हालान्डले विश्वकपका दुई खेलमा ४ गोल गरिसकेका छन् । फ्रान्सविरुद्धको लिग चरणको अन्तिम खेलमा उनलाई आराम दिइएको थियो ।
What you should know
मोन्टेरी — विश्वकप को अन्तिम ३२ चरणको खेलमा नर्वेले डालासमा आइभोरी कोस्टको सामना गर्दा सबैको ध्यान एकै खेलमा केन्द्रित रहनेछ । उनी हुन्, इर्लिङ हालान्ड । तर आइभोरी कोस्टसँग पनि उत्तिकै प्रतिभाशाली खेलाडी रहेका छन् । हालान्डले विश्वकपका दुई खेलमा ४ गोल गरिसकेका छन् । फ्रान्सविरुद्धको लिग चरणको अन्तिम खेलमा उनलाई आराम दिइएको थियो ।
त्यस खेलमा उनी मात्र होइनन्, अरू पहिलो रोजाइका प्रमुख खेलाडीले खेलेनन् । इराकविरुद्धको पहिलो खेलमै हालान्डले दुई गोल गरेका थिए । यो २८ वर्षयता विश्वकप खेलिरहेको नर्वेको पहिलो खेल पनि थियो । लगत्तै लिग चरणको दोस्रो खेलमा सेनेगललाई हराएपछि नर्वेको दोस्रो चरणको यात्रा तय भइसकेको थियो । आइभोरी कोस्टको योजना पनि यिनै हालान्डलाई कसरी रोक्ने भन्ने तथ्यमा केन्द्रित हुनेछ ।
यो खासमा पश्चिम अफ्रिकी देशको रक्षापंक्तिको वास्तविक परीक्षा पनि हुनेछ । त्यस रक्षापंक्तिका मुख्य खेलाडी हुनेछन्, प्रतिभाशाली मानिएका २२ वर्षीय ओसमन डायमन्डे । अर्को सिजन सुरु हुँदासम्म उनले स्पोर्टिङ लिस्बन छाडेर इंग्लिस प्रिमियर लिग लागिसक्ने अनुमान छ ।
प्रशिक्षक इमर्से फाएको रणनीति हालान्डलाई सक्दो चुप राख्ने मात्र हुने छैन । उनी चाहन्छन्, आइभोरी कोस्ट आफैंले पनि आक्रमण गरोस् । हुन पनि यो टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी नै छैन । फरवार्डमा खेल्ने किशोर खेलाडी यान डायमन्डेले नर्वेलाई गाह्रो पार्न सक्ने छन् । आर्सनलले कीर्तिमानी रकममा कुनै बेला अनुबन्ध गरेका निकोलस पेपे पनि कम्तीका रहने छैनन् । उनले कुरासाओविरुद्ध दुई गोल गरेर आफ्नो प्रतिष्ठाअनुसार खेल पनि खेले ।
प्रशिक्षक फाएसामु आक्रमणमा खेल्न सक्ने ९ खेलाडी उपलब्ध छन् । उनको काम त्यसमध्ये सही छनोट गर्नुमात्र हुनेछ । त्यसमा एक–एक इन्टर मिलानका एन्गे योना–बोनी पनि रहेका छन् । फाए भन्छन्, ‘गोल गर्न सक्नु नै हाम्रो मुख्य अस्त्र हो, हामी चारैतर्फबाट आक्रमण गर्न सक्षम टिम हौं । हाम्रो वेञ्च पनि उत्तिकै बलियो छ ।’
नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनले रणनीतिक रूपमै आफ्ना खेलाडीलाई धेरै कामबाट जोगाएका छन् । त्यो भनेको फ्रान्सविरुद्ध प्रमुख खेलाडीलाई नउतारेर नै हो । उनी भन्छन्, ‘कुरा सामान्य छ, सेनेगलविरुद्धको खेलपछि हाम्रा अधिकांश खेलाडीलाई आराम चाहिएको थियो ।’
दुवै टिमका प्रशिक्षक डालासको मौसमलाई लिएर पनि सचेत रहनेछन् । खेल मध्य दिनमा सुरु हुनेछ, त्यसैले खेलाडीले चाँडै आफ्नो सम्पूर्ण शक्ति खर्चेर खेल्नु बुद्धिमतापूर्ण हुने छैन ।
