पछिल्ला पाँच विश्वकपमा ब्राजिल चारपल्ट क्वाटरफाइनलमै रोकिएको छ।
What you should know
इस्ट रडरफोर्ड — ब्राजिलले कार्लो एन्सेलोट्टीलाई किन अनुबन्ध गरेको थियो भने यी इटालीका प्रशिक्षकले एक अर्को विश्वकप जित्ने देशको सपना पूरा गर्नेछ ।
तर विश्वकपमा ब्राजिलको खराब प्रदर्शनको क्रम आइतबार पनि जारी रह्यो र यो उत्तिकै पीडादायी बन्यो । इर्लिङ हालान्डको दुई गोलको मद्दतमा नर्वेले अन्तिम १६ को खेलमा मेटलाइफ स्टेडियममा ब्राजिललाई हराएको हो ।
ब्रुनो गुइमारेसले ब्राजिलका लागि सुरुमै पेनाल्टीमा गोल गरेको भए सायद कथा बेग्लै हुन सक्थ्यो । खेलको अन्त्यतिर नेयमरले पेनाल्टीबाट एक गोल त फर्काए तर त्यो सान्त्वनाभन्दा बढी अरू रहेन । विश्वास नहुन सक्छ, ब्राजिल जस्तो टिमले नर्वेविरुद्धको खेलमा बलमाथि नियन्त्रण राखेको प्रतिशत थियो, जम्मा ३४ । यस्तोमा ब्राजिल सन् १९९० यता पहिलो पटक यति चाँडै प्रतियोगिताबाट बाहिरिएको छ ।
रियल म्याड्रिड र एसी मिलानका पूर्व प्रशिक्षकलाई गत वर्ष मे महिनामा नियुक्त गरिएको थियो । उनले भर्खरै मात्र सन् २०३० सम्मका लागि आफ्नो अनुबन्ध पनि लम्ब्याएका थिए । सायद उनलाई पनि के थाहा थियो भने ब्राजिलका लागि यसपल्टको विश्वकप जित्न सम्भव छैन, तर उनले यति चाँडै प्रतियोगिताबाट आफ्नो टिम बाहिरिन्छ भनेर पनि सोचेका थिएनन् ।
यी सबैका बावजुत उनी आफ्नो जिम्मेवारीमा कायम रहने छन् । उनले खेलपछि भनेका छन्, ‘हारसँगै एउटा अर्को नयाँ यात्रा सुरु हुने गर्छ । हामीले आफ्नो कडा मिहिनेतको क्रमलाई रोक्नुहुन्न र टिमको प्रदर्शनमा सुधार गरिरहनुपर्छ । यो फुटबल हो, यो खेल हो, यसमा जे हुन्छ, त्यो सहनु नै पर्छ । यो नै अगाडि बढ्न चाहिने इन्धन हो ।’
ब्राजिलले एन्सेलोट्टीलाई आफ्नो प्रशिक्षक बनाउन केही नभए पनि दुई वर्षदेखि प्रयास गरिरहेको थियो । सन् २०२२ को विश्वकपमा ब्राजिल क्रोएसियाको हातबाट पराजित भएयता लगातार पतनको क्रममा थियो । त्यस विश्वकपलगत्तै चिची बाहिरिए र आए, फर्नान्डो डिनिज । उनी ६ खेलमात्र रहे । त्यसपछि पालो थियो, डोरिभल जुनियरको । उनको नेतृत्वमा ब्राजिल सन् २०२४ को कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो । गत वर्षको मार्चमा उनी बर्खास्तगीमा परे ।
त्यसपछि एन्सेलोट्टीको काँधमा ब्राजिली टिमको जिम्मा आएको थियो । ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा १० टिममध्ये पाँचौंमा रह्यो, तर शीर्षका अर्जेन्टिनासँगको दूरी १० अंक मात्र रहेको थियो ।
यति हुँदाहुँदै पनि यस विश्वकपमा ब्राजिलले राम्रो गर्ने विश्वास थियो, तर टिमले त्यही नियति भोगेको छ, जुन सन् २००२ को विश्वकपदेखि कायम छ । नकआउट चरणमा ब्राजिलले त्यस विश्वकपयता जतिबेला युरोपेली प्रतिद्वन्द्वीको सामना गरेको छ, यो दक्षिण अमेरिकी टिम पराजित छ ।
यसअघिका पाँच विश्वकपमध्ये ब्राजिल चारपल्ट क्वाटरफाइनलमा हारेको छ । एकपल्ट सेमिफाइनलमा पराजित रहेको छ र यो जर्मनीविरुद्धको बिर्सनलायक ७–१ को हार थियो, जुन सन् २०१४ मा आफ्नै देशमा आयोजित विश्वकप थियो । अहिलेको हारले के पनि संकेत गरेको छ भने ब्राजिल अगाडि बढ्नुको साटो पछाडि गइरहेको छ । भलै, टिममा रियल म्याड्रिडका स्टार खेलाडी भिनिसियस जुनियर जत्तिका खेलाडी छन् र उनी अर्को साता २६ वर्षका मात्र हुँदै छन् ।
भिनिसियस भन्छन्, ‘विश्वकपबाट बाहिरिनु जत्तिको पीडा अरू हुन सक्दैन । तर हामी यसमै मात्र अडेर बस्नुहुन्न । हामीलाई अगाडि जानु छ । अहिलेको स्थितिमा हामीले गर्न सक्ने केही पनि होइन ।’
त्यसको अर्थ अब ब्राजिलको ध्यान सन् २०२८ को कोपा अमेरिकामा हुनेछ र यो प्रतियोगिता टोलीका लागि सन् २०३० को विश्वकप तयारीको अवसर हुनेछ । जति बेला यो अवसर आउनेछ, पेले जत्तिका महान् खेलाडीको देशले कुनै पनि उपाधि नजितेको २८ वर्ष पूरा हुनेछ । युरोपेली क्लबमा एन्सेलोट्टीको प्रदर्शन उच्च छ, उनले पाँचपल्ट युरोपेली च्याम्पियन्स लिग जितेका छन् । तर विश्वकपमा उनको सम्बन्ध पनि सुखद रहेको छैन । सन् १९८२ को विश्वकपमा खेलाडी छँदा उनले चोटका कारण खेल्न सकेनन् ।
जतिबेला इटालीले सन् १९९० को विश्वकप आयोजना गरेको थियो, त्यतिबेला उनी सम्मिलित टिम सेमिफाइनलमा अर्जेन्टिनासँग हारेको थियो । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा ३५ वर्षीय एन्सेलोट्टी मुख्य प्रशिक्षक एरियो साचीको सहायक थिए । त्यतिबेला उनको टिम फाइनलमा ब्राजिलसँगै हारेको थियो । यसपल्टको विश्वकपलाई लिएर एन्सेलोट्टीको निचोड रह्यो, ‘हाम्रो लागि यो विश्वकप उत्कृष्ट रहेन, खराब पनि रहेन ।’
