ट्वान्टी-२० विश्वकप : न्युजिल्यान्डसँग हारेपछि श्रीलंका बाहिरियो

न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ को सुपर एटको खेलमा बुधबार श्रीलंकालाई ६१ रनले पराजित गरेको हो ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

T20 World Cup: Sri Lanka knocked out after loss to New Zealand

What you should know

काठमाडौँ — न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ को सुपर एटको खेलमा बुधबार श्रीलंकालाई ६१ रनले पराजित गरेको छ । जितका लागि १ सय ६९ रन पछ्याएको श्रीलंकाले ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

सुपर एट ग्रुप २ मा लगातार २ खेल गुमाएपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । उसको २ खेलबाट शून्य अंक छ । न्युजिल्यान्ड भने २ खेलबाट ३ अंकमा रह्यो र दोस्रो स्थानमा उक्लेको छ । इंग्ल्यान्ड ४ अंकमा यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

श्रीलंकाको सुरुआत राम्रो सकेन र इनिङ्सको पहिलो बलमै लयमा रहेका पथुम निसान्का म्याट हेनरीको बलमा बोल्ड भए । त्यसपछि श्रीलंकाले माथिल्लो ब्याटिङ क्रमले गतिलो योगदान दिन सकेन र टिमले ४६ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो । लगतै त्यो स्थिति ७७ रन बनाउँदासम्म ७ विकेट गुमाएको स्थिति बन्यो । कामिन्दु मेन्डिसले सबैभन्दा बढी ३१ रन बनाए । त्यसका उनले २३ बलको सामना गरे र ४ चौका प्रहार गरे ।

यस्तै, अन्त्यतिर दुनिथ वेलालागेले २९ रन बनाए । न्युजिल्यान्डका बलरमधये रचिन रवीन्द्रले २७ रनमा ४ विकेट लिए । त्यस अगाडि न्युजिल्यान्डले संक्षिप्त पतनको स्थितिबाट मुक्त हुँदै पहिले ब्याटिङ गरेर ७ विकेटमा १ सय ६८ रन बनाएको थियो । न्युजिल्यान्डको इनिङ्सले १३ ओभर छुँदा टिम ६ विकेट गुमाएर ८४ रनको कमजोर स्थितिमा थियो ।

त्यसयता सातौं विकेटका लागि कोल म्याककोन्ची र मिचेल सान्टनेरले ४७ बलमा ८४ रनको साझेदारी गरे । कप्तान पनि रहेका सान्टनेरले २६ बलमा ४७ रन बनाए । उनले २ चौका र ४ छक्का प्रहार गरे । म्याककोन्चीले भने २३ बलमा ३१ रन बनाए र नटआउट पनि रहे । श्रीलंकाली बलरमध्ये महेश थिक्सनाले ३० रनमा ३ विकेट लिए । यस्तै, पेस बलर दुसमन्था चमिराले पनि ३८ रनमा ३ विकेट हात पारे ।

ट्वान्टी-२० विश्वकप

कान्तिपुर

Link copied successfully