दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकप २०२६ को सुपर एट ग्रुप वानमा आइतबार जिम्बावेलाई पाँच विकेटले हराएको छ ।
काठमाडौँ — दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकप २०२६ को सुपर एट ग्रुप वानमा आइतबार जिम्बावेलाई पाँच विकेटले हराएको छ । जितका लागि १ सय ५४ रन पछ्याउने क्रममा दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर १७.५ ओभरमा विजयी लक्ष्य पूरा गरेको थियो । यससँगै प्रतियोगितामा दक्षिण अफ्रिका एक्लो अपराजित टिम बनेको छ । दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल पुगिसकेको थियो ।
उसका लागि डेवाल्ड ब्रेभिस १८ बलमा सर्वाधिक ४२ रन जोडे । यस्तै, रायन रिकेल्टनले २२ बलमा ३१ रन थपे । जर्ज लिन्डे ३० र ट्रिस्टन स्टब्स २१ रन बनाएर नटआउट रहे । जिम्बावेका लागि कप्तान सिकन्दर राजाले २९ रनमा तीन विकेट हात पारे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको जिम्बावेले सात विकेटमा १ सय ५३ रन रन बनाएको थियो ।
त्यसमा कप्तान राजाले सर्वाधिक ७३ रन बनाए । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । यस्तै, क्लाइभ मनान्डेले २० बलमा २६ रन जोडे । दक्षिण अफ्रिकी बलरमध्ये केवेना माफका र कोरबिन बोचले दुई दुई विकेट लिए । जिम्बावेको यसअघि नै सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसककेको थियो । सुपर–एटमा जिम्बावे आफ्ना तीनै खेलमा पराजित रह्यो ।
