यससँगै तीन पल्टको उप विजेता नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरएको छ ।
काठमाडौँ — मोरक्कोले टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै मंगलबार विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । इस्माइल सइबारीले पाँचौं तथा अन्तिम पेनाल्टीमा गोल गरेपछि मोरक्कोको नाटकीय जित सम्भव भएको हो ।
पछिल्लो विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरक्कोका लागि सोफिन रहिमी र चेमसडिन टालबीले पेनाल्टीमा गोल गरे । नेदरल्यान्ड्सका लागि टेउन कोपमेनेर्स र वुट वेघार्स्टले मात्र गोल गरे । यससँगै तीन पल्टको उप विजेता नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरएको छ ।
यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । खेलको ३२ औं मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि गोलको खाता खोले । उनले वुट वेघार्स्टले निकालेको सनसनीपूर्ण पासलाई गोलमा परिणत गरे ।
दोस्रो हाफको इन्ज्युरी समय इसा डिओपले मोरक्कोका लागि बराबरी गोल फर्काए । चेमसडिन टालबीले निकालेको सटिक पासलाई उनले हेडरको मद्दतले गोल गरेका हुन् । त्यसपछि थपिएको अतिरिक्त समयमा गोल हुन सकेन् ।
