परदेशबाट आएका १७ जना घुइयाबारी क्‍वारेन्टाइनमा, अटेरीलाई घरमै सुरक्षित रहन सल्लाह  

चैत्र १९, २०७६

विप्लव महर्जन

सल्यान — भारत र खाडी मुलुकबाट घर फिरेका १७ जना सल्यानको कालीमाटी गाउँपालिका-७ को घुइयाबारीस्थित नेरामावि क्वारेन्टाइनमा छन् ।

विद्यालयमा २० शय्याको क्वारेन्टाइन बनाइएको छ । स्वदेश आएकाहरूलाई घर जान नदिइ सोझै क्वारेन्टाइनमा राखिएको हो । उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर अवस्था हेरिने गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । 'अहिलेसम्म कोरोनाको लक्षण कसैमा पनि देखिएको छैन, तर र्सतर्कताका लागि जरुरी भएकाले अनुरोध गरेर क्वारेन्टाइनमा राखेका हौं,' उनले भने । 


उनका अनुसार गाउँपालिकाका सबै वडामा गरेर ९० शय्याको क्वारेन्टाइन कक्ष तयार पारिएको छ । कालीमाटीका युवा रोजगारीका लागि भारत र खाडीका विभिन्न मुलुक पुगेका छन् । सबैतिर कोरोनाको त्रास बढेसँगै घर फिर्नेको संख्या बढ्न थालेको थियो ।


गाउँपालिकाको केन्द्र मानिने रामपुरको पुतलीबजारस्थित शारदा मावि क्वारेन्टाइनमा राखिएका दर्जनलाई घर जान दिइएको छ । शंकास्पद लक्षण नदेखिएपछि घर जान दिइएका उनीहरूलाई ढुक्क नभइ घरमै सुरक्षित बस्न आग्रह गरिएको खत्रीले बताए । कोरोनाको संत्रास बढेयता गाउँमा भारत तथा खाडी मुलुकबाट करिब दुई सय जनाजति फर्किएका छन् । सबैको स्वास्थ्य परीक्षण गरिएको छ । 


'हामीले गाउँमा बनाएका क्वारेन्टाइनमा बस्न नमान्नेहरू पनि छन्, उनीहरूलाई घरमै सुरक्षित तरिकाले बस्न भनेका छौं,' अध्यक्ष खत्रीले भने, 'मास्क बाँडिरहेका छौं, टोल टोलमा पुगेर कोरोनाबाट बच्न सकिने तरिकाले बताउने पनि गरिरहेका छौं ।' 

लकडाउनकोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully