ब्राजिलले सन् १९६२ मा लगातार दोस्रो पटक विश्वकप जितेको कीर्तिमानलाई पछ्याउने लक्ष्यसहित अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिना फाइनलमा उभिएको छ । अर्कोतर्फ स्पेन २०१० पछि पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
What you should know
इस्ट रदरफोर्ड — पहिलो पटक ४८ राष्ट्र सहभागी गराइएको विश्वकपले चरमोत्कर्ष लिएको समयमा लियोनेल मेसीको अर्जेन्टिनाले सोमबार बिहान ००:४५ मा न्यु जर्सीमा उपाधिका लागि स्पेनसँग फाइनलमा संघर्ष गर्नेछ ।
ब्राजिलले सन् १९६२ मा लगातार दोस्रो पटक विश्वकप जितेको कीर्तिमानलाई पछ्याउने लक्ष्यसहित अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिना फाइनलमा उभिएको छ । अर्कोतर्फ स्पेन २०१० पछि पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
हालैका दिनमा क्यानडाको जंगलमा लागेको डढेलाको कारण धूवाँले ढाकिएको न्यु जर्सीमा आइतबार बिहान भने निलो आकाश देखिएको छ ।
१ सय ४ खेल सम्पन्न प्रतियोगिताले मेटलाइफ रंगशालामा बिट मार्दै गर्दा मेसीको पनि यो अन्तिम विश्वकप खेल हुने बलियो सम्भावना छ । विश्वका महान् खेलाडीमा गनिएका मेसी अर्जेन्टिनालाई आफ्नो कप्तानीमा दोस्रो पटक उपाधि दिलाउने दाउमा छन् । यसो भएमा अर्जेन्टिनाको विश्वकपमा चौथो सफलता हुनेछ ।
इस्ट रदरफोर्डमा ८० हजार दर्शकमाझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एक हुनेछन् । उनले आफ्नै देशले मेक्सिको र क्यानडासँग संयुक्त रुपमा आयोजना गरिएको यस विश्वकपको कुनै खेल हेर्न लागेको यो पहिलो अवसर हो । मेक्सिको राष्ट्रपति क्लाडिया शेइनबाउम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि समारोहमा उपस्थित हुने भएका छन् ।
फाइनल खेलको मध्यान्तरमा हलिउड स्टार टम क्रुजसहित गायिकाहरु मेडोना र साकिराले पनि आफ्नो प्रस्तुति दिनेछन् । विश्वकपको मध्यान्तर दौरान पहिलो पटक यस्तो प्रदर्शनी दिन लागिएको हो । परम्परागत मध्यान्तर ब्रेक १५ मिनेटबाट ३० मिनेट पुर्याउन लागिएको छ ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले ३९ वर्षका उमेरमा आफ्नो टोलीको नेतृत्व गरिरहेका बहुप्रतिभाशाली मेसीलाई हेर्दै अधिकतम् सुविधा उपयोग गर्न आग्रह गरेका छन् । ‘मेसीले इतिहास रचेका छन् र उनी महान् हुन्,’ विगतमा स्पेनिस टोली बार्सिलोनाबाट खेल्ने गरेका मेसीका बारेमा स्कालोनीले भने ।
मेसीले अर्जेन्टिनालाई २०२२ मा विश्वकपको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । तीन पटक विश्व च्याम्पियन अर्जेन्टिनाले यस विश्वकपमा कहिल्यै हार नमान्ने मनोवृत्ति देखाइरहेको छ । इजिप्टसँगको अन्तिम १६ को खेलमा टोलीले २–० ले पछाडि परेर पनि खेल उल्टाएको थियो भने सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध सानदार पुनरागमन गरेको थियो ।
अर्कोतर्फ स्पेन भने एउटै लयमा खेलिरहेको छ र टोलीले प्रतियोगिताको ७ खेलमा केवल १ गोलमात्र खर्चिएको छ । प्रत्येक खेलसँगै उच्च प्रदर्शन गर्दै आएको स्पेनले सेमिफाइनलमा फ्रान्सलाई कुनै मौका नदिई खेल एकतर्फी बनाएको थियो ।
स्पेनका कप्तान रोड्रीले आफू शारीरिक लडाइँका लागि तयार रहेको र अरुको सम्भावित उत्तेजनालाई बेवास्ता गर्ने जनाए । ‘यो खेल शारीरिक रुपमै हुनेछ र हामी त्यसका लागि तयार हुनुपर्नेछ,’ रोड्रीले भने, ‘तर हामी यो राष्ट्रिय टोलीमा जुन हिसाबमा चिनिएका छौं, त्यही हिसाबमा परिस्थितिअनुसार फरक खेल खेल्न पनि जान्दछौं ।’
युवा प्रतिभा १९ वर्षे लामिन यमाल स्पेनका यस्ता युवा खेलाडी हुन्, जो भविष्यका विश्वका उत्कृष्ट हुन सक्ने भनेर आँकलन गरिएको छ । तर स्पेनले यस प्रतियोगितामा व्यक्तिगत प्रदर्शनभन्दा सामूहिक प्रदर्शनमा जोड दिइरहेको छ ।
