स्वीट्जरल्याण्ड र अल्जेरिया फिफा अन्तिम १६ का लागि भिड्दै

अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले ७ वर्षसम्म स्वीट्जरल्याण्डको राष्ट्रिय टोली सम्हालेका थिए । आज उनी आफ्नै पूर्व टोलीलाई विश्वकपबाट बाहिर निकाल्ने रणनीतिसहित मैदान उत्रनेछन्।

असार १९, २०८३

कान्तिपुर संवाददाता

Switzerland and Algeria face off in FIFA last 16

काठमाडौँ — फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत क्यानडाको भ्यान्कुभरस्थित बीसी प्लेस स्टेडियममा शुक्रबार बिहान ८:४५ बजे देखि स्वीट्जरल्याण्ड र अल्जेरिया भिडिरहेका छन् । युरोपेली टोली स्वीट्जरल्याण्ड र उत्तर अफ्रिकी राष्ट्र अल्जेरियाबीचको यो खेल नकआउट चरण भएकाले दुवै टोलीका लागि 'गर या मर' को स्थिति रहनेछ।

यो खेलको सबैभन्दा रोचक पक्ष अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिच हुन्। उनले ७ वर्षसम्म स्वीट्जरल्याण्डको राष्ट्रिय टोली सम्हालेका थिए र स्विस फुटबललाई नजिकबाट बुझेका छन्। आज उनी आफ्नै पूर्व टोलीलाई विश्वकपबाट बाहिर निकाल्ने रणनीतिसहित मैदान उत्रनेछन्।

समूह 'बी' मा उत्कृष्ट प्रदर्शन गर्दै स्विस टोली समूह विजेता बनेको थियो। कतारसँग १-१ को बराबरी खेल्दै प्रतियोगिता सुरुवात गरेको उसले बोस्नियालाई ४-१ र सह-आयोजक क्यानडालाई २-१ ले हराउँदै उच्च मनोबलका साथ नकआउटमा स्थान बनाएको हो।

अल्जेरियाको नकआउट छनोट भने निकै नाटकीय रह्यो । अर्जेन्टिनासँग ३-० ले पराजित भए पनि जोर्डनलाई २-१ ले हराउँदै अल्जेरियाले अन्तिम खेलमा अस्ट्रियासँग ३-३ को रोमाञ्चक बराबरी खेल्यो र उत्कृष्ट तेस्रो स्थान प्राप्त गरी अन्तिम ३२ मा आएको हो।

स्वीट्जरल्याण्डका प्रमुख खेलाडीमा योहाने मन्जाम्बीले समूह चरणमा ३ गोल गरिसकेका छन्। उनी 'फिफा योङ प्लेयर अवार्ड' को बलियो दाबेदारका रूपमा पनि उभिएका छन्। उता, अल्जेरियामा टोलीका कप्तान तथा अनुभवी विङ्गर रियाद महरेज छन् । उनले पनि यस विश्वकपमा अल्जेरियाका लागि २ गोल र १ असिस्टको योगदान दिएका छन्। टोलीको ब्याकलाइनमा भने लुका जिदानले गोलकिपिङको जिम्मेवारी सम्हाल्केका छन्।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully