अर्जेन्टिनाको कमजोरीमा इजिप्टलाई मौका

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेलाई ३–२ ले हराउन अतिरिक्त समयको खेल आवश्यक परेको थियो । अझ इजिप्टले त अस्ट्रेलियाविरुद्ध पूरा १ सय २० मिनेटको खेल खेलेको थियो ।

असार २३, २०८३

रोयटर्स

Egypt's opportunity in Argentina's weakness

What you should know

कान्सास सिटी — अर्जेन्टिना र इजिप्ट मंगलबार एटलान्टामा अन्तिम १६ को चरणमा भिड्दै छन् । त्यसको ठीक अगाडि दुवै टिम चर्को मानसिक र शारीरिक परीक्षाबाट गुज्रिएका थिए । त्यसैले दुवैले आरामको अवसर नै पाएका छैनन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेलाई ३–२ ले हराउन अतिरिक्त समयको खेल आवश्यक परेको थियो । अझ इजिप्टले त अस्ट्रेलियाविरुद्ध पूरा १ सय २० मिनेटको खेल खेलेको थियो । 

निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा टुंगिएपछि इजिप्ट पेनाल्टी शुटआउटमा ४–२ ले विजयी रहेको थियो । यी खेलले दुवै टिमलाई आफ्नो टिमको कमजोरी पक्ष सोच्न बाध्य पारेको छ, विशेषतः अर्जेन्टिनालाई । यसपल्टको विश्वकपमा अर्जेन्टिना पहिलो पटक केप भार्डेविरुद्ध दबाबमा देखिएको थियो र टोलीका कमजोरीबाट पनि फाइदा उठाउन सकिन्छ भने प्रमाणित भएको थियो । 

समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको लियोनल स्कोलानीको टिमले केप भार्डेविरुद्ध गरेको संघर्षमा एक खाले प्रश्न उठेको छ । यसले जिज्ञासा राखेको छ, अर्जेन्टिना यही एक खेलमा मात्र चुकेको हो कि टिममै साँच्चै कमजोरी छ ? अर्जेन्टिनाका पूर्व खेलाडी सर्जियो अगुइरोले यस्तै प्रश्न उठाएका छन् । उनी भन्छन्, ‘टिमले निकै कम समयको आराम पाएको छ र यो चिन्ताको विषय हो ।’

उनका अनुसार अर्जेन्टिनाका अधिकांश खेलाडी शारीरिक रूपमा थाकेका मात्र छैनन्, समस्याबाट पनि गुज्रिरहेका छन् । 

उनी थप्छन्, ‘इजिप्ट आफैंमा शारीरिक रूपमा बलियो टिम हो र यो स्तरको आधारमा केप भार्डेभन्दा अगाडि छ ।’ स्वयं लियोनल मेसीले पनि केप भार्डेविरुद्धको खेलपछि आफू थाकेको प्रतिक्रिया दिएका थिए । उनका अनुसार लगातार तीव्र गतिमा खेल्न गाह्रो हुन्छ । 

केप भार्डेको बहादुरीपूर्ण प्रदर्शनले कसैलाई सबैभन्दा बढी उत्साही बनाएको छ भने त्यो इजिप्टलाई हो । उत्तरी अफ्रिकी देश धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ । उनी मोहम्मद सलाह हुनेछन् । अर्का प्रमुख खेलाडी ओमर मरमोसले पनि इजिप्टका लागि आफ्नो खेलमा सुधार गर्नुपर्नेछ ।

इजिप्टका लागि सलाह कति पूर्णतः फिट छन्, त्यो पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ । अस्ट्रेलियाविरुद्धको खेलमा उनी केही संघर्षरत रहेका थिए । अर्जेन्टिनी मिडफिल्डर लियानार्दो पार्डेस भन्छन्, ‘इजिप्टविरुद्धको खेल पक्कै पनि सजिलो हुने छैन । अहिले हामी विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेलिरहेका छौं र यसमा सहभागी हुने सबै देश स्तरका आधारमा उत्तिकै बलिया छन् । इजिप्ट पनि मानसिक र शारीरिक रूपमा बलियो छ ।’ यो खेल जित्ने टिमले स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुने खेलको विजेता टिमको सामना गर्नुपर्नेछ ।

विश्वकप २०२६

रोयटर्स

Link copied successfully