आत्मविश्वासी स्विडेनसामु भिड्दै डच टोली

स्विडेनले विश्वकपमा शनिबार हुने समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ । यो हुनेछ, आत्मविश्वासी टिमविरुद्ध निरास प्रतिद्वन्द्वीको भिडन्त ।

असार ६, २०८३

रोयटर्स

Dutch team faces confident Sweden

What you should know

ह्युस्टन — स्विडेनले विश्वकपमा शनिबार हुने समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ । यो हुनेछ, आत्मविश्वासी टिमविरुद्ध निरास प्रतिद्वन्द्वीको भिडन्त । स्विडेनले आफ्नो विश्वकप इतिहासमा ८८ वर्षयता सबैभन्दा उत्कृष्ट सुरुआत लिएको छ । यस क्रममा टोलीले ट्युनिसियालाई सजिलै ५–१ ले हराएको थियो । 

नेदरल्यान्ड्सले भने जापानसँग २–२ को बराबरी खेलेको थियो । डच टोलीले त्यस खेलमा दुईपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको थिएन । स्विडेन युरोपेली छनोटमा त्यस्तो टिम रहेको थियो, जसले प्लेअफको बाटो तय गर्नुपरेको थियो । त्यसैले पहिलो खेलको जित स्विडेनका लागि ठूलो राहतका रूपमा आएको छ । 

यसको ठीक विपरीत डच टिम भने पूरा छनोटमै अपराजित थियो । तर अहिलेको सुरुआतले प्रशिक्षक रोनाल्ड कोमनको रणनीतिमाथि पनि प्रश्न उठेको छ । त्यस खेलमा जापानले ८९ औं मिनेटमा दोस्रो बराबरी गोल फर्काउनु अगाडि कोमनले रक्षात्मक रणनीति त्यागेको थियो । यदि टिमले अब स्विडेनको सामना गर्दा आफ्नो प्रदर्शनमा ब्यापक सुधार गर्नुपर्नेछ । 

स्विडेनले भने इंग्लिस प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा अहिले सुधारिएको प्रदर्शन गरिरहेको छ । सन् १९३८ यता स्विडेनले विश्वकपको एकै खेलमा यति धेरै गोल गरेको यो नै पहिलो पटक थियो । अझै पनि डच टिमसँग त्यस्ता खेलाडी छन्, जसले कुनै पनि बेला खेल आफ्नो पक्षमा पार्न सक्छ । जस्तो कि कोडी गाक्पो, फ्रान्क डे जोङ र डेन्जेल डम्फ्राइज । 

यी सबै खेलाडी जापानविरुद्ध लगभग फिक्का रहे । नेदरल्यान्ड्सलाई आफ्ना उच्च गोलकर्ता मेम्फिस डिपेको स्थितिलाई लिएर पनि चिन्ता रहनेछ । जापानविरुद्ध उनले वेञ्चबाट आएर खेलेका थिए, तर प्रभावशाली देखिएनन् । चोटबाट पूर्णतः मुक्त हुन संघर्षरत यी खेलाडी अन्यथा स्विडेनविरुद्धको रक्षापंक्ति तोड्न भने सक्षम हुन सक्छन् । 

उनलाई लिएर कोमनले पहिलो खेलपछि भनेका छन्, ‘मेम्फिस अब तयार छन् । मलाई लाग्छ, उनी मैदानमा उत्रन आतुर छन् । तर जापानविरुद्ध पूरा टिमले नै थप आक्रमण बुन्न सकेन । मलाई के पनि राम्रोसँग थाहा छ भने टिमको प्रदर्शनमा सुधार आवश्यक छ ।’ स्विडेन वास्तवमै उत्साहित रहनुको एउटा अर्को कारण पनि छ । 

नेदरल्यान्ड्सविरुद्धको खेल जित्ने हो भने स्विडेन समूहको शीर्षस्थानमा रहेर लिग चरण टुंग्याउने सम्भावना हुनेछ । पोर्टरले गत अक्टोबरमै मात्र टिम सम्हालेका थिए । तर उनी आएयता टिम विश्वकपका लागि मात्र छनोट भएको छैन, टिमकै समग्र प्रदर्शनमा पनि सुधार आएको छ । फेरि स्विडेनसँग पनि एलेक्जान्डर इसाक र भिक्टोर ग्योकेरेस जस्ता खेलाडी नभएको पनि होइन । 

यी दुई खेलाडीकै काँधमा नेदरल्यान्ड्सको रक्षापंक्ति तोड्ने जिम्मेवारी हुनेछ । जापानविरुद्ध पहिलो गोल गर्नेमा कप्तान भर्जिल भान डाइक नै थिए । तर उनी आफै रक्षापंक्तिमा भने अलिकति हतास देखिए । यासिन अयरीले स्विडेनका लागि पहिलो खेलमा दुई गोल गरेका थिए र यी उदीयमान खेलाडी फेरि एकपल्ट टिमका लागि महत्त्वपूर्ण खेलाडी रहनेछन् । 

प्रशिक्षक पोटर भन्छन्, ‘अहिले टिममा धेरै सकारात्मक पक्ष रहेका छन् । हामीले जसरी प्रतियोगितामा सुरुआत गरेका छौं, त्यसले हामीलाई उत्साही पनि बनाएको छ । तर हामी यसमै मात्र रमेर बस्नु ठीक हुन्न । अब हामी अर्को खेल खेलिरहेका छौं र त्यसमा प्रतिद्वन्द्वी पनि फरक रहनेछ । हाम्रो लागि अबको खेलको ठूलो महत्त्व र अर्थ दुवै छ ।’

विश्वकप २०२६

रोयटर्स

Link copied successfully