‘इंग्ल्यान्डले जित्न जानेको छ’

खेलपछि केनले भने, ‘यो खेल निकै रोमाञ्चक रह्यो । हामीलाई खेल जित्न पनि गाह्रै भयो । मलाई के लाग्छ भने अब इंग्ल्यान्डले यस्तो स्थितिमा जित्न जानेको छ ।’

असार २३, २०८३

एएफपी

'England is going to win'

What you should know

मेक्सिको सिटी — इंग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपको अन्तिम १६ मा मेक्सिकोमाथि निकालेको संघर्षपूर्ण ३–२ को जितमा आफ्नो टिमको प्रदर्शनलाई लिएर गर्व रहेको बताएका छन् । 

जारेल क्वान्सा रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड टोली दबाबमा रहेको थियो । खेलपछि केनले भने, ‘यो खेल निकै रोमाञ्चक रह्यो । हामीलाई खेल जित्न पनि गाह्रै भयो । मलाई के लाग्छ भने अब इंग्ल्यान्डले यस्तो स्थितिमा जित्न जानेको छ ।’ 

इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले दुई गोल गरेका थिए, त्यो पनि ९८ सेकेन्डको अन्तरमा । केनले थपे, ‘हामीविरुद्ध जुन पेनाल्टीको निर्णय भएको छ, फुटबलमा यस्तो कहिलेकाहीं हुन्छ । धन्न, यसले खेलमा निर्णायक असर परेन । जेहोस्, म धेरै खुसी छु ।’ 

बेलिङ्घमले पनि मेक्सिकोविरुद्ध इंग्ल्यान्ड जर्सीमा आफूले अहिलेसम्मकै उच्च प्रदर्शन गरेको बताए । उनले भने, ‘इंग्ल्यान्डका लागि मैले जसरी खेलें, त्यो उच्चस्तर र अविश्वसनीय रह्यो । योको खेल पनि आफैमा नाटकीय रह्यो । मेक्सिकोले जसरी खेल्यो, त्यसको पनि प्रशंसा गर्नुपर्छ ।’ 

अब क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेको सामना गर्नेछ । नर्वेले यसअघिको खेलमा ब्राजिललाई हराएको थियो । त्यसका नायक रहेका थिए, इर्लिङ हालान्ड । कीर्तिमानी पाँचपल्टको च्याम्पियनमाथिको जितपछि हालान्डले भने, ‘यो त सपनामा पनि नचिताएको ठूलो जित रह्यो ।’ 

उनले थपे, ‘मलाई यो जितमा अझै विश्वास भइरहेको छैन । इमान्दारितापूर्वक भन्दा ब्राजिल जस्तो टिमविरुद्ध यस्तो जितको कल्पना गरिन्न । तर म आफैं आफ्नो विचारप्रति गलत साबित भएँ, त्यसैले खुसी छु ।’ 

ब्राजिलविरुद्ध नर्वेको अविश्वसनीय गर्विलो प्रदर्शन यस जितसँगै कायम रह्यो । ब्राजिलविरुद्ध खेलेका पाँच खेलमा नर्वे अपराजित छ । त्यसमध्ये नर्वे तीन खेलमा विजयी छ भने अन्य दुई खेल बराबरीमा टुंगिएका छन् । नर्वेका लागि २५ वर्षीय हालान्डले गरेको गोलसंख्या पनि समग्रमा ६२ पुगेको छ, त्यो पनि ५४ खेलमात्र । 

यस विश्वकपमा हालान्डले गरेको गोलसंख्या पनि ७ पुगेको छ । अर्जेन्टिनाका लियनल मेसी र फ्रान्सका केलियन एमबाप्पेले पनि समान ७ गोल गरेका छन् । केनले पनि आफ्नो संख्यालाई ६ पुर्‍याएका छन् । यस्तोमा उच्च गोलकर्ताको होड रोमाञ्चक रहने भएको छ ।

विश्वकप २०२६

एएफपी

Link copied successfully