै पनि गाउँका एक जनामा संक्रमण भयो भने त्यसले गाउँलाई सखाप पार्ने अवस्था विकास भइरहेको छ । संक्रमणको बाहिरी लक्षण देखिन दुई साता लाग्ने हुनाले त्यसबीचमा उक्त व्यक्तिको कैयौंसँग सम्पर्क भइसकेको हुन्छ । कोभिड–१९ हो कि होइन पत्ता लगाउन लामो समय लाग्ने नै भयो । गाउँका संक्रमितले उपचार पनि पाउने छैनन् ।

बाध्यताको दुरुपयोग

गाउँका मान्छेको बाध्यता र सहजता सहरका मान्छेको भन्दा अलि फरक हुन्छ । त्यही बाध्यता संक्रमणको आगो सल्किने आधार बन्न सक्छ । जस्तो कि अधिकांश गाउँले साझा पानी प्रयोग गर्छन् । दर्जन घरले एउटै धाराको पानी पिउँछन् । ती धारा सार्वजनिक ठाउँमा हुन्छन् । सडक यातायात बन्द भएपछि पैदल हिँड्नेहरू त्यही धारामा हातमुख जोतेर पानी खान्छन् । सिँचाइको कुरा उस्तै हो ।

सबैजसो गाउँलेका कुनै न कुनै दोपाया, चौपाया हुन्छन् । तिनलाई घाँस, चरण र दानापानीको व्यवस्था गर्नै पर्‍यो । जङ्गल, भीरपाखा गर्नै पर्‍यो । गाउँलेका थोरबहुत खेतबारी छन् । ठाउँअनुसार खेतीपातीको चकाभोग सुरु भएको छ । खेतबारी, उकालीओराली गर्नै पर्‍यो, अर्मपर्म गर्नै पर्‍यो । बाटो, खेतबारी, जंगल, कुलो, धारा एकाधको होला तर अधिकांशको सामूहिक छन् । सहरका त २५ प्रतिशत बासिन्दा सामूहिक धारा प्रयोग गर्छन् भने गाउँको त कुरै छाडौं । यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेजस्तो घरभित्र बसेर सरकार चल्न सक्ने रहेछ तर घरबार चल्दैन रहेछ ।

त्यसैले गाउँका मान्छे आफ्नै लापरबाही र बाध्यताले जोखिममा छन् । लापरबाही गर्नेलाई त बल प्रयोग गरेरै भए पनि व्यवस्थापन गर्न सकिन्छ । तर बाध्यताले उत्पन्न जोखिमलाई व्यवस्थापन गर्न कम चुनौतीपूर्ण छैन । यता सरकारले घोषणा गरेको १९ बुँदे राहत प्याकेजलाई सरकार समर्थक कार्यकर्ताले जतिसुकै ठूलो स्वरले प्रचार गरे पनि त्यसको कुनै पनि बुँदाले गाउँलाई सम्बोधन गरेको छैन । लकडाउन जति बढ्दै जान्छ उति उति प्रधानमन्त्रीको त्यो सन्देश र सरकारको १९ बुँदे कार्यक्रम महान् वाणीमा परिणत हुँदै जानेछ । सहरलाई राम्रै होला, गाउँका लागि कागलाई बेल हुन सक्छ ।

-लेखक भोजपुरको दावास्थित सिद्धेश्वर माविका शिक्षक हुन् ।

प्रकाशित : चैत्र १९, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?