अफ्रिकाले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाममध्ये एक रहेको सलाहका लागि विश्व फुटबलमा आफ्नो दरिलो उपस्थिति जनाउने यो नै अन्तिम अवसर हो ।
काठमाडौँ — जतिबेला अर्जेन्टिना मैदानमा उत्रनेछ, सबैको ध्यान लियोनल मेसीमा पर्नेछ । फेरि उनी विश्वकप २०२६ मा लयमा छन् । ७ गोल गरिसकेका छन् । तर फुटबल कोही एक खेलाडीको खेल त पक्कै होइन ।
त्यसलै जतिबेला अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टको सामना गर्नेछ । उत्तिकै धेरै फुटबलप्रेमीको नजर एक अर्को खेलाडीमा हुनेछ र उनी हुन्, मोहम्मद सलाह ।
अफ्रिकाले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाममध्ये एक रहेको सलाहका लागि विश्व फुटबलमा आफ्नो दरिलो उपस्थिति जनाउने यो नै अन्तिम अवसर हो ।
नत्र उनीमाथि दोष लाग्नेछ, यी खेलाडीले क्लब फुटबलमा सबै खाले सफलता त हात पारे । तर आफ्नो देशका लागि केही जित्न सकेनन् । हुन् पनि इजिप्टका लागि सलाहले अहिलेसम्म कुनै पनि उपाधि चुम्न सकेका छैनन् ।
लिभरपुलका लागि उनले दुईपल्ट इंग्लिस प्रिमियर लिग जिते । एक अवसरमा युरोपली च्याम्पियन्स लिग पनि जिते । यसपल्ट मेसीको छायाँबाट बाहिर निस्केर सलाहसामु सबैको मन जित्ने अवसर हुनेछ ।
अहिलेसम्म उनले एक गोल गरेका छन् भने अन्य दुई गोलमा अवसर सिर्जना गरेका छन् । अर्जेन्टिनालाई इजिप्टले स्तब्ध पार्ने हो भने सलाहले आफ्नो खेलजीवनकै एक उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
