श्रीलंकामाथि ५ रनको विजय हात पारे पनि पाकिस्तान ट्वान्टी-२० विश्वकपको ‘सुपर एट’ बाटै बाहिरिएको छ ।
What you should know
क्यान्डी — श्रीलंकामाथि ५ रनको विजय हात पारे पनि पाकिस्तान ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ बाटै बाहिरिएको छ । शनिबार क्यान्डीमा आफूअनुकूल नतिजा ल्याउन नसकेपछि पाकिस्तान सेमिफाइनल पुग्न असफल भएको हो ।
श्रीलंकालाई कम्तीमा ६५ रन अन्तरले पराजित गरेको भए पाकिस्तान सेमिफाइनलमा पुग्ने थियो । तर झिनो रन अन्तरमा विजयी भएपछि न्युजिल्यान्डलाई रन रेटमा उछिन्न पाकिस्तान असफल भयो । पाकिस्तान र न्युजिल्यान्ड दुवैको समान ३ अंक भए पनि राम्रो रन रेटमा न्युजिल्यान्ड सेमिफाइनल पुग्यो ।
‘सुपर एट’ को ग्रुप २ मा इंग्ल्यान्ड तीनै खेल जितेर सेमिफाइनल पुगिसकेको थियो । सहआयोजक श्रीलंका तीनै खेलमा पराजित भयो । तर दासुन सानकाले ३१ बलमा अविजित ७६ रन बनाएर श्रीलंकालाई विजय लक्ष्य २ सय १३ को नजिक पुर्याएका थिए । उनले शाहिन साह अफ्रिदीको पहिलो चार बलमा १ चौका र ३ छक्का प्रहार गरेपछि श्रीलंकालाई अन्तिम दुई बलमा विजयनिम्ति ६ रन आवश्यक भयो ।
तर अफ्रिदीले अन्तिम दुई बल अफसाइड बाहिर राख्दै पाकिस्तानको जित सुनिश्चित गराए पनि अर्को चरणमा पुर्याउन सकेनन् । श्रीलंकाले ७ विकेट गुमाई २ सय ७ रनमात्र बनायो । पाकिस्तानले सेमिफाइनलमा पुग्न श्रीलंकालाई १ सय ४७ रनमुनि रोक्नुपर्थ्यो ।
सानकाले आफ्नो इनिङ्समा २ चौका र ८ छक्का प्रहार गरे । पवन रत्नायकेले ३७ बल खेल्दै ४ चौका र ३ छक्कासहित ५८ रन बनाए । कामिल मिसारा २६ र चारिथ असालन्का २५ रनमा आउट भए । पाकिस्तानबाट अबरर अहमदले ३ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चे । अफ्रिदी, नसिम साह र मोहम्मद नवाजले १–१ विकेट लिए ।
यसअघि पाकिस्तानका साहिबजादा फरहान ट्वान्टी–२० विश्वकपमा दुई शतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनले फखर जमानसँग मिलेर टस हारेर ब्याटिङमा आएको पाकिस्तानलाई २१२–८ को स्कोरमा उभ्याए । ट्वान्टी–२० विश्वकपमा पाकिस्तानको यो उच्च स्कोर पनि हो । २०१६ को विश्वकपमा कोलकातामा यसअघि बंगलादेशविरुद्ध २०१–५ को स्कोर बनाएको थियो ।
उनीहरूले पहिलो विकेटमा १ सय ७६ रनको साझेदारी गरे । जमान १६ औं ओभरको पाँचौं बलमा आउट भएपछि यो साझेदारी टुट्यो । जमानले ४२ बलमा ८४ रन बनाए । उनले ९ चौका र ४ छक्का प्रहार गरे । फरहानले ६० बलमै १ सय रन बनाए । उनले ५ छक्का र ९ चौका प्रहार गरेका थिए । ५९ बलमा शतक पूरा गरेका उनी अन्तिम ओभरमा दिलशान मादुशंकाको बलमा आउट भए । मादुशंकाले ३३ रन खर्चेर ३ विकेट लिए ।
फरहानले यस विश्वकपमा ३ सय ८३ रन बनाइसकेका छन् । उनले एकै विश्वकपमा सर्वाधिक रन बनाउने भारतका विराट कोहलीको कीर्तिमान उछिनिसकेका छन् । कोहलीले २०१४ को विश्वकपमा ३ सय १९ रन बनाएका थिए ।
